आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा फूल व्यवसायीलाई भ्याइनभ्याई : तिहारमा करिब साढे २ करोडको कारोबार

बिहीबार, १८ कात्तिक २०७८, १६ : ४८
बिहीबार, १८ कात्तिक २०७८

गोरखाको आरुघाट गाउँपालिका घर भइहाल पोखरा–१७, पार्दी बिरौटा पावर हाउस बस्दै आएका ‘सिजनल मनकामना नर्सरी’ का दिलबहादुर गुरुङ तिहार भित्रिएसँगै फूलको कारोबारमा ब्यस्त छन् । तिहारको रौनक बढेपछि तयारी भइसकेका फूलहरु टिप्ने, माला उन्ने र बजारमा पठाउने लगायतका काममा गुरुङसँगै उनको परिवारलाई नै भ्याईनभ्याई छ ।

विगत एक दशकदेखि पुष्प व्यवसायमा रमाएका गुरुङ यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । तिहारको रौनक बढेपछि उनको बगैँचामा फूल किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । फूलको खेती व्यवसाय बाह्रैमहिना चल्ने भएपनि तिहारको बेला बिशेष गरी मखमली र सयपत्री फूलको माग उच्च हुने ब्यवसायी गुरुङ बताउँछन् । 

उनले जग्गा भाडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूल लगाएको बताए । ‘तिहारका लागि मखमली र सयपत्री फूल लगाएको थिए, एक सातादेखि फूल टिप्ने र बजारमा पठाउने काममा ब्यस्त छु,’उनले भने । ‘तिहार नजिकिएपछि नर्सरीमै फूल किन्न आउने ग्राहकको चाप पनि बढिरहेको छ, बजारमा पनि माग आइरहेको छ, दुई सातादेखि फूलको स्याहारसुसार सँगै माला उन्ने र ग्राहकको सेवा गर्ने काम भइरहेको छ ।’ 

गुरुङले तिहारको आगमनसँगै फूलको माग बढेको देख्दा निकै खुसी लागेको बताए । कोरोनाका कारण दुइ बर्षसम्म ठप्प भएको ब्यवसाय तिहारको आगमनसँगै चलायमान भएकोमा समग्र पुष्प ब्यवसायी हर्षित भएको उनले बताए । ‘लामो समयसम्म ठप्प भएको व्यवसाय तिहार आएसँगै फूलको माग उच्च भएकाले व्यवसायीमा खुशी छाएको छ,’ उनले भने, ‘कोरोना संक्रमणका कारण दुई वर्षदेखि व्यवसायी ठुलो मारमा थिए, तिहारको आगमनसँगै पूmलको माग बृद्धि भएपछि पुष्प व्यवसायीले केही राहतको महसुस गरेका छन् ।’

पोखराको बाँझापाटनमा फूलखेती गदै आएकी शोभा थापाले तिहार नजिकिएपछि फूल र मालाको माग बढेको बताइन् । शुक्रबारदेखि फूल किन्नका लागि ग्राहक आउन थालेको उनले बताइन् । ‘तिहार नजिकिएपछि नर्सरीमै आएर ग्राहकले फूल खरिद गर्न थालेका छन्,’ उनले भनिन् । ‘अब, त तिहारले छोपिसकेकाले पूmल लिन आउने ग्राहक अत्याधिक छन, अधिकाँसले फूलका गुच्छा लग्ने गरेका छन्, केहीले माला उनेर लग्न अर्डर गर्ने गर्दछन् ।’

ब्यवसायी थापाले दुइ वर्ष कोरोना संक्रमणले व्यवसाय ठप्प भएको बताउँदै यस वर्ष भने व्यवसायबाट राम्रो आम्दानी हुने बताइन् । बाँझापाटनमा ३ रोपनी जग्गा भाडामा लिएर डेढ लाखको लागतमा ब्यवसाय गर्दै आएको उनले बताइन् । अहिले उनको नर्सरीमा विभिन्न प्रजातिका १२ सय फूलका बोट रहेका छन् ।

व्यवसायी थापाले पछिल्लो समय भएको वर्षाका कारण केही फूलमा बल्ल कोपिला लागेको भएपनि झण्डै ९० प्रतिशत फूल राम्रोसँग फक्रिएको बताइन् । ‘फूल फक्रिने बेला बर्षा भएकाले चिन्ता बढाएपनि अधिकांश फूल राम्रोसँग फक्रिएको छ, दुःख अनुसारको उत्पादन भएकालेले हामी खुशी छौं,’ उनले भनिन्, ‘बजारमा फूलको माग र मूल्य राम्रो छ ।’ 

थापाका अनुसार बजारमा फूल प्रतिकिलो ४५० देखि ६ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसैगरी  मालाको एकसय पचासदेखि दुई सय रुपैयाँसम्म बिक्री हुन्छ ।  पुष्प व्यवसायी संघका पूर्वअध्यक्ष दयाकुमार द्वाले पोखरा क्षेत्रमा यस बर्ष साढे २ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने बताए । तिहार पर्वको अवसरमा पोखरा र आसपासका क्षेत्रमा सयपत्री, मखमली र गोदावरी फूलको बिक्रि भईरहेको उनले बताए । 

उनका अनुसार फूलै फूलको पर्वका रुपमा चिनिने तिहार पर्वमा पोखरा क्षेत्रमा करिव ८० प्रतिशत फूल स्थानीय रुपमा उत्पादित फूल नै खपत हुने गरेको छ । बाँकी २० प्रतिशत भारतीय फूलले बजार लिने गरेको छ ।‘पछिल्लो समय व्यवसायिक रुपमा फूल खेती गरिँदै आएपनि यहाँको उत्पादनले पुग्न सकेको छैन,’ उनले भने, ‘भारतबाट समेत पोखरामा फूल भित्रिने गरेको छ ।’ पोखरामा चितवन, स्याङजा, नवलपरासी लगायत क्षेत्रबाट समेत फूल आउने गरेको छ । 

भारतीय फूल सस्तो हुने हुदा सजावटको लागि प्रयोग गरिन्छ । भारतीय फूलको माला करिब ७० देखि ९० रुपैयाँ पर्ने गरेको छ । पोखरामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया प्रजातिको फूलको खेती हुने गरेको छ । मेरिगोल्ड प्रजाति एकपटक मात्र फुल्ने भएका कारण यसको उत्पादन तिहारलाई लक्षित गरेर गर्ने गरिएको छ । त्यसैगरी कलकत्तिया प्रजातिको फूल भने करिब ८ महिनासम्म उत्पादन हुने गरेको छ ।

लामो समयसम्म फुलिरहने भएका कारण कलकत्तिया प्रजातिको फूल तिहारको अलावा विभिन्न संघ–संस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्ध लगायतका शुभ कार्यमा प्रयोग हुने गरेको व्यवसायीको भनाई छ ।
पोखरा क्षेत्रमा व्यवसायिक फूल खेतीमा आबद्ध तीन दर्जनभन्दा बढी नर्सरी व्यवसायीहरुले फूलको उत्पादन र बिक्री गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप