शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

४८ लाख बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप ?

बुधबार, १० कात्तिक २०७८, १९ : २०
बुधबार, १० कात्तिक २०७८

सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् ।  १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित गरेको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मिर्गौला लगायतका दीर्घरोगीले खोप पाउने छन् । गत सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । 

सो खोप करिब ४५/४६ हजार दीर्घरोगी बालबालिकाले पाउने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहाल बताउँछन् । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ४६ हजार हजार दीर्घरोगी रहेको अनुमान गरिएको छ । यस्तै, खोप लगाउन छुटेका दीर्घरोगीले समेत फाइजरको खोप पाउनेछन् । ​दीर्घरोगीले फाइजर खोप कार्तिक २८ गतदेखि देशभरका २४ अस्पताल र काठमाडौँ उपत्यकाका ९ अस्पतालबाट खोप लगाइने छ ।

खोप शाखाका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । जसमा करिब ४६ हजार दीर्घरोगी बालबालिकाले कोरोना विरुद्धको खोप लगाइने निश्चित भएपनि ४८ लाख ५४ हजारले कहिले खोप पाउने बारे टुङ्गो छैन । 

सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोपको प्राथमिकतामा पारेको छ । थप १२ वर्षदेखि १८ वर्ष सम्मका ४९ लाख गरी २ करोड ६५ लाख जनसङ्ख्यालाई खोप दिने सरकारको लक्ष्य छ । बालबालिकाका लागि चाहिने फाइजर र मोर्डना खोप प्राप्तिका प्रशासनिक प्रक्रिया पुरा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय गरे पनि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय भने गरेको छैन ।

अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले फाइजर खोप लगाउन पाउने

अमेरिकामा विज्ञहरूले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सिफारिस गरेका छन् । अमेरिकी सरकारको एक समितिले फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस गरेको छ । यस्तै यस निर्णयलाई अमेरिकी नियामक संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले समर्थन गरेको छ ।

एफडीए र सीडीसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र)ले अनुमति दिएपछि मात्रै यो निर्णय लागू हुनेछ ।  

फाइजर खोप अमेरिकी फाइजर बायोएनटेक कम्पनीले उत्पादन गरेको हो । पुनः  ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप निकै प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । लक्षणसहितको कोरोना सङ्क्रमण रोक्न अर्थात् नियन्त्रणका लागि ९१ प्रतिशत काम गरेको अध्ययनले देखाएको छ ।  

यस निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिकाले खोप लगाउन पाउने छन् । यसअघि नै खोप युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको थियो ।

नेपाल कति लगाए खोप ?

कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये कोरोनाभाइरस विरुद्धको खोप ८६ लाख ४९ हजार २ सय ५१ जनाले  पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, पूर्ण मात्रा ६७ लाख ७० हजार १ सय ५४ ले भने पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 पहिलो र पूर्ण मात्रा गरी एक करोड ५४ लाख १९ हजार ४ सय ५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् कुल जनसङ्ख्याको २८.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने २२.३ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन् ।

सरकारले कुल जनसङ्ख्याको लक्षित समूह ७२ प्रतिशत अर्थात्     एक करोड ९९ लाख २२ हजार १ सय ६४ जना खोप दिने तय गरेको छ । जसमा ४३.४ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । यस्तै, दुवै मात्रा ३४.० प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप