सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

थरुहट प्रदेशमा अन्तिम सास फेर्ने सपना

बिहीबार, ०८ पुस २०७८, ०९ : ४६
बिहीबार, ०८ पुस २०७८

आरिस अत्यधिक भयो भने जेलमा म लेख्न बस्छु । लेखन भने मुडमा भर पर्छ । कहिले कविता, गजल, कहिले लेख, निवन्धमार्फत आक्रोश पोख्छु । जे जस्तो भएपनि सुख, दुःख पचाउने क्षमताको विकास भएको छ यहाँ । जेलको आँगनबाट आँखाले आकाश नियाल्दा उडिरहेका काग, चील, हवाइजहाज प्रत्यक्ष देखिने दृष्य हुन् । यहाँ आमा मर्दा पनि सम्झी रुनुको विकल्प हुन्न । किनभने जेलमा रहेकाले मुखाग्नी दिन पाइने हामीकहाँ कानुनी व्यवस्था छैन । 

मैले घर छाडेको ७ बर्ष भयो । टीकापुर घटनामा जलाइएका घर, होटल, एफएम, गाडी, सरसमान जलेको खरानी हेर्ने इच्छा कहिले पूरा होला कुन्नि ? जलेर खरानी पारिएका ती सामग्री अस्तु सम्झेर कर्णालीमा सेलाउने मन छ । धन जलेर त खरानी भयो, तर मन जलिरहन्छ । ईश्वरले मन भन्ने चिजको सिर्जना गजबले गरेका रहेछन् । जलिरहे पनि सोच्न सकिने, देख्न सकिने, भोग्न सकिने । भौतिक चोट नलाग्ने तर अन्तरआत्मामा यसरी लाग्ने कि जस्तो अजंगको शरीरलाई पनि निर्देशित गर्न सक्ने । चोटिल मनमा घोचिरहे पछि  कहिलेकाँही कलम चल्छ, विवशताको भुमरीमा अक्षर ओकल्छु–

बजारमा बिकिरहने अनमोल खजाना भइयो
रसपान गर्दै रमाउने गाना बजाना भइयो 
कहिले चल्छु भोटमा, कहिले चल्छु नोटमा 
जबर्जस्ती मूर्ति बन्छु, हथौडाको सयौँ चोटमा 
साटी रहन्छन् साहुजीले बनियाको धन भयो 
इच्छाउँदा बदलिरहने महाराजको मन भइयो ।

७ वर्षे कारावासमा खासै सपना बुनिन मैले । सर्वसाधारणझैँ छोरालाई सरकारी स्कुलमा पढाएको छु । जेलमा आउनेहरूले दिएको ढाडसले बाँचेको छु । पार्टीका नेताले भन्दा गाउँघरका बूढाबूढी, बाजे बज्यै, आमा बुवाले पठाएको सन्देशले ऊर्जा दिन्छ मलाई । दाङकी खुनी थरुनीले बधिया भाले र ५ सयको नोट दिएर आफ्नो छोरा सन्तोषमार्फत् सन्देश पठाएकी थिइन् मलाई । ‘हिम्मत नहार हो छावा, जिन्गीम रुख्खा, सूर्य, हँसिया हथौडा सक्कुम छाप लगैलि । आब जियटसम टुहिन छाप लगाब । (हिम्मत नहार्नु छोरा, जीवनमा रुख, सूर्य, हँसिया, हथौडा सबैमा छाप लगाइयो । अब बाँचेसम्म तपाईंलाई छाप लगाउँला ।) 

जेलमा आएको बर्ष माघीमा एउटा भेंडा डोर्याउँदै कालुराम भाई आएका थिए । मान्छे आए भैहाल्छ नि, यो भेंडा ल्याउने कष्ट किन गरेको ? अलि असहज मान्दै सोधेको थिएँ । कालुरामको उत्तर थियो, ‘यो मेरो कोसेली हैन दाई, गाउँको भलवा काकाले पठाएको ।’

खुनी काकी, भलवा काका जस्ता कोसेली पठाउने सयौँलाई प्रत्यक्ष चिन्दिन म । कोसेली पठाउने सबै मेरा नातागोता पनि होइनन् । तिनले कोसेली पठाउनुको एउटै कारण हो, ‘म थरुहटको लागि लड्दैछु रे ।’ थरुहट प्रदेशमा अन्तिम सास फेर्ने तिनको सपना छ । 

हो साँच्चिकै म थरुहट समावेशिताकै लडाई लड्दैछु । संविधानको धारा उपधारामा हाम्रा हक अधिकार सुनिश्चित होस् भनेर लड्दैछु । सबैलाई थाहा छ, असोज ३ गते संविधान दिवसको दिनमा राज्यले खुसीयाली साट्दै झिलिमिली बत्ति बाल्छ । हामी थारुहरु बत्ती निभाएर अँध्यारो बनाउँछौँ । सरकारलाई हामी संविधानप्रति पूर्ण सहमत छैनौँ भनेर शान्तिपूर्वक असन्तुष्टि जनाउँछौँ । 

हिंसा हाम्रो पथ हैन । हिजो पनि थिएन, आज पनि छैन । इतिहास आफै भन्छ, कुशल सिकारी नै राजा हुन्छन् । टीकापुर घटनाका सिकारीहरु शासक बने । राज्यले तिनलाई पुरस्कारस्वरुप पगरी गुथायो । तर जनताले चिनेका थिए । तिनलाई दल्ने सिन्दुर गालामा होइन, आफ्नै मलद्वारमा घसेर देखाइदिए । 

परम्परा भन्नु हाम्रो पुरातन संस्कृति हो । पाप र पुण्य यही जीवनमै भोग्नुपर्छ । टीकापुरमा अपराध गर्नेहरूलाई बिस्तारै ईश्वरले दण्ड दिँदैछ । कोहीले भोग्दैछन्, कोही भोग्ने लाइनमै छन् । अपराधको भागीदार मान्छे बन्नैपर्छ । हेर्दै जानुहोला, ती सबै कुनै न कुनै रुपमा दण्डनीय हुन्छन् नै । साँच्चिकै ईश्वर भए हाम्रो आत्माको पुकार जरुर सुन्नेछन् । 

जेल जीवनमा थकाउने गलाउने निकै प्रयत्न भयो । ‘तँ निर्दोष छस् । हाम्रो दैलोमा छिर, हामी तँलाई संरक्षण गर्छौ ।’ निकैले लालच देखाए । कठघराको कष्टकर जीवन सम्झेर मनले भन्थ्यो, ‘निस्किहाल रेशम, मौका यही हो । स्वतन्त्रतामा सबकुछ छ । काल कोठरीमा कालो सपना देखेर हर रात निदाउनुभन्दा आजादीमा उज्यालो सपना देख्दै आकाशमा उडिरहेको हुनेछस् । मानिहाल, मौकाको सदुपयोग गर्न जान्नु नै बुद्धिमता हो ।’

यस्तो सुनौलो अफरलाई म मूर्खले कविताको हरफ लेखेर धित मार्छु । 

बैरीको बन्धनभित्र आफ्नैको घेरो कति खतरनाक ? 

जेलभित्रको पनि जेलमा बसेर 

मैले निर्णय गरेको छु

आफ्नो मुद्दा आफै लड्ने

समस्यासँग आफै भिड्ने

निर्दोषिताको संघर्षमा ७ साल बित्यो 

अझै धेरै संघर्ष बाँकी छ

वार्ता होला, पौठेजोरी होला

शान्तिपूर्ण जनमतको वार्ता

विजय सुनिश्चित छ 

जनता भिडेका बेला 

शासक नहारेको इतिहास कहाँ छ र ? 

हामी अलिकति माग्दैछौँ । आफ्नैसँग माग्दैछौँ । सुनचाँदी, हीरामोतीका पहाड होइन, थोरै पहिचान माग्दैछौँ । नेपाली हौं भनेर परिचय दिनलाई नागरिकता माग्दैछौँ । हामीलाई पनि मिसाउनु पर्यो भन्दै राज्यसँग समावेशी अधिकार माग्दैछौँ । हामीले खोलानाला बेचेनौँ, डाँडाकाँडा बेचेनौँ, सीमा बेचेनौँ । गणतन्त्र लडाईंको बहानामा हिन्दू राज्यको पहिचान बेचेनौँ । 

कति स्वार्थी छौँ हामी । राज्य हाम्रो, राजकाज हाम्रो । शासन प्रशासन हाम्रो । घर हाम्रो, दरबार हाम्रो । घाँटी रेट्ने आफू, कसाईको दर्जा दिने हामीलाई ? दोषी आफ्ना दरबारमा पाल्ने, हामी निर्दोषलाई झ्यालखानामा हाल्ने ? वर्तमान राजनीति देखेर एक हरफ कोरे मैले,

जो जो चोर छन्, ठूलै स्वर छ उनको

समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको

अशान्ति बनाईराखे उनैले राज गर्छन्

उनैले जनता मार्छन्, उनै महाराज बन्छन्

श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन 

दोषीलाई दण्ड देउ तर निर्दोषीलाई थुन्न पाइदैन । 

हालः डिल्लीबजार, कारागार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम चौधरी
रेशम चौधरी
लेखकबाट थप