सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओहो, कत्रा ठूला भोगटे ! एक दूषित चश्मा

मङ्गलबार, २५ माघ २०७८, १७ : १५
मङ्गलबार, २५ माघ २०७८

‘कति ठूला भोगटे ! मलजल राम्रै पुगेजस्तो छ !’ आँखा र ध्यान जति पानको पातमै अडिने रहेछ, छर्लङ्गै देखियो शेप !’ ‘हिमालका चुचुराले कपडा छेडेर बाहिर निस्केछन् !’

तपाई हामीले यी र यस्तै द्वीअर्थी कमेन्ट, सुझाव या गालीहरू सामाजिक सञ्जालमा अवश्य देखेका छौँ या आफैंले अपलोड गरेका तस्बिरहरूमा पाएका छौँ पनि । सामाजिक सञ्जाल प्रयोगकर्ता विशेष गरी महिलाहरूका लागि यस्ता बचन नौला होइनन् । महिलाहरूको तस्बिर, भिडियोमा आउने यस्ता कमेन्ट तपाई हामी बीचबाटै हुने हो । कुनै सक्कली अनुहारसहित त कुनै नक्कली अनुहारको मुकुन्डोभित्रबाट ।

न उमेरको ख्याल, न मर्यादाको मान, जुनसुकै उमेर समूहका, विशेष गरी पुरुष वर्गबाट यस्ता अभिव्यक्तिहरू आएको या पुरुषहरूले नै महिलाको नाममा फेक एकाउन्ट बनाएर यस्ता भद्दा अभिव्यक्ति दिएको देखिन्छ ।

अझ युवा जमातभन्दा परिपक्व पुरुष यस्ता कार्यमा अगाडि देखिन्छन् । मनमा भएको कुण्ठा आफ्नै अनुहार चिनिने गरी बनाइएको प्रोफाइलबाट व्यक्त गर्न नसकेकै कारण कतिपय उच्च पदस्थ कर्मचारीहरू या वरिष्ठ कहलाइएका मान्छेहरूले नै यस्ता द्वीअर्थी कमेन्ट गर्न फेक एकाउन्ट बनाउने गरेको  रहेको प्रष्टै बुझ्न सकिन्छ ।

किशोर वय उमेरका युवाहरू आफ्नो उमेर समूह मिल्नेहरूप्रति बढी ‘बुल्ली’ भएको या आक्रामक कमेन्ट गरेको देखिन्छ । अपवादबाहेक अधबैँसे उमेरका महिलाहरूलाई सामाजिक सञ्जालमा आक्रमण गर्नेहरू पनि सोही समूहका पुरुषहरू हुने गर्दछन् । तर, उनीहरूले आफ्नो पहिचान लुकाएर ‘टीनएजर प्रोफाइल’ बनाएर कुण्ठा पोख्दै नयाँ पुस्तालाई बदनाम गरिरहेका छन् ।

केही महिना अगाडि, रमाइलोका लागि बनाएको सानो भिडियो क्लिप टिकटक को ‘कम्युनिटी भोइलेसन्स‘ मा प¥यो भनेर टिकटकले आफ्नो प्लेटफार्मबाट हटाइदियो । दुई–तीन घण्टामा हजारौँले हेरेको त्यो भिडियोमा भर्खर नुहाएर घाम ताप्दै नाचेकी थिएँ । खासगरी वक्षस्थल माथि उठ्दा  निप्पलले कपडा उचालेको  देखियो भनेर ‘न्युडिटीको‘ रूपमा रिपोर्ट भएछ । गालीको वर्षासँगै ‘मास कम्प्लेन’ गएपछि टिकटकले नै जानकारी दिएर भिडियो हटाएको थियो ।

मलाइ  अचम्म लाग्यो, दुईपत्रे लुगा बाहिर भित्री बस्त्र नलगाएको जस्तो देखिएको त्यो भिडियोले सामाजिक सद्भाव कसरी भड्कियो ? नग्नता कसरी फैलियो ? शायद चिसोको कारण बस्त्र बाहिर शेप देखियो जुन अपाच्य हुन गयो ? बुझ्न नसकेको प्रश्न त्यही हो ! कपडाले ढाकिएका स्तनहरू जुन प्रकृतिप्रदत्त हुन्, तिनीहरू कपडाभित्र पनि कसरी नग्न हुन सक्छन् ? हेर्नेहरूको कुन दृष्टिकोणले नग्नता देख्यो ? मैले यसको जवाफ खोजिरहेछु । 

प्रायः सामाजिक सञ्जालमा भाइरल भएका भिडियो फोटो, विशेष गरी महिलाकेन्द्रित रहेका देखिन्छन् । अधिकांश महिलाका भित्री बस्त्र, अङ्ग देखिएका कारण या महिलाले नृत्य गर्दा सिनेमाका कलाकारले जस्तै अङ्ग हल्लाएका या अलिकति छातीको उभार देखिएका अथवा पेट देखिएका अथवा महिलाले द्वीअर्थी हाउभाउ प्रदर्शन गरेका फोटो र भिडियो चर्चामा रहेका हुन्छन् ।

केही वर्ष अगाडि नेपाली नायिका वर्षा राउतलाई एउटा इभेन्टमा लगाएको पहिरनको कारण पनि सञ्जालमा निकै आलोचना खेप्न परेको थियो । खुला बस्त्रको कारण देखिएको छातीले सञ्जाल निकै तताएको थियो । हालै पनि भारतीय मोडल तथा नायिका मलाईका अरोराले मर्निङ वाकमा लगाएको पहिरनका कारण सञ्जाल र युट्युबमा तहल्का मच्चाएको देखियो । भित्री बस्त्र नलगाई हिँडेको भन्दै गाली र ट्रोलले सञ्जाल भरिएको थियो ।

भित्री बस्त्र र महिला शरीरको नाप बारे हाम्रो समाजको धारण के कस्तो छ भन्ने बुझ्न टाढा जान पर्दैन । केही टिकटक भिडियो, युट्युब कमेन्ट र केही अनलाइन समाचार हेरे पनि पुग्छ । छाती र नितम्बका शेप देखिएका भिडियोमा आएका तर्क, वितर्क र अझ कुतर्क हेर्न पर्छ । त्यहाँ पोखिएका कुण्ठाहरू पढ्दा लाग्छ, समाजमा अराजकता फैलाउने मुख्य कारण त महिलाका अङ्ग पो रहेछन् !

हुन त सामाजिक सञ्जालमा मात्र होइन, केही छोटो पहिरन लगाएर बजार, भेटघाटमा जाँदा अपराधीझैँ सबैको घुराइ खेप्नु हाम्रा लागि नौलो कुरो होइन । मर्निङ वाक जाँदा केही कसिलो र शरीरको शेप देखिने पहिरन हुनपर्छ, मान्छेको नजर र इशाराले तपाईँ ‘नाङ्गै‘ हिँडेको महसुस गर्न पाउनुहुनेछ । बिहानको हिँडाइमा अगाडि बात आइरहेको पुरुषले यस्तोसँग हेर्छ कि मानौँ मिल्ने भए उसले अहिले नै उसले हेरेको ठाउँमा ठुँग्न चाहन्छ । यौटा घिनलाग्दो हवस्, उसको आँखामा प्रष्ट देखिएको हुन्छ ।

बहस कसले कति छोटो कपडा लगायो, कसको लुगामा छातीको जरा देखियो र नितम्बको आकार देखियो भन्ने होइन तर पहिरन र शरीरकै अङ्गको कारण भोगिने ‘हिंसा’ को हो । ‘ह्यारेसमेन्ट’ को हो । सोच त मेरो पहिरनको लम्बाई र चौडाइले मेरो शरीरको भाग छोपिएर भएन, बाहिर निस्केका शेप पनि ताछिन पर्ने भो । ‘अपराधी’ ‘उत्ताउली’ ‘छाडा’ जस्ता उपनाम त मैले शरीरका अङ्गका केही भाग देखिँदैमा पाउने भएँ । कस्तो समाज, कस्तो सोच, मेरो पहिरनबाट बाहिर देखिएका शारीरिक बनोटले ‘संस्कार’ र अनुशासन तोडिने ?

शारीरिकरूपमा महिला पुरुषको बनोट फरक छ । हिजो पो ‘लाजका गहना’ ‘घरका इज्जत’ ‘कुलका प्रतिष्ठा’ का रूपमा सिकाइएको मेरो शरीरका अङ्ग आज ‘मेरो शरीर, मेरो अधिकार’ सम्म पुगेको छ कानुनीरूपमै पनि । तर, समाजको चेत उहीँ अड्केको छ ।

उठेको छाती मेरो प्राकृतिक बनोट हो । यसमा मैले आकार नै नदेखिने पहिरन लगाएर हिँड्न वा दबाएर, पछ्यौराले ढाकेर हिँड्नपर्छ भन्ने छ र ? उमेर र बनोटको हिसाबले शरीरको अङ्गको लम्बाइ, चौडाइ घटबढ होला । यसमा सकस मानेर लुकाउनैपर्ने के छ र ?

सामान्य बस्त्रले सबै अङ्ग पूरै छोप्छ भन्ने पनि त छैन । सारी नै लगाउँदा पनि मध्यभाग त देखिन्छ नै । उठेका भाग त जे लगाउँदा पनि उठेकै देखिन्छ, होइन र ? यसलाई सामान्यरूपमा प्राकृतिक अवस्था हो भनी सोच्न सकिन्न र ? ठूलो छाती, नितम्बको ‘शेप’ लाई यत्ति विधि असहज महसुस गराउने गरी प्रयोग गर्न जरुरी छ र ?

यस्ता मुद्दामा कोही बोल्यो भने उसलाई ‘महिलावादी’ भन्दियो, ओठे जवाफ फर्कायो सकियो । खासगरी यी मुद्दा नै ‘महिला मात्रका’ भनेर समाज नै तर्कने चलन छ । तर, यी मुद्दा त्यति फितला पनि होइनन् । अरूको मानमर्दन हुने या अरूको आत्मसम्मानमा चोट पु¥याउने र अरूको मनोबल खस्काउने यस्ता मुद्दा कसरी कुनै समूह मात्रको हुन सक्छ ? त्यसैले बहसमा त आउनैपर्ने देख्छु म ।

महिला पुरुषको शारीरिक भिन्नता र फरक बनोटलाई प्राकृतिक हो भनेर सामान्यरूपमा बुझ्न र बुझाउन कुनै पनि वादको सिद्धान्तभित्र पस्न पर्छ जस्तो लाग्दैन । महिलाको शारीरिक गुण हो, जुन तपाईँको घरमा आमा, बहिनी र छोरीको पनि छ ।

सामाजिक सञ्जालमा अरूप्रति आक्रामक व्यवहार गर्ने विद्वानहरूले घरभित्र त पक्कै पनि ‘भोगटे देखाउँदै हिँडिस्’ भन्न सक्नुहुन्न होला ! छोटो कपडा लगाउने बहिनी देख्नेबित्तिकै ‘इरोटिक फिलिङ्स’ त पक्कै आउँदैन होला । आमाको छाती देख्दा कस्तो ‘उत्ताउली’ भन्दै झम्टिन त जानुहुन्न होला ! तर, सामाजिक सञ्जालमा आएपछि तपाईमा भएको ‘मर्दपन’ किन यसरी उम्लिन्छ महासय ? कुनै महिलाका उठेका भागले तपाईँको ‘हवस्’ जगाउँछ भने समस्या तपाईँकै हुनुपर्ने होइन र ?
(ढकाल समाजशास्त्री हुन्) 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला ढकाल
निर्मला ढकाल

ढकाल समाजशास्त्री हुन् ।

लेखकबाट थप