शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पार्टीले प्रभु साहलाई कारबाही नगरेसम्म संघर्ष जारी रहनेछ’

आइतबार, १३ चैत २०७८, १४ : ५२
आइतबार, १३ चैत २०७८

रौतहट जिल्लामा गठन भएको एमाले जिल्ला कार्यसमितिको बैठकमा प्रभु साहले धाँधली गरेको भन्दै एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रेखाकुमारी झाले एमालेको केन्द्रीय समितिमा उनी विरुद्ध उजुरी दिएकी छन् । सहमतिका आधारमा कार्यसमिति गठन नगरी आफ्नै तरिकाले गठन गरेको कारण त्यसलाई सच्याउन माग गर्दै पार्टीमा उनले प्रभु साह विरुद्ध उजुर गरेकी हुन् । प्रभु साह विरुद्ध पार्टीमा संघर्ष थालेकी झासँग रातोपाटीले गरेको छोटो कुराकानीः

तपाईंले प्रभु साह विरुद्ध पार्टीमा उजुरी दिनुको कारण के हो ?

–जिल्ला अधिवेशनमा प्रभु साहले धाँधली गर्नुभयो, त्यसको बारेमा मैले पार्टीलाई जानकारी गराएको छु । अधिवेशनमा उहाँले एकलौटी गर्नुभयो । उहाँले आफ्नो गोजीबाट लिस्ट निकालेर पदाधिकारी चयन गर्नुभयो । ६ जनाको अध्यक्ष मण्डल बनेको थियो । अध्यक्षमण्डलका कसैसँग कुनै सहमति नै नगरी जबर्जस्ती आफ्ना मान्छेलाई जिल्ला कार्यसमितिमा ल्याउने काम उहाँले गर्नुभयो । यस्ता मान्छेहरुलाई पदाधिकारीमा ल्याउनु भयो, जसको पार्टीमा कुनै भूमिका नै छैन । 

यसरी विवादमा आइसकेपछि अधिवेशन स्थगित गर्नुपर्ने थियो वा सबैको सहमतिमा अगाडि बढ्नुपर्ने थियो । त्यसो नगरी प्रभु साहले मध्यरातमा पदाधिकारीहरुलाई बोलाएर सपथग्रहण गराउनुभयो । मैले नाम सच्याउन पटक पटक आग्रह गरें तर उहाँले अब यो कुनै पनि हालतमा संशोधन हुँदैन भन्नुभयो । पछि त्यही नाममा सहमति भयो भन्दै मसँग हस्ताक्षर गराउन आउँदा मैले त्यसमा असहमति जनाएँ । त्यसलाई हामीले स्वीकार नगर्ने भयौं । अधिवेशनमा धाँधली गरेको बारेमा पार्टीमा उजुरी दिएको छु ।

साहले त्यस्तो किन गर्नुभयो होला भन्ने लाग्छ तपाईंलाई ?

–प्रभु साहको स्कूलिङ नै त्यस्तै हो । उहाँ माओवादीबाट आएका हुनाले त्यस्तो व्यवहार देखाउनु भएको हो । उहाँ जहाँ बस्नुहुन्छ, त्यही तहसनहस गर्नुहुन्छ । माओवादीमा प्रचण्डसँग बस्दा पनि त्यस्तै गर्नुभयो । पछि डा.बाबुराम भट्टराईसँग बस्दा पनि त्यस्तै गर्नुभयो । अहिले एमालेमा आउँदा त्यही गर्न खोज्नु भएको हो । उहाँ जुन पार्टीमा जाँदा त्यो पार्टीलाई स्थिर रहन दिनुभएको छैन । उहाँ आफ्नो पद तथा  कुर्सीका लागि जे पनि गर्न सकिने व्यक्ति हो । उहाँ दमनकारी नीतिमा चल्नुहुन्छ । आफू मालिक, अरु सबै दास हुन् भन्ने भावनाको हुनुहुन्छ उहाँ । तर अब दमन र शोषणले राजनीति चल्दैन । 

साह पार्टीमा शक्तिशाली छन् । पार्टीले उनलाई बोलाएर सोधपुछ गर्ला त ?

–उहाँ सांसद र उहाँकी श्रीमती मेयरमा एमालेको मतले जित्नुभएको हो । एमालेले उहाँलाई मत नदिएको भए उहाँ जित्न सक्नु हुन्थेन, शक्तिशाली बन्नु हुन्थेन । पार्टीभित्र उहाँको यस्तो दमनकारी सोच रहिरह्यो भने आगामी चुनावमा एमालेले उहाँलाई साथ दिने छैन । पार्टीलाई हामीले आग्रह गरेका छौं कि प्रभु साहलाई सुधार गरियोस्, नत्र चुनावमा हाम्रो सहयोग हुनेछैन । पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई दमन गर्ने, थिचोमिचो गर्ने, दुर्व्यवहार गर्ने हो भने उहाँलाई जिताउन हामी किन अगाडि सर्ने ? आफ्ना आसेपासेलाई मात्र सहयोग गर्ने, जिल्ला नेतृत्वमा ल्याउने हो भने पार्टीले पनि प्रभु साहको बारेमा सोच्न बाध्य हुन्छ । पार्टीमा उहाँको गतिविधि राम्रो छैन । भाइ नागेन्द्र साह ठेकेदार, श्रीमती मेयर अनि आफै सांसद र मन्त्री पनि हुनुहुन्छ । त्यसैको आडमा उहाँले जिल्लामा दादागिरी देखाइ रहनुभएको छ ।

पार्टीमा तपाईंले गरेको उजुरी माथि कारवाही भएन भने के गर्नुहुन्छ ?

–मलाई विश्वास छ, पार्टीले उहाँमाथि कारवाही गर्नेछ । प्रभुको लीला पार्टीलाई पनि थाहा छ । प्रभु साहको क्रियाकलापबाट पार्टी पनि आजित भएको छ । मधेशमा एमाले सङ्ग्लो थियो । तर प्रभु साह आएपछि गुट सुरु भएको छ । उहाँ जहाँ पनि धक्का दिँदै हिँड्नु भएको छ । हरेक जिल्लामा उहाँले बदमासी गर्दै हिँड्नु भएको छ । उहाँले कहाँ कहाँ बदमासी गर्नुभएको छ, ती सबै कुराको बारेमा पार्टीलाई थाहा छ । मलाई विश्वास छ कि पार्टीले प्रभु साहको बारेमा अवश्य केही सोच्नेछ ।​

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रभु साहको राम्रो सम्बन्ध छ, उहाँले त माथि माथि सबै कुरा मिलाउनु हुन्छ भन्छन् नि ?

–ओली बासँग प्रभु साहको मात्र होइन, मेरो पनि राम्रै सम्बन्ध छ । अरु नेताहरुको पनि राम्रै छ । तर सम्बन्ध राम्रो हुँदैमा पार्टीमा गुण्डागर्दी गर्ने छुट हुँदैन नि । कसैको व्यक्तिगत सम्बन्ध होला तर पार्टीको सम्बन्ध र व्यक्तिगत सम्बन्ध फरक कुरा हो । पार्टीगत सम्बन्ध पार्टीको हितमा हुनुपर्छ, संगठनको हितमा हुनुपर्छ तर प्रभु साहका जति पनि क्रियाकलाप छन्, पार्टी हित विपरित छन् । प्रभु साहले आइटी आर्मी गठन गरेर देशैभरि पार्टीलाई बदनाम गराउने काम गर्नुभयो । अहिले त्यो आइटी आर्मी कहाँ छ ? पार्टीसँग बार्गेनिङ गर्न, पार्टीको बारेमा जथाभावी कुराहरु बाहिर ल्याउन उहाँले आइटी आर्मी गठन गर्न लगाउनु भएको थियो । पार्टीले यो कुरा नोटिस गरेको छ । 

यदि उहाँलाई कारवाही भएन भने तपाईं के गर्नुहुन्छ ?

–उहाँलाई कारवाही नगरेसम्म मेरो संघर्ष जारी रहन्छ । प्रभु साह सुध्रिनुपर्छ । यो पार्टीको हितमा छ । 

संघर्ष मतलब आन्दोलन नै गर्नुहुन्छ त ?

–संघर्ष भनेको सडकमा आन्दोलन गर्ने मात्रै होइन । पार्टीभित्र आन्तरिक संघर्ष गर्छु । पार्टीको केन्द्रीय समितिको बैठकदेखि लिएर पार्टीको अन्य मञ्चमा उहाँको बारेमा कुरा उठाउँछु । पार्टीको ढोका ढकढकाउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप