बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी नै रद्ध गर्ने संकल्प प्रस्तावमा जोड, गठबन्धनको बैठकमा कसले के भने ?

बिहीबार, ०५ फागुन २०७८, २३ : ३५
बिहीबार, ०५ फागुन २०७८

सत्तारुढ गठबन्धनको बिहीबारको बैठकमा एमसीसीबारे स्पष्ट दुई धार देखिएपछि तनावकै बीच बैठक सकियो । उक्त बैठकमा नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा देखिए भने नेपाली काँग्रेस र जसपाको अर्को धारको नेतृत्व गर्ने डा. बाबुराम भट्टराईचाहिँ एमसीसीको पक्षमा खुलेर लागे । 

गठबन्धनमा सहमति जुटाएर एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री देउवाको प्रयास गठबन्धनको बिहीबारको बैठकबाट सफल हुन सकेन । यद्यपि देउवाले बैठकमा झोक्किँदै शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । 

बैठकमा सहभागी एक नेताकाअनुसार देउवाले बैठकमा भनेका थिए, ‘एमसीसी पहिला संसदमा टेबल गरौँ। त्यसपछि तपाईँहरूलाई पक्षमा भोट हाल्ने वा विपक्षमा हाल्ने भन्नेमा सबै स्वतन्त्रता छ । तर यो विषय अब नअड्काऔँ ।’ एमसीसीको विषयमा बाहिर बबण्डर भएकाले अब अड्काएर बस्न नहुने भन्ने देउवाको भनाइ थियो । 

यस्तै बैठकमा माओवादीले भने यथास्थितिमा एमसीसी पास हुन नसक्ने र जबरजस्ती टेबल गरिए विपक्षमा मतदान गर्ने स्पष्ट धारणा थियो । माओवादीले सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे ४ सवाल अघि सारेको थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएको थियो । 

नेता नारायणकाजी श्रेष्ठकाअनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले  यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो ।  आर्थिक सहायता अहिलेसम्म संसदले अनुमोदन नगरेकोमा भोलि अरुले पनि यस्तै माग गरे के हुन्छ भन्ने प्रश्न पनि माओवादीले उठाएको थियो ।

यस्तै माओवादीले संसद सुचारु गरेर मात्रै यसबारे अघि बढ्नुपर्ने धारणा राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ ? पहिला संसद सुचारु हुनुपर्छ’,माओवादीको भनाइ थियो ।
तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चाहिँ टेबल गर्न सहमति यसअघि नै भइसकेको धारणा राखेका थिए । यसबारे पार्टीमा थप छलफल भने गर्न जरुरी रहेको भन्दै उनले फागुन ७ गत पार्टीको बैठक भएकाले त्यतिबेलासम्म कुरिदिन देउवालाई आग्रह गरेका थिए । 

यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भने एमसीसी तत्काल पेश गरिनुपर्ने धारणा राख्दा सोही पार्टीका उपेन्द्र यादव निकट नेता राजेन्द्र श्रेष्ठले चाहिँ एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चा भने सहभागी भएन भने सो पार्टी यसअघि नै एमसीसीको विरोधमा सडकमा छ । 

गगनको प्रस्तावः एमसीसी नै संकल्प प्रस्ताव ल्याऔँ
बैठकमा सहभागी काँग्रेस महामन्त्री गगन थापाले भने एमसीसी टेबलसँगै भविष्यमा एमसीसीको विषयलाई लिएर अमेरिकाले तलमाथि गर्न खोजे सो सम्झौता नै रद्ध गर्ने संकल्प प्रस्ताव ल्याउन बैठकमा प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावको खासै सुनुवाइ हुन नसकेको एक नेताले बताए । गगनले पहिला एमसीसी संशोधनका लागि आफूहरुले पहल गरेको भएपनि त्यसअनुसार अमेरिकाबाट जवाफ नआएको बताएका थिए ।

 ‘संशोधन गर्न नसक्ने भएपछि संसदबाट संकल्प प्रस्ताव पारित गरौँ । संकल्प प्रस्तावमा हाम्रो पोजिसनलाई थप क्लियर बनाऔँ’, बैठकमा गगनको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अर्को चाहिँ हामीले सम्झौताको विषयमा उठेका प्रश्नबारे अमेरिकासँग जुन प्रश्नोत्तर गर्यौँ त्यसलाई पनि सम्झौताको अनुसूची जस्तो बनाएर सँगसँगै पारित गरौँ । यसरी पनि जाने बाटो हुनसक्छ भनेर उहाँले भन्नुभयो ।’ 

थापाले संकल्प प्रस्तावबारे यसअघि पनि धारणा राख्दै आएका थिए । ‘संसदबाट सँगै संकल्प प्रस्ताव पारित गरौँ । संकल्प प्रस्ताव पारित गर्दा हामीले के भन्न सकिन्छ भने हामीले यो सम्झौतामा जे–जे कुरा लेखिएको छ, जुन कुरामा हामीले सम्झौता गर्ने हो त्यो कुरा हामीले सोचको भन्दा तलमाथि भयो भने तत्काल नेपाल सरकारले यसलाई खारेज गर्न सक्ने छ भनेर संकल्प पारित गरौँ’, थापाको भनाइ थियो, ‘हाम्रा जतिपनि आशंका छन् हामीले भनेको भन्दा तलमाथि भयो भने नेपाल सरकारले खारेज गर्न सक्नेछ भनेर संकल्प गरेर जाऔँ ।’

गठबन्धनमा सहमति हुन नसकेपछि देउवाले बिहीबार राति नै एमाले अध्यक्ष केपी ओलीसँग दुई घण्टा वार्ता गरेका थिए । देउवा र ओलीबीच भएको भेटवार्तामा के सहमति भयो भन्नेबारे बाहिरिएको छैन । तर, गठबन्धन नै संकटमा परेको बेला भएको यो भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप