शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्यातमा देखिएको कठिनाई अन्त्य गर्न चेम्बरले पहल गर्छ : अध्यक्ष मल्ल

सोमबार, ३० फागुन २०७८, १७ : २३
सोमबार, ३० फागुन २०७८

नेपाल चेम्बर अफ कमर्सले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ । नेपाल निर्यात परिषदका नवनिर्वाचित पदाधिकारीलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रबर्द्धनमा देखिएको नीतिगत कठिनाई अन्त्य गर्न चेम्बरले पहल गर्ने बताए ।

प्राथमिकता प्राप्त वस्तुहरुको निर्यातमा विकसित देशहरुले अल्पविकसित राष्ट्रलाई दिने सहुलियत सम्बन्धी व्यवस्था जीएसपी सुविधा रिन्यु नहुँदा समस्या भएको अध्यक्ष मल्लको भनाई छ । अमेरिकाले पनि पछिल्लो समय जीएसपी सुविधा कटौती गर्दा भन्सार करमा २० प्रतिशतसम्म अतिरिक्त भार परेको निर्यात व्यवसायीले गुनासो गरेका थिए ।

अध्यक्ष मल्लले विकसित देशबाट पाउने जीएसपी सुविधामा सहजीकरणका लागि सरकारी निकायका साथै सम्बन्धित देशका राजदूतसँग पहल गर्ने बताए । वस्तु निर्यात गर्दा अनलाइनबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।

मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडिबुटी, चिया, कफी लगायतका वस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्द्धन गृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुने अध्यक्ष मल्लले बताए ।

निर्यात परिषदका नवनिर्वाचित अध्यक्ष रेशमबहादुर पोखरेलले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरेका थिए । राज्यबाट निर्यातकर्ताले पाउने सुविधा पाउन पनि विभिन्न झन्झट भोग्नुपरेको अध्यक्ष पोखरेलले गुनासो गरेका थिए ।

राज्यले विभिन्न ३९ वटा वस्तुलाई निर्यात प्राथमिकताको सूचीमा राखेपनि निर्यात भने बढ्न नसकेको अध्यक्ष पोख्रेलको भनाई छ । निर्यात व्यवसायीले मुलुकमा कच्चा पदार्थ आयत गर्नुपर्दा निर्यात योग्य वस्तुहरुको लागत बढेको बताएका थिए ।

चालू आर्थिक वर्षको ७ महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको सन्र्दभमा नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनको  विभिन्न विकल्पबारे निर्यात परिषदसँग छलफल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप