शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘थुप्रिएको लगानी बाहिरिँदा सेयरबजार खुम्चियो, आरोप–प्रत्यारोपको अर्थ छैन’

बुधबार, २९ मङ्सिर २०७८, १२ : २४
बुधबार, २९ मङ्सिर २०७८

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०७६ साल चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । उक्त लकडाउनपछि नेपालको पूँजीबजारमा धेरै परिवर्तन आयो । लकडाउनअघि सक्रिय लगानीकर्ता सङ्ख्या ३÷४ लाख थियो भने सबै लगानीकर्ताको सङ्ख्या १२ लाख हाराहारी थियो । जुन, लकडाउनपछि समयमा निरन्तर बढेर ४०÷५० लाख पुगिसक्यो ।

लकडाउनअघि र पछिको सेयर बजारको स्थिति पूर्ण फरक छ । लकडाउन अघि सेयर बजारमा भौतिक कारोबार नै हुन्थ्यो । अहिले सेयर बजारको ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुन्छ । लकडाउनको समयमा लगानीकर्ता घरमै बस्न बाध्य भएपछि प्रविधि भित्र्याउनैपर्ने अवस्था आयो । सेयर बजार प्रविधिमैत्री बन्दै अनलाइनमार्फत कारोबार गर्न सकिने भयो ।

यी त भए प्रविधिको फड्को र लगानीकर्ताको सङ्ख्या बढेको विषय । लकडाउन भएपछि देशको अर्थतन्त्र ठप्प भयो । उत्पादनमूलक, ऊर्जामूलक, व्यापार र रियल स्टेट सबै क्षेत्र बन्द हुँदा रिटेल क्षेत्रमा समेत प्रभाव पर्‍यो । सबै क्षेत्र बन्द भइरहेको समयमा घरमै बसेर डिम्याट खाता खोलेर अनलाइनबाटै कारोबार गर्न मिल्ने भएपछि सबैले सेयर बजारमा पैसा खन्याए । लाखौँ मानिसले लकडाउनको समयमा पुँजी चलायमान बनाउन सेयर बजारमा लगानी गरेपछि बजारमा सेयरको माग ह्वात्तै बढ्यो । 

सेयरको माग बढेपछि सेयर मूल्य स्वाभाविक रूपमा उकालो लाग्न थाल्यो । धेरै कम्पनीको सेयर मूल्य स्वतः बढ्यो भने केही कम्पनीको सेयर मूल्य बढाउन चलखेल समेत भयो । यस्तै, केही कम्पनीको सेयर मूल्य जबरजस्ती माथि उचालियो । भ्यालु नै नभएका कम्पनीको सेयर मूल्य समेत बढेर धेरै माथि पुगेको उदाहरण छन् । यो स्थिति आउनुमा लकडाउनका बेला सबैजना बेरोजगार हुनु र लगानीयोग्य रकम लगानी गर्ने ठाउँ नहुनु नै हो । यस्तै, खर्च गर्न योग्य रकमसमेत खर्च गर्ने ठाउँ भएन । ​

​त्यो सबै रकम सेयर बजार पसेपछि बजारले दिनदिनै नयाँ नयाँ कीर्तिमान कायम गर्दै जान थाल्यो । यसपछि बिस्तारै नियामक निकायले आफ्नो भूमिका बढाउँदै लग्न थाले । लकडाउनको समयमा विभिन्न तत्त्वले बजारलाई माथि लैजान भूमिका पनि खेल्यो । तर, कोभिड महामारीको असर कम हुँदै गएपछि लकडाउन खुकुलो हुन थाल्यो र त्यसअघि बन्द रहेका अन्य क्षेत्र चलायमान बन्दै जान थाले । अर्थतन्त्र चलायमान हुन थालेसँगै बजारमा निरन्तर पैसा अभाव हुन थाल्यो । बैंकमा लगानीयोग्य रकम अभाव देखिन थाल्यो ।

फलस्वरुपः लकडाउनको समयमा राष्ट्र बैंकले नीति नै परिवर्तन गरेर बढाएको ऋणीहरूको साँवा÷ब्याज तिर्ने समय सकिने समय आइसकेको छ । पटक–पटक बढाइएको साँवा÷ब्याज तिर्ने समय अब राष्ट्र बैंकले बढाउन छाडेको छ । जसले ऋणीहरू ऋण तिर्ने चापमा पर्न थाले भने बजारमा लगानीयोग्य रकम अभाव हुन थाल्यो । त्यसैले, लगानीकर्ताले आफूले लिएको ऋणको साँवा÷ब्याज बुझाउनकै लागी सेयरमा गरेको लगानी बिस्तारै झिक्न थाले र नयाँ किन्नेको सङ्ख्या घट्दै गयो । यसले बजारमा ‘सेल प्रेसर’को स्थिति सृजना गर्‍यो ।

सेयर बजारको स्वभाव नै तलमाथि गर्नु हो । बजार कहिले माथि त कहिले तल हुन्छ नै ! यसका साथै, राष्ट्र बैंकले बनाउने हरेक नीतिमा सेयर बजारलाई केन्द्रमा राख्दैन पनि । यो संसारभरकै नियम हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गरेको व्यवस्थाले पनि नीति बनाउँदा सेयर बजार केन्द्रमा बस्दैन भन्ने पुष्टि भइसकेको छ ।

यो स्थितिमा लगानीकर्ता आत्तिनु हुँदैन । पहिला पनि बजार १८८१ अङ्कबाट घटेर ११०० अङ्कमा पुगेको थियो । यसपछि पनि धेरैपटक सेयर बजारमा उतारचढाव आएको थियो । अहिले सेयर बजारको अस्थिरतामा कसैलाई पनि दोष दिनुपर्ने कारण छैन । लकडाउनको समयमा माग धेरै बढेको थियो । अहिले बेच्न चाहनेहरू बढेका छन् । यो स्थिति केही समय अझै पर्न सक्छ । 

(भट्टराई वित्त विश्लेषक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनलराज भट्टराई
अनलराज भट्टराई
लेखकबाट थप