शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजाले मलाई छाडेका हुन्, मौका पाएँ भने ज्ञानेन्द्रसँग सोध्नेछु’

राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बनेको कमल थापाको निष्कर्ष
शुक्रबार, ११ चैत २०७८, २२ : ०२
शुक्रबार, ११ चैत २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियोमार्फत भनेका छन् । उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ । उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्नेबारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् ।

‘२०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो’, थापाले भने, ‘आखिर निर्मल निवासले मविरुद्ध यति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजा (पूर्वराजा ज्ञानेन्द्र शाह)लाई यसबारे अवश्य सोध्नेछु ।’

सो घटनापछि आफूले सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गर्दै अहिले लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धिको एजेण्डा बोकेर हिँड्नुपरेको थापाको भनाइ छ । उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन नसकेको पनि थापाले बताए । राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै भएको सन्दर्भमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नभएको थापाको निष्कर्ष छ ।

‘वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको प्रयासको बाबजुद पनि राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा राजा वा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन सकेन’, थापाले भने, ‘जसको परिणामस्वरूप राजसंस्था र राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै गयो । र, राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बन्दै गयो ।’

थापाले यो पृष्ठभूमिमा अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । यद्यपि राजसंस्थाप्रति आफ्नो सम्मान भने कायमै रहने उनको भनाइ छ ।

थापाको भनाइ जस्ताको तस्तै: 

मैले राजसंस्थाको एजेण्डा छाडेको बारेमा कतिपयलाई आश्चर्य लागेको छ । कतिपयले यसैलाई निहुँ गरेर मेरो चरित्र हत्या गर्नेगरी नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन् । तर, वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ । २०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो । आखिर निर्मल निवासले मविरुद्ध कति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजालाई यसबारे अवश्य सोध्नेछु ।

तर यस घटनापछि मैले मेरो सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेँ । मैले मेरो अन्तर आत्मालाई सोधेँ । मेरो अगाडि कुनै विकल्प रहेन । वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको प्रयासको बाबजुद राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा राजा वा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन सकेन । जसको परिणामस्वरूप राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै गयो । र, राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बन्दै गयो । एकातिर यस्तो अवस्था रह्यो भने अर्कोतर्फ शतप्रतिशत राजावादी भएको राप्रपामा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावकको रूपमा रहन सक्दैन, निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्‍यो ।

यो पृष्ठभूमिमा हामीले सोच्यौँ–अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प छैन । राजसंस्थाप्रति मेरो अविचलित विश्वास मेरो हिजो पनि थियो भोलि पनि हुनेछ । तर, अबको हाम्रो गन्तव्य लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धि नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप