सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक आन्दोलन

आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै

महासंघका नेताहरूले घाइतेलाई भेटेनन्
सोमबार, २९ वैशाख २०८२, ०६ : ५३
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा वैशाख १४ गते काठमाडौँको नयाँ बानेश्वर सडकखण्ड एकाएक रणमैदान बन्यो । आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि प्रहरीले बल प्रयोग गर्दा एक जना पत्रकारसहित ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भए ।

पानीको फोहोराका कारण प्राईम टिभीकी पत्रकार सबिना कार्कीको दुवै आँखामा गम्भीर चोट लाग्यो । त्यस्तै ६२ शिक्षक तथा कर्मचारी पनि घाइते भए । तीमध्ये केहीलाई गम्भीर चोट लागेको थियो भने अधिकांशचाहिँ सामान्य उपचारपछि घर फर्किए ।

घाइतेमध्ये हाल तीन जना उपचाररत छन् । पत्रकार कार्कीसहित जाजरकोटको जनप्रिया आधारभूत विद्यालयका शिक्षक रेशम सुनार र रानीपोखरीमा रहेको दरबार हाईस्कुलका सहप्रधानाध्यापक पदम बटाला अहिले पनि उपचारकै क्रममा छन् ।

आन्दोलनपछि वैशाख १७ गते शिक्षा मन्त्रालय र शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको थियो । सहमतिको ८ नम्बर बुँदामा नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ।

यद्यपि घाइते शिक्षकहरू आफ्नै खर्चमा उपचार गराउन बाध्य छन् । झडपपछि घाइते भएका सबैलाई विभिन्न अस्पताल लगिएको थियो । त्यतिबेला नेपाल शिक्षक संघ, तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।

त्यसबाहेक घाइते शिक्षकहरूले आफ्नै खर्चमा उपचार गराएको जनाएका छन् । शिक्षक सुनार हाल वीर अस्पतालमा उपचाररत छन् । उनले सरकार तथा नेपाल शिक्षक महासंघबाट कुनै प्रकारको सहयोग नपाएको बताए ।

आफू घाइते भएको विषयमा महासंघका नेताहरूलाई जानकारी भए पनि अहिलेसम्म उनीहरू लामो समय भेट्नसमेत नआएको सुनारको गुनासो छ ।

उपचार गराउन आर्थिक अभाव भएको विषय सञ्चारमाध्यममा आएपछि शिक्षक नेताहरूले उनलाई भेटेर वीर अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाउने आश्वासन दिएका छन् । आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराका कारण उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो ।

‘श्वास फेर्न गाह्रो हुन्छ । बस्न र उठ्न सकिँदैन । छातीको ४ वटा करङ भाँचिएका छन् । हातखुट्टामा चोट लागेको छ । वीरमा उपचार गराइरहेको छु । अहिलेसम्म साथीभाइले आर्थिक सहयोग गरिरहेका छन्,’ सुनारले भने ।  

महासंघ र सरकारबिच भएको सहमतिमा निःशुल्क उपचार गराउने भनिएको आफूले सुने पनि उपचार खर्च नपाएको उनको गुनासो छ । उनलाई समेत तनहुँका अध्यक्ष भट्टराईले सुरुमा सात हजार रुपैयाँ सहयोग गरेका थिए । शनिबार थप १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुनारको भनाइ छ ।

आफू घाइते भएको विषयमा महासंघका नेताहरूलाई जानकारी भए पनि अहिलेसम्म उनीहरू लामो समय भेट्नसमेत नआएको सुनारको गुनासो छ । आफ्नो अवस्थाबारे सार्वजनिक भएपछि शनिबार महासंघका महासचिव तुला बहादुर थापा लगायतका नेताहरू भेट्न आएको उनले बताए ।

दरबार हाइस्कुलका सहप्रधानाध्यापक बटालासमेत गम्भीर घाइते भएका थिए । उनको खुट्टा, टाउको आँखा लगायतका भागहरूमा गम्भीर चोट लागेको थियो । उनीसमेत नियमित चेकअपका लागि अस्पताल जाने गरेका छन् । हालसम्म सबै खर्च आफैँले बेहोर्दै आएको उनले बताए ।

उनको बायाँ आँखामा गम्भीर चोट लागेको छ । आँखाको रेटिनामा चोट लागेकाले निको हुन २/३ महिना लाग्ने चिकित्सकहरूले बताएका छन् । उनलाई समेत सुरुमा भट्टराईले आर्थिक सहयोग गरेका थिए । त्यसपछि भने सबै आफैँले बेहोर्दै आएको बटालाको भनाइ छ ।

निःशुल्क उपचारका सम्बन्धमा भएको सहमतिबारे आफूलाई जानकारी नभएको बटाला बताउँछन् । ‘हिजो महासंघका नेताहरूलाई फोन गरेको थिएँ । कुन हस्पिटलमा उपचार निःशुल्क हो भनेर सोधेँ । उपचार गराउँदा सबै आफैँले पैसा तिर्दै आएका छौँ । सबैजसो घाइते शिक्षकहरूले आफैँले नै खर्च गरेर उपचार गराइरहेका छौँ । निःशुल्क गर्ने भनेको विषयमा जानकारी छैन,’ बटालाले भने ।

सम्झौतामा उल्लेख भएका विभिन्न बुँदामध्ये सबैभन्दा पहिला घाइतेको उपचार निःशुल्क भन्ने बुँदा नै कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म कसैले वास्ता नगरेको उनको भनाइ छ । ‘सबैभन्दा पहिला यो बुँदा लागु हुनुपर्ने हो । आजसम्म पनि भएको छैन । औषधि उपचार त अहिले नै चाहिने हो । सन्चो भएपछि निःशुल्क भनेर के काम ?’ बटालाले भने ।  

बटाला महासंघको आन्दोलनमा स्वयंसेवक थिए । स्वयंसेवक भएकाले आन्दोलनको अग्रपङ्क्तिमा उनी थिए । त्यो दिन अन्य दिनझैँ शिक्षकहरू निषेधित क्षेत्रमा नाराबाजी गर्दै पुगेका थिए ।

‘अन्य दिनझैँ त्यो दिन पनि शिक्षकसाथीहरू नाराबाजी गर्दै अघि बढेका थिए । जहिले पनि निषेधित क्षेत्रमा शिक्षक साथीहरूले नाराबाजी गरेकै थिए । त्यो दिन हामीले नचिनेका मान्छेले बार निकालेछन् । स्वयंसेवकले नगर्नुहोस् भन्दा मानेनन्,’ बटालाले भने, ‘प्रहरीले एकाएक पानीको फोहोरा, लाठी तथा बुटले बजार्न थाले । ढुंगासमेत हानियो । बानेश्वरतिरबाट शिक्षकहरूलाई ढुंगासमेत हानेको थियो । मलाई पानीको फोहोरा, लाठी र बुट लागेको थियो ।’

आफ्नो उपचारमा हालसम्म ५० हजार जति खर्च भएको र अझै कति हुने हो भन्ने यकिन हुन नसकेको उनले बताए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले घाइते सबैको उपचार खर्च सरकारले नै बेहोर्ने बताए । सम्पर्कमा नआएकाहरूको हकमा समस्या देखिएको बताउँदै सम्पर्कमा आएपछि उपचार निःशुल्क हुने उनले प्रस्ट पारे ।

वीर अस्पतालमा सबैको उपचार भएको उनको भनाइ छ । गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भनेर घाइते सबैको उपचार खर्च सरकारले बेहोर्ने गरी कार्यान्वयनमा गएको उनको भनाइ छ ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले अधिकांश घाइते उपचारपछि घर फर्किसकेको बताए । दुई जना शिक्षकको हकमा उपचार जारी रहेको बताउँदै उनले अन्य घाइतेको समेत उपचार निःशुल्क नै भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप