बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचदेखि एघार वर्षसम्मका बालबालिकाले कहिले पाउँछन् खोप ?

कुन कुन खोप पाइपलाइनमा ?
सोमबार, ०९ फागुन २०७८, १२ : ४५
सोमबार, ०९ फागुन २०७८

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान धमाधम सञ्चालन भइरहँदा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन् । यद्यपि त्यो समूहका बालबालिकालाई खोप प्रदान गर्ने घोषणा भने सरकारले गरिसकेको छ । बालबालिकालाई फाइजर खोप दिनका लागि खरिद सम्झौताको तयारी भइरहेको स्वास्थ्य विभाग महाशाखाअन्तर्गतको आपूर्ति शाखाले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक पर्छ । 

सरकारले जेठ मसान्तसम्ममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका कोरोनाविरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दोहोर्‍याउँदै आए पनि खरिद प्रक्रियाका लागि सम्झौताको तयारी भने भर्खर हुँदैछ । व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बालबालिकाका लागि फाइजर खोप सम्झौता प्रक्रिया चलिरहेको बताए । 

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख ५ हजार ४५५ जना बालबालिकामध्ये ८८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

१८ वर्षभन्दा माथिकालाई बुस्टर डोज लगाउन आग्रह

सरकारले पूर्ण मात्रा खोप लगाएका १८ वर्ष उमेर समूहका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ । पूर्ण मात्रा खोप लगाई ६ महिना पूरा भएका १८ वर्षमाथिका नागरिकलाई उपलब्धताका आधारमा खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता मिश्राले बताइन् । हालसम्म ८ लाख ६७ हजार ८४५ जनाले बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ ।

बुस्टर डोज लगाउँदा  पहिला लगाएको खोप उपलब्ध भएको खण्डमा सोही खोप र उपलब्ध नभएको खण्डमा कोभिसिल्ड, मोडर्ना, एस्ट्राजेनिका, फाइजर, जोन्सन एन्ड जोन्सोनमध्ये कुनै एक लगाउन आग्रह गरिन् । यस्तै जोन्सोन एन्ड जोन्सोन खोप लगाएको ६ महिना पुगेकाहरुले बुस्टर डोज उपलब्ध भएको खण्डमा जोन्सोन खोप लगाउन अनुरोध गरिन् । यद्यपि जोन्सोन खोप बुस्टर डोजका रूपमा उपलब्ध भएको खण्डमा अन्य खोप (मोडर्ना, फाइजर, कोभिसिल्ड, एस्ट्रजेनिका) लगाएकाहरूले पनि लगाउन मिल्ने उनले बताइन् ।

कुन कुन खोप पाइपलाइनमा ? 

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ४० लाख मात्रा चीनको सिनोभ्याक खोप पाइपलाइनमा रहेको बताए । गाभी र कोभ्याक्सअन्तर्गत ६२ लाख मात्रा फाइजर खोप पनि पाइपलाइनमा छ । चैत मसान्तसम्म १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप लगाउन पाइपलाइन र भण्डारणमा रहेको खोपले पुग्ने उनले बताए । पाइपलाइन रहेका फेब्रुअरी महिनामा आउने खोप अहिलेसम्म नआएको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । खोप खरिद र अनुदानमा आउने क्रम जारी रहेकाले लक्ष्यअनुसार चैतसम्ममा १८ वर्षमाथिका सबैलाई पूर्ण मात्रा दिन सकिने उनले बताए । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिइसक्ने सरकारको लक्ष्य छ । १८ वर्षमाथिकालाई सरकारले बुस्टर डोज दिइरहेकाले पनि उक्त लक्ष्य हासिल गर्न समस्या नहुने बताइएको छ ।  

केन्द्र र प्रदेशमा खोप कति छ ?

केन्द्र र प्रदेशको खोप भण्डारणमा सरकारसँग ८२ लाख ६५ हजार मात्रा खोप रहेको छ । आपूर्ति शाखाका अनुसार जिल्ला तथा पालिका तह र खोप केन्द्रमा समेत खोप भण्डारण छ । स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले स्थानीय तहहरूलाई खोप लगाएका र भण्डारणमा रहेका खोपको रिपोर्टिङमा ढिलाइ भइरहेको बताए । यस्तै उनले देशभर अभियान सञ्चालन भइरहेको र खोप नलगाएकाहरूलाई खोप लगाउन सुझाव दिए । 

कतिले लगाए खोप ?

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १३ महिनाको अवधिमा कुल जनसङ्ख्याको तीन करोड ६८ लाख ८१ हजार ९८९ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा एक करोड ७८ लाख ६४ हजार ५१६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै कम्तीमा एक मात्रा एक करोड ८३ लाख ४९ हजार ६२८ जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसङ्ख्यामा एक करोड ७६ लाख ६४ हजार ५१६ जनाले पूर्ण मात्रा लगाएका छन् । एक करोड १३ लाख ४५ हजार ५३९ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । अर्थात् ६०.५ प्रतिशतले पूर्ण मात्रा, ७३.१ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । लक्षित समूहमा एक करोड ९९ लाख २२ हजार १६४ जना रहेका छन्; जसमा पूर्ण मात्रा एक करोड ५३ लाख १४ हजार १८१ जनाले खोप लगाएका छन् भने एक करोड ८० लाख ६७ हजार ५२७ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् अर्थात् ७६.९ प्रतिशत पूर्ण मात्रा, ९०.७ प्रतिशत पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालय जनाएको छ । 

सङ्क्रमित भएको एक महिनापछि खोप लगाऔँ

कोरोना सङ्क्रमणमुक्त भएको एक महिनापछि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्रा कौशलले सुझाव दिएकी छन् । ओमिक्रोन भेरिएन्ट  लगायत आउँदा दिन उत्परिवर्तन भई नयाँ देखिन सक्ने भेरिएन्टबाट बच्नका लागि अनिवार्य रूपमा खोप लगाउन प्रवक्ता डा. मिश्राले आग्रह गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप