शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

७ लाख कार्यकर्ताबाट एमालेले कसरी छान्छ १९९९ महाधिवेशन प्रतिनिधि ?

सोमबार, १५ कात्तिक २०७८, १६ : ३८
सोमबार, १५ कात्तिक २०७८

दसौँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा रहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मङ्सिर १० देखि १२ राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित १५ पदाधिकारीका साथै २२५ केन्द्रीय सदस्य चयन गर्नेछ ।

देशभर ७ लाख २८ हजार सक्रिय सदस्य रहेको एमालेले  दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि तीन प्रकारबाट छान्ने छ । जसमा पदेन, निर्वाचित र मनोनीत गरी तीन प्रकारबाट छानिएका प्रतिनिधिले मात्रै महाधिवेशनमा मतदान गर्न पाउने एमाले दसौँ राष्ट्रिय महाधिवेशन मल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जनकारी दिए ।

पार्टीको भूगोल कमिटीबाट १ हजार १ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउनेछन् भने पदेन प्रतिनिधि २६२ र यसको ५ प्रतिशत मनोनीत हुनेछन् । केन्द्रीय कार्यालय र विभागसहित ३, पार्टीका जनसंगठनहरूबाट ५–५, समग्र प्रवास कमिटीबाट २०, प्रत्येक प्रदेश कमिटीबाट मजदुर प्रतिनिधि १ र प्रत्येक जिल्लाबाट १ दलित प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिमा को को ?

पदेन प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू तथा केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू रहनेछन् ।    

कसरी निर्वाचित हुन्छन् प्रतिनिधि ?

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहने र आयोजक समेत हुने हुँदा सल्लाहकार परिषद्का अन्य पदाधिकारी सदस्यहरू मध्येबाट १५ जना महाधिवेशन प्रतिनिधि बन्ने छन् । सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भए पनि उनीहरूलाई मताधिकार भने नहुने भएको छ ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा २ महिलासहित ५ जना दरले महाधिवेशन निर्वाचित हुनेछन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन क्षेत्रमा १२ सय भन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ ।

यस्तै देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् भने जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित सदस्यबाट १ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् यो सङ्ख्यामा थप ५०० सम्म सदस्य भए १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाइ हुने गरी १/१ जनाको दरले प्रतिनिधि निर्वाचित हुनेछन् ।

भूगोलका प्रदेश अन्तर्गतका मजदुर पार्टी सदस्य मध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले महाधिवेशन निर्वाचित निर्वाचित हुनेछन् । भारत, अमेरिका युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिला सहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको एमालेले जनाएको छ ।

मूल व्यवस्थापन समितिका सदस्य तामाङले महाधिवेशन प्रतिनिधि छान्न पार्टी केन्द्रीय कमिटीले तय गरेको मापदण्ड लागु हुने बताए । ‘त्यो मापदण्ड भनेको हरेक एक निर्वाचन क्षेत्रका १२ सय पार्टी सदस्य बराबर ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने हो’ तामाङले भने, ‘कात्तिक २७ गते सम्बन्धित जिल्लाले सबै पार्टी सदस्यहरूलाई एकै ठाउँ वा अलग अलग भेला गराएर निर्वाचन गराउन सक्छन् । त्यसका लागि प्रत्येक संघीय निर्वाचन क्षेत्रको अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिन्छ ।

१६५ निर्वाचन क्षेत्र भएका कारण त्यसको दोब्बर सङ्ख्यामा मतदान केन्द्र बनाइन्छ ।’ त्यसरी हुने मतदानमा महाधिवेशन प्रतिनिधि हुन चाहनेहरूले उम्मेदवारी दिन पाउनेछन् । ‘भेलामा संगठित सदस्यहरू मतदाता हुन पाउँछन् । त्यस क्रममा आकाङ्क्षीहरूबीच सर्वसम्मतको प्रयास पनि हुन्छ । यदि सर्वसम्मत हुन नसके मतदानमार्फत नै प्रतिनिधि छानिन्छन्’, महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रियाबारे तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कार्यालय सचिव समेत रहेका तामाङले पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गत निर्वाचित हुनेहरू कम्तीमा २ महिला सहित ५ जना प्रतिनिधि हुनेछन् । त्यस्तै जनवर्गीय संगठनहरुबाट २ महिलासहित ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । यसरी सबैतिरबाट छानिएको महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत सङ्ख्यामा पार्टी केन्द्रीय कमिटीले मनोनीत गर्नेछ ।

घटे महाधिवेशन प्रतिनिधि

नेकपा एमालेले २०७१ सालमा नवौँ महाधिवेशन गर्दा २३ सय महाधिवेशन प्रतिनिधिमार्फत नेतृत्व छानेको थियो । तर सात वर्ष पछि हुने दशौँ महाधिवेशनमा भने एमालेले विगतको तुलनामा महाधिवेशन प्रतिनिधि घटाएको छ । यो पटक विगतको महाधिवेशनभन्दा झण्डै साढे तीन सय महाधिवेशन प्रतिनिधि घटाएको एमालेले व्यवस्थापन गर्न सहज होस भनेर यस्तो व्यवस्था गरेको जनाएको छ ।

एकैसाथ प्रतिनिधि निर्वाचन

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि २०७८ कार्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गर्नेछ । एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने चुनिने अधिकार प्रयोग गर्न पाउनेछन् । यसरी निर्वाचित प्रतिनिधिको केन्द्रीय संगठन विभागले कात्तिक ३० भित्र प्रमाणित गरेर दर्ता गर्नेछ ।

पदाधिकारी र इन्चार्जलाई जिम्मेवारी

महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि एमालेले केन्द्रीय सल्लाहकार परिषद्, प्रदेश वा सो सरहका कमिटी र जिल्ला वा सो सरहका कमिटीका पदाधिकारी र जनसंगठनका इञ्चार्ज तथा केन्द्रीय कार्यालय सचिवलाई आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतको प्रतिनिधि निर्वाचन सम्बन्धी कामको व्यवस्थापन र संयोजन गर्ने जिम्मेवारी दिएको छ । ती कमिटी, निकाय वा कार्यालयका इञ्चार्ज वा अध्यक्ष वा प्रमुखले निर्वाचित प्रतिनिधि प्रमाणित गर्नेछन् भने केन्द्रीय संगठन विभागले समन्वय र सहजीकरण गर्नेछन्  ।

एमालेले प्रतिनिधि दर्ता शुल्क पदेन प्रतिनिधिहरूका लागि ३ हजार र निर्वाचित वा मनोनीत प्रतिनिधिका लागि २ हजार कायम गरेको छ ।

५ लाख उतार्ने तयारी

एमालेले महाधिवेशन उद्घाटनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने बताएको छ । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार नेता कार्यकर्ता सहभागी हुने बताए । ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ’, पाण्डेले भने, ‘यसपालिको महाधिवेशन सहमतिमा हुनेछ । र केही पदमा मात्रै चुनाव हुनसक्छ ।’ महाधिवेशन स्थलको अवलोकनका लागि सोमबार अध्यक्ष केपी ओलीले चितवन पुगेका छन् ।

लोकतन्त्र सङ्कुचित भएको टिप्पणी

विधान संशोधन गरेर अध्यक्षलाई शक्तिशाली बनाउनेदेखि विभिन्न तहका अधिवेशन र राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड निर्धारण गरेको एमालेले सहमतिका नाममा आन्तरिक जनवादलाई सङ्कुचित पार्दै ‘एण्टी डेमोक्रेसी’ चिन्तनलाई बढावा दिएको टिप्पणी हुन थालेको छ ।

​२०७१ सालमा नवौँ महाधिवेशन गर्दा २३ सय महाधिवेशन प्रतिनिधिमार्फत नेतृत्व छानेको एमालेले सात वर्ष पछि हुने दसौँ महाधिवेशनमा भने झण्डै चार सय प्रतिनिधि घटाएर १९९९ सयमा सीमित गरेपछि यस्तो टिप्पणी हुन थालेको हो । देशभर ७ लाख २८ हजार सक्रिय सदस्य रहेको एमालेमा अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सदस्य र कार्यकर्ता समेत बढेको दाबी गर्दै आएको छ ।

पार्टी सदस्य सङ्ख्या बढाए पनि नेतृत्व छनोट गर्ने बेलामा भने पार्टी सदस्यकै अधिकारमा लगाम लगाउने गरी खुम्च्याइएको कतिपयको गुनासो छ । त्यति मात्रै होइन, गत असोज दोस्रो साता सम्पन्न विधान महाधिवेशनमा छ हजार बढी महाधिवेशन प्रतिनिधि छनोट गरेको एमालेले नेतृत्व छनोट गर्ने महाधिवेशनमा भने किन प्रतिनिधि सङ्ख्या घटायो भनेर प्रश्न गर्दा ठोस जवाफ दिन सकेको छैन ।

पुराना एमाले नेता राधाकृष्ण मैनाली एमालेले अधिवेशन र महाधिवेशनको सिलसिलामा अपनाएको विधि र मापदण्डले एमालेभित्रको आन्तरिक जनवादको घाँटी निमोठ्ने काम गरेको बताए ।

‘पार्टी महाधिवेशन ६ हजारको बनाएर विधान महाधिवेशन १९९९ बनाएको भए कसैले आलोचना गर्ने ठाउँ हुँदैन थियो । तर अहिले सहमतिका नाममा गरिएको यो प्रयासले नेकपा एमालेभित्रको आन्तरिक जनवादलाई घाँटी निमोठ्ने काम भएको छ’, मैनालीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप