आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मणिपाल अस्पताल किन्ने भन्दै भारतीय नागरिकबाट डाक्टर ठगिए

भीआईपीलाई गरेको ‘म्यासेज’ देखाएर ठगी धन्दा
शुक्रबार, ०३ मङ्सिर २०७८, २० : २१
शुक्रबार, ०३ मङ्सिर २०७८

पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने बहाना बनाएर भारतिय मुलका मलेसियन नागरिक शिवम् भिरुमथुले नेपाली चिकित्सकलाई ठगेका छन् । काठमाडौंस्थित एक अस्पतालमा कार्यरत डाक्टरलाई भिरुमथुले ३० लाख ठगेका हुन् ।

पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुबीच चिनजान भएको थियो । ठीक त्यहीबेला मणिपाल समूहले अस्पताल बेच्न लागेको चर्चा थियो । १० वर्षअघिदेखि नेपाल र मलेसिया ओहोर–दोहोर गर्ने भिरुमथु अहिले ढुक्कसँग नेपालमै बस्न थालेका छन् ।

मणिपालमा डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफूले लगानी गर्ने भनेर भिरुमथुले कुरा अघि बढाए । पोखरा र जनकपुरमा मणिपालको नाममा जग्गा छ । आफूले जग्गाको काम गरिरहेको भनेर चिकित्सकसँग परिचय गरेका भिरुमथुले थाइल्याण्डको कम्पनी मिलिनियम क्यापिटल मेनेजमेन्ट मार्फत मणिपाल खरिद गर्ने कुरा सुनाए ।

अस्पताल खरिद गर्नका लागी भनेर डाक्टरलाई नेपालको आधिकारीक प्रतिनिधिमा नियुक्त गरेका पत्रसमेत दिए । तर, सो पत्र नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । अनि, भिरुमथुले डाक्टरलाई भने–‘मणिपाल समूहलाई तत्काल ८० लाख दिनुपर्ने भयो, तपाई ३० लाख निकाल्नुस् ।’

डाक्टरले ३० लाख नगद दिए । विश्वास जित्न भिरुमथुले डाक्टरलाई सुदर्शन रिसालको ५० लाखको चेक दिए । ३० लाख लिएपछि भिरुमथुले ती डाक्टरको फोन उठाउन छाडे । अनि, चिकित्सकले पशुपतीका पुजारीलाई गएर भने, ‘गुरु, भिरुमथुबारे मलाई शंका लागेको छ, पैसा लगेर ५० लाखको चेक दिएको छ तर, फोन उठाउन छाडेको छ ।’ पुजारीले चेक हेरेपछि भने, ‘सुदर्शन रिसाल त यहाँ पानी हाल्ने मान्छे हो !’

त्यसपछि डाक्टर र पुजारी दुवै छक्क परे । महानगरीय अपराध महाशाखाले कार्तिक २३ मा भिरुमथुलाई पक्राउ गरेको छ । पशुपतिमा पानी चढाउने सुदर्शनबाट पनि भिरुमथुले ४ लाख ठगेको अनुसन्धानबाट थाहा भएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

रिसाललाई एनएमबी बैंकको शेयर दिन्छु भनेर उनले चेकबुक लिएको र सो चेकमा रकम भरेर डाक्टरलाई दिएको अनुसन्धानबाट थाहा भएको छ । रिसाललाई सपना देखाएर उनले चेकबुक लिएर राखेका रहेछन् ।

मैनाली थरका एकजना निर्माण व्यवसायीलाई पनि रिसालको ३५ लाखको चेक काटेर दिएको अनुसन्धानबाट थाहा भएको छ । मैनालीसँग ‘सपनाको व्यापार’ देखाएर उनले २ करोड लिएका छन् । तर, मैनालीलाई आफु ठगीएको महसुस हुन दिएका थिएनन् । एनएमबी बैंकमा योङ्ग लियान कम्पनीको ५० लाख कित्ता सेयर छ । भिरुमथुले सो कम्पनी आफ्नो भएको दाबी गरेका थिए ।

मणिपाल अस्पताल २०७८ भदौमा किनबेच भैसकेको छ । सो अस्पतालमा किन्ने चक्करमा लागेका चिकित्सक अहिले भिरुमथुसँग ठगी मुद्दा लडिरहेका छन् । काठमाडौंमा नाम चलेको अस्पतालमा कार्यरत ति डाक्टरको नाम गोप्य राखिएको छ ।

ठग्ने अस्त्र– भीआईपीसँगको म्यासेज

काठमाडौंमा पछिल्लो सयम देखापरेका ठगहरुमध्ये भिरुमथु ‘नटवरलाल’ हुन् । ‘आईसीआरसीको नेपालको निर्देशक हुँ’ भनेर प्रधानमन्त्री र गृह–सचिवलाई म्यासेज गर्थे । कोभिड–१९ संक्रमण शुरु भएसँगै सरकारले गरेको लकडाउनका बेलामा भिरुमथुले प्रमुख जिल्ला अधिकारीहरुलाई आईसिआरसीको ‘विपद् व्यवस्थापन निर्देशक’को परिचय दिएर फाइदा लिए ।  

सो आवरणमा उनि प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूलाई म्यासेज गर्थे । भिआइपी मध्ये केहीले परिचय हेरेर म्यासेज फिर्ता पनि गरेका थिए । सो म्यासेज उनि अरुलाई देखाउँथे र आफु ‘पहुँचवाल’ भएको भ्रम छर्थे । भिआईपीले फिर्ता गरेको म्यासेज उनका लागि ठगेर खाने ‘भाँडो’ बनेको थियो ।

थाइल्याण्डको कम्पनी मिलिनियम क्यापिटल म्यानेजमेन्टमा आफ्नो नाममा करोडौं ब्यालेन्स भएको सर्टिफिकेट देखाउँथे । मलेसियन कम्पनी योङ्ग लियान ग्रुप अफ कम्पनीजको सिईओ र डाइरेक्टरको भिजिटिङ कार्ड दिने भिरुमथुले आफुलाई मलेशियाको पिपुल जस्टिस पार्टीको ‘अध्यक्ष हुँ’ भन्ने गरेका थिए ।

भारतिय बैंक एक्सिस र आईसिआसीआईले उनको नामका काटेको चेक देखाएर पनि उनले ‘पैसावाल’हरुलाई आफ्नो प्रभावमा पार्ने गरेका थिए । बैंकले दिएको चेक र ‘ब्यालेन्स सर्टिफिकेट’ बारे अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । ठुला ठेकेदार र पशुपतिका भट्टलाई सम्पर्क गरेर उनले ती चेक देखाउँथे । पशुपतिनाथका पुजारीसँग पनि उनले ‘सपनाको प्रोजेक्ट’ देखाएर ८ लाख ठगेको अनुसन्धानबाट थाहा भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा उनले श्रीमती र ससुराको नाममा कम्पनी दर्ता गरेका छन् । नेशनल उड इन्डष्ट्रिज, सिएस काष्ठ उद्योग, गोक्यो होटल र सेतीदेवी बिजनेश एण्ड सप्लायर्स नामका कम्पनी कागजमा मात्रै देखिएका छन् । ती कागजी कम्पनीलाई पनि उनले ठगेर खाने ‘भाँडो’का रुपमा प्रयोग गरेका भिरुमथुबारे अनुसन्धान गरिरहेका इन्सपेक्टर बिदुर शिवाकोटीले रातोपाटीलाई बताए । नेपालमा ठगेको पैसा उनले भारतको तमिलनाडुमा बस्ने परिवारलाई पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

शानदार जीवनशैली, ११ वटा उजुरी

बालुवाटारस्थित कलाकार निशा अधिकारीको घर भाडामा लिएर बसेका भिरुमथुको जीवनशैली शानदार थियो । मागेर भए पनि विलासी गाडी चढ्थे, पाँचतारे होटलमा खानपिन गर्थे ।

मलेसियामा नेपालीसँग चिनजान भएपछि उनी नेपाल आउजाउ गर्न थालेका थिए । १० वर्षअघि उनी नेपालबाट मलेसियामा महिला कामदार पठाउँथे । मलेसियामा जाँदा ती महिला कामदारलाई आर्थिक र शारीरिक शोषण गर्ने गरेको पीडितहरूको आरोप छ । कमला अधिकारीसँग पहिलो विवाह गरेका भिरुमथुले नेपालमा आस्मा केसीसँग दोस्रो विवाह गरेका छन् ।

भिरुमथुले त्रिविका पूर्व प्राध्यापकलाई पनि ठगेको थाहा भएको छ । उनीविरुद्ध ११ वटा उजुरी दर्ता भएको अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले रातोपाटीलाई बताए । २०७२ मा वैदेशिक रोजगार मुद्दामा उनी २ वर्ष डिल्लीबजार कारागारमा बसेर छुटेका थिए । अदालतले उनलाई ३ लाख ५० हजार जरिवाना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप