शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

८ मार्च र महिला आन्दोलनका कार्यभार

मङ्गलबार, २४ फागुन २०७८, १० : ००
मङ्गलबार, २४ फागुन २०७८

आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धताको बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिन्छ । “दिगो भविष्यको लागि लैङ्गिक समानता’ भन्ने बिषयबस्तु अन्तरगत संसारभरका महिलाहरुले ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनका रुपमा मनाइरहेका छन् । त्यसैगरी ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ लगायत विभिन्न नाराका साथ नेपालमा पनि श्रमिक महिला दिवस देशब्यापी रुपमा विभिन्न कार्यक्रमसहित मनाईदैछ ।

८ मार्च समानता र सहअस्तित्वको निम्ति महिलाहरुले चलाएको वीरतापूर्ण संघर्षको गौरवगाथा हो । यो महिलाहरुले मताधिकारको लागि चलाइएको आन्दोलनको स्मरण मात्र होइन, त्यस यताका दुई सय बर्षमा महिलाले समानता, सहआस्तित्व र सामाजिक न्यायको निम्ति गरेका वीरतापूर्ण इतिहासको एकमुष्ट सम्मान हो । ती सबै संघर्षबाट आवश्यक शिक्षा प्रेरणा हामीले लिदै आएका छौं र लिइरहने छौं ।

 योगमायाहरूदेखि, जनयुद्ध, जनआन्दोलनमा वीरतापूर्ण संघर्षको गौरवगाथा तयार गर्ने सवै वीरंगानाहरुको त्याग, वलिदान र समर्पणले ८ मार्चको गरिमा महत्व र क्षेत्रलाई अझै व्यापक र बिस्तार गर्दै आएको छ । २१ औं शताब्दीको पूर्वाद्र्धसम्म आइपुग्दा केवल इतिहासको बखान गर्नुमा मात्र हाम्रो भूमिका पुरा हुने कुरामा विश्वास गर्दैनौं । हामीले इतिहासबाट आवश्यक शिक्षा र प्रेरणा लिदै वर्तमानका आवश्यकता, सम्भावना र चुनौतीको लेखजोखा गर्दछौं । त्यसैले हामीले वर्तमानमा टेकेर भविष्यको क्षितिजलाई पनि नियाल्ने नारा सामाजिक न्याय र लैङ्गिक समानताले वर्तमानको आवश्यकतालाई सम्बोधन गरिरहेको छ भने दिगो विकासको सुनिश्चितताले सुन्दर र सुखद भविष्यलाई देखाइरहेको छ ।

लैङ्गिक समानता, सामाजिक न्याय र दिगो विकास एक अर्कोमा घनिष्ट रूपले जोडिएका विषय बस्तु हुन् । लैङ्गिक समानता बिना सामाजिक न्याय र सम्मुनत समाजको परिकल्पना सम्भव हुँदैन । जुन समाजमा लिंग, जाति, धर्म, संस्कृति र श्रम विभाजनको आधारमा उचनिचको व्यवहार हुन्छ, विभेद र असमानतायुक्त अवस्था हुन्छ, त्यहाँ विकास र समृद्धि टाढाको कुरा बन्दै जान्छ । सामान्यतया विकास र अझ सामाजिक न्याय सहितको बिकासको निम्ति लैङ्गिक समानता आवश्यक मात्र होइन, अनिवार्य शर्त हो । लैङ्गिक समानता र सामाजिक न्याय दिगो विकासका महत्वपूर्ण आधार हुन् । 

    त्यसै गरी आर्थिक, सामाजिक र वातावरणीय विकास दिगो विकासका प्रमुख स्तम्भ हुन् । तसर्थ महिलाहरुले राजनैतिक क्षेत्रमा सहभागिताको अधिकारको अलावा, सामाजिक संस्कृतिक क्षेत्रमा समेत सवै खालका विभेदबाट मुक्ति र व्यक्तित्व विकासको अवसरको लागि आवाज बुलन्द गर्दै जानुपर्ने हुन्छ । कुनै पनि महिला होस् वा पुरुष जन्मजात लैङ्गिक आधारमा सक्षम र असक्षम हँुदैन । उसले प्राप्त गर्ने अवसर, शिक्षा दीक्षा र परिवेशले समाजमा उसको योग्यता, भूमिकालाई कदर गरिरहेको हुन्छ । त्यसकारण राजनैतिक तथा सामाजिक, सांस्कृतिक क्षेत्रमा समान अवसर, भूमिका र सहभागिताको खोजी हामीले गर्नै पर्दछ ।

 हामीले राजनीति र सामाजिक सांस्कृतिक क्षेत्रको बारेमा कुरा गरिरहँदा यो तथ्यलाई पनि ख्याल गर्नु पर्दछ कि हरेक राजनीतिक सामाजिक ब्यवस्थाको आधार आर्थिक ब्यवस्था हुने गर्दछ । तसर्थ आर्थिक अधिकारको सुनिश्चितता बिना राजनीतिक तथा सामाजिक, सांस्कृतिक अधिकारको दिगो उपयोग चुनौतीपूर्ण हुन जान्छ । आर्थिक आत्मनिर्भरताले आज हरेकलाई आत्मनिर्णयको अधिकार उपयोग गर्न योग्य बनाउँछ ।

कोभिड–१९ लगायतका विभिन्न महामारीले जलवायु परिवर्तनका मुद्धा र बातावरणीय सुरक्षाको प्रश्नलाई अत्यन्त गम्भीर र चुनौतीपूर्ण बनाउँदै लगेको छ । विकसित राष्ट्र र सम्पन्न मुठ्ठीभर वर्गले गरिरहेको प्रकृतिको असीमित दोहनका कारण विग्रदो जलवायु र वातावरणको मारमा श्रमजीवी वर्ग, क्षेत्र, लिङ्ग र समुदाय पर्दै गएको छ । तसर्थ महिला अधिकार र समानताको कुरा गर्दा वातावरणीय अधिकार प्रश्न पनि राजनैतिक, आर्थिक तथा सामाजिक, सांस्कृतिक अधिकारसँग जोडिएर आउनु पर्दछ । दिगो भविष्यको सुनिश्चितताको लागि राजनीतिक अधिकारका अलावा आर्थिक, सामाजिक, बातावरणीय अधिकार र विकासको सवाल पनि हो ।

यस बर्ष हामीले ८ मार्च मनाइरहँदा स्थानीय तहको निर्वाचन नजिकै आउँदैछ । स्थानीय तह हुँदै प्रदेश र संघमा महिलाहरुको सहभागिता वृद्धि गर्न आठ मार्चले थप प्रेरित गर्नै पर्दछ र वातावरण तयार गर्नै पर्दछ ।

लैङ्गिक समानताको अलावा राष्ट्रको स्वाधीनता, आर्थिक समृद्धि र सामाजिक न्याय आजको महिला आन्दोलनका कार्यभार बन्नु पर्दछ । स्वाधीनता, समृद्धि र सामाजिक न्यायको प्रश्न वस्तुतः समाजवादका लागि आधार निर्माणको विषय हुनेछ । ८ मार्चले सबैलाई यही बाटोमा हिँड्न प्रेरित गर्नेछ । मुक्तिकामी महिला आमा, दिदी ,बहिनी र छोरीहरू लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुमा ८ मार्चको हार्दिक मंगलमय शुभकामना ।

सत्य पहाडी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सत्या पहाडी
सत्या पहाडी
लेखकबाट थप