असन्तुष्ट छ रास्वपाभित्रको मधेस
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसी नेता तथा सांसदहरू पछिल्लो समय पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
- मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये ३० सिट जिते पनि पार्टीले मधेसलाई महत्त्व नदिएको गुनासो छ ।
- पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनमा मधेसीहरूको स्थान सुनिश्चित नभएसम्म नेताहरूले कुनै निर्णय नलिने बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसी नेता तथा सांसदहरू पछिल्लो समय निकै असन्तुष्ट देखिएका छन् । पछिल्लो समय प्रतिनिधि सभाको बैठकमा सोही पार्टीका सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ ।
आखिर मधेसमा एकपछि अर्को नेता किन असन्तुष्ट बन्दै गएका छन् ?
रास्वपाकै मधेसका नेता तथा सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन् । डा. अमरेशकुमार सिंहले सुरु गरेको आलोचना मनिष झा हुँदै पुरुषोत्तम यादवले पनि सुरु गरे । पार्टी तथा सरकारप्रति मधेसमा तीव्र असन्तुष्टि बढेको छ । यसले पुष्टि गर्छ कि मधेसमा उकुसमुकुस छ ।
जनकपुरका प्राध्यापक डा. भोगेन्द्र झाले भने, ‘मधेसमा मात्र होइन, उत्पीडित हरेक समुदायमा उकुसमुकुस छ । यो जुनसुकै बेला भड्किन सक्छ र यसको संकेत पार्टीकै मधेसी नेताहरूले संसद्मा देखाइसक्नुभएको छ ।’ रास्वपाका सांसद पुरुषोत्तम यादवले संसद्मा पछिल्लो समय दिएको अभिव्यक्तिले धेरै कुराको संकेत गरेको उनले बताए ।
देशभरमै मधेसले रास्वपालाई सबैभन्दा बढी मत दिएको छ । मधेस प्रदेशका ३२ सिटमध्ये ३० सिट रास्वपाले जितेको छ । मतको हिसाबले त ३१ वटा जितेको थियो । मधेसले यति धेरै मत दिँदा पनि त्यसलाई पार्टीले महत्त्व नदिएको गुनासो हुन थालेको छ ।
रास्वपा मधेस प्रदेशका एक नेताले भने, ‘सरकार बालेनका दुई–चार जना साथीले चलाइरहेका छन् भने पार्टी रविको सीमित टोलीले चलाइरहेको छ, बाँकीको काम छैन त्यहाँ ।’ रास्वपालाई मधेस चाहिँदैन भन्ने कुरा चितवनमा सम्पन्न पहिलो महाधिवेशनले पुष्टि गरेको बताउँदै उनले पदाधिकारीमा एक जना मधेसी नआउनु, केन्द्रीय सदस्यमा पनि खुलाबाट नआउनुले पार्टीमा मधेसको स्थान कहाँ छ भन्ने पुष्टि गरेको बताए ।
केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन गर्न बाँकी रहेकाले त्यसमा पार्टीले के निर्णय गर्छ, त्यो हेरेर मात्र कुनै निर्णय लिने ती सांसदले बताए ।
सरकारले अहिले धमाधम नियुक्ति गरिरहेको छ तर मधेससँग सोधपुछ पनि छैन । मधेस प्रदेशका रास्वपाका एक सांसदले भने, ‘सरकारले अहिले विभिन्न निकायमा नियुक्तिहरू गरिरहेको छ तर मधेसका हामीजस्ता नेताहरूसँग एकपटक पनि कुनै विषयमा सल्लाह लिँदैनन् । सोध्न जाँदा प्रतिक्रिया पनि दिँदैनन् ।’
प्रधानमन्त्री बालेन र पार्टीका सभापति रवि लामिछानेको सल्लाहमा मात्र नियुक्ति हुने गरेको बताउँदै उनले विज्ञापन गरेर नियुक्ति गरेको भन्नु भ्रममा पार्ने कुरा मात्र भएको र बालेन तथा रविले जसलाई चाहन्छन्, त्यसैको नियुक्ति हुने दाबी गरे ।
केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन गर्न बाँकी रहेकाले त्यसमा पार्टीले के निर्णय गर्छ, त्यो हेरेर मात्र कुनै निर्णय लिने ती सांसदले बताए ।
चुनावका समयमा रवि र बालेनले मधेसी नेताहरूसँग छलफल गर्थे तर अहिले कुनै प्रकारको सोधखोज छैन । चितवनमा भएको महाधिवेशनमा रवि र बालेनले जसजसलाई टोलीमा ल्याउन खोजे, उनीहरू मात्र आए, अरूको कुनै सोधखोज भएन ।
रास्वपामा शीर्ष नेतृत्वमध्ये एक नेता थिए मनिष झा, तर उनलाई महाधिवेशनबाट फालियो ।
साहित्यकार धिरेन्द्र प्रेमर्षीले भने, ‘लोकतन्त्रमा जित र हार दुवै स्वाभाविक प्रक्रिया हुन् । चुनाव लड्नेहरूमा जित्ने विश्वास जति चाहिन्छ, हारलाई सहजै पचाएर पुनः ऊर्जा ग्रहण गर्ने सामथ्र्य पनि त्यति नै आवश्यक हुन्छ, र त्यो कुरा मनिष झामा देखिएको छ ।’ मनिष झा हारेर पनि जितेको उल्लेख गर्दै उनले महाधिवेशनमा पराजित भएर पनि मनिष झाको अन्य नेताको तुलनामा बढी चर्चा हुनु नै उनको जित भएको बताए ।
चुनाव जितेपछि झा मन्त्री बन्ने लगभग निश्चित थियो । उनले आफैँ चुनावी अभियानका क्रममा ठाउँठाउँमा मन्त्री बन्ने कुरा बताएका थिए । तर उनलाई मन्त्री बनाइएन ।
उनी मात्र होइन, जेनजी आन्दोलनमा योगदान दिएका मधेस प्रदेशका शिव यादव, पुरुषोत्तम यादव र बब्लु गुप्तामध्ये कसैलाई पनि मन्त्री बनाइएन । चुनावका समयमा टिकट लिएर चुनाव जितेकाहरूलाई मन्त्री बनाइएको छ । सिरहा–४ बाट चुनाव जितेका तपेश्वर यादव रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए तर उनलाई पनि मन्त्री बनाइएन ।
मधेस प्रदेशका एक नेताले भने, ‘यी सबै हेर्दा पार्टी कसले चलाइरहेको छ भन्ने पत्तो छैन । हरेक पार्टी कुनै न कुनै प्रणालीबाट चलेको हुन्छ, नीति, नियम र विधानका आधारमा चलेको हुन्छ, तर रास्वपाको आफ्नै ताल छ । एक–दुई जना नेताले जे भन्छन्, त्यही हुन्छ ।’
सरकारले १०० दिन पूरा गरेको छ, तर मधेसमा संगठन पनि बनेको छैन, नेताहरू पनि असन्तुष्ट छन् । यसको अर्थ पार्टीको प्राथमिकतामा मधेस छैन । प्राध्यापक झाले भने, ‘विगतका दलहरूले गरेको भ्रष्टाचार तथा कुशासनप्रतिको आक्रोशको फाइदा रास्वपालाई भएको हो । तर जसले रास्वपालाई मत दियो, आज उसैले पश्चाताप गरिरहेको छ । खासगरी मधेसमा यसको आलोचना भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण