शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले औँल्याए चार कमजोरी : नेतृत्व मनोगत र ओभरकन्फिडेन्ट बन्यो !

‘छलफलबिनै हतियार बुझाउँदा अरू कमरेडको मनमा चिसो पस्यो’
मङ्गलबार, १३ पुस २०७८, १० : २६
मङ्गलबार, १३ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता यता पार्टीबाट हुन गएका वैचारिक–राजनीतिकका साथै सांगठनिक र व्यवहारिक कमजोरी समीक्षा गरेका छन् । ‘सर्वहारा वर्गको क्रान्तिकारी पार्टी आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन’ भन्ने लेनिनको भनाइलाई उद्धृत गर्दै प्रचण्डले चार बुँदामा आफ्नो र पार्टीको कमजोरीलाई व्याख्या गरेका हुन् । 

पहिलो बुँदामा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्ता अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतम रूपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस र छलफल गरेर तथा शान्ति सम्झौतापछि पार्टीको  नीति, योजना र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र गर्नुपर्ने कुरामा कमजोरी भएको प्रचण्डले स्वीकार गरेका छन् । यसमा आफ्नो मनोगत र पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने अति आत्मविश्वास झल्कने कमजोरी देखिएको उनको स्वीकारोक्ति छ । 

‘यो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृत रहेको नेतृत्वका जिम्मेवार कमरेडहरूको मनमा चिसो पस्न गायो भने अर्कोतिर अब पार्टी कहाँ र कसरी जाने भन्ने कुराको स्पष्ट मार्गचित्र नहुँदा आम कार्यकर्ता पङ्क्तिमा अन्योल बढ्न गयो,’ उनले भनेका छन् ।

दोस्रो बुँदामा अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर र जनमुक्ति सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखेपछि वैचारिक र राजनीतिक अस्पष्टताको जगमा पार्टीमा गुटबन्दी र अराजकता झाँगिएर गएको जिकिर गरेका छन् । ‘हामीले स्पष्टरुपमा प्रगतिशील संविधान निर्माणका निमित्त संघर्ष नै हाम्रो अबको बाटो हो भन्नु पर्दथ्यो । विद्रोह नभन्ने हो भने कार्यकर्ताहरू नै भड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले यसमा काम गरेको छ,’ उनको लेखेका छन्, ‘स्पष्ट रूपमा अबको बाटो संविधान निर्माण र शान्तिपूर्ण रूपले जनवादी क्रान्तिका बाँकी काम पुरा गर्नु हो भन्न सकेको भए सम्भवतः माओवादी पार्टीलाई विभाजनबाट जोगाउन सकिन्थ्यो ।’

तेस्रो बुँदामा उनले ‘प्रचण्डपथ’ लाई स्थगित गर्ने विषयमा भएका कमजोरीलाई विश्लेषण गरेका छन् । यसमा उनले प्रचण्डपथलाई केन्द्रीय समिति, राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस र निर्णय प्रक्रिया बिना नै प्रचण्डको व्यक्तिगत पुँजीजस्तो गरी स्थगित  गर्नुले पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्‍याएको बताएका छन् । चौथो बुँदामा प्रचण्डले नेकपा एमालेसँगको एकताको विषयमा चर्चा गरेका छन् । उनले एकतापछि सहमति कार्यान्वयन गर्दा नेतृत्वका तर्फबाट बेलाबखत हुन गएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दिएको उनको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप