आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महासचिव शंकर पोखरेलाई कति चुनौती ?

गृहजिल्लामा एमालेको विरासत जोगिएला कि गुम्ला ?
सोमबार, १४ चैत २०७८, ०८ : ५५
सोमबार, १४ चैत २०७८

बुटवल । दाङको तुलसीपुर उपमहागनरपालिका वडा नं. १९ हाडिमेमा २०१९ सालमा जन्मिएका शंकर पोखरेल विद्यार्थी राजनीतिबाट निरन्तर अगाडि बढ्दै जाँदा  २०५१ साल दाङ क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा निर्वाचित भएका थिए   । २०६५ सालमा संविधान सभा सदस्य भएका पोखरेल २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीसमेत बन्न सफल भएका थिए । अहिले उनी एमालेको महासचिव बनेपछि केन्द्रीय राजनीतिमा थप चर्चामा छन् । 

३२ वर्षको उमेरमा दाङबाट प्रतिनिधि सभा विजयी भएर चर्चा कमाएका पोखरेलले २०७४ को संसदीय चुनावमा माओवादीसँग तालमेल गरेर   जिल्लाको क्षेत्र नम्बर दुई १ बाट प्रदेश सभामा निर्वाचित हुँदै लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाएका थिए । त्यो उनको विगत थियो । 

अहिले पोखरेल पार्टीको महासचिव छन् भने अर्कोतिर एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्रका रूपमा परिचित पनि छन् । त्यस कारणले उनले पार्टी भित्र धेरै प्रभाव पार्न सक्ने कार्यकर्ताहरूको बुझाइ छ ।

उनै पोखरेल पार्टी महासचिव बन्दै गर्दा एमालेभित्र विभाजन भएको छ भने जिल्लाका दुई ठुला हस्तीहरू एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन् । त्यसको असर वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देखिन सक्ने आंकलन  धेरैको रहेको छ । अर्कोतिर अहिले रहेको सत्तापक्ष गठबन्धन चुनावसम्म मिलेर गएमा शंकर पोखरेलको गृह जिल्ला  एमालेको हालत कस्तो रहला धेरैको चासो बढेको छ ।

यसअघिको निर्वाचनमा पोखरेलसँगै तालमेलमा रहेका माओवादीका कृष्णबहादुर महरा  अहिले सँगै छैनन् । एमालेबाटै प्रतिनिधि सभा जितेका मेटमणि चौधरी र हिराचन्द्र केसी फुटेर माधव नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा छन् । 

जिल्लामा प्रदेश सांसदतर्फ एमालेका पोखरेल र रेवतीरमण शर्मा मात्र छन् । एमालेबाट जितेका भनिएका अमर डाँगीले बीचमै राजीनामा दिएका थिए । अनि नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीले माओवादी केन्द्र रोजिन् । त्यसले दाङमा हुने स्थानीय तहमा एमाले अवस्था कमजोर बनेको आँकलन गर्दै  आ आफ्ना तर्क र अनुमान रहेका छन् । 

जिल्लामा पार्टी अवस्था कमजोर भए पनि पार्टीभित्र एकपछि अर्को गर्दै शक्ति थपिँदै जाँदा शंकरलाई स्थानीय तहबाट नै ठेस लगाउने गठबन्धन दलको रणनीति रहेको छन् ।

नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा पाइला पाइलामा निर्वाचनमा शंकर पोखरेललाई ठेस लगाउने गरी रणनीति बनाएको बताउँछन् ।

 माओवादी र नेपाली काँग्रेस गठबन्धन बन्दा जिल्लाका स्थानीयहरू एमालेको हातबाट आफूहरूले लिन सक्ने दाबी गर्दछन् । केही समय अगाडि त मेटमणि चौधरीले शंकर पोखरेको धरौटी जफत हुने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

नेपाली काँग्रेस जिल्ला सभापति नेपाली काँग्रेस सभापति शंकर डाँगीले  चुनावी तयारी तीव्र पारेको बताए । गठबन्धन कायम रहे एमालेले कुनै सिट ल्याउन नसक्ने दाबी गरे । स्थानीय तह, प्रदेश, संघमा गठबन्धन कायम रहेको अवस्थामा एमाले शून्य सरहमा पुग्ने डाँगीको भनाइ छ ।

नेपाली काँग्रेसले अहिले ३ गाउँपालिका सँगै जिल्लाका २० वटा पोष्टमध्ये ८ वटा जितेको र अहिले यदि नेपाली काँग्रेस एक्लै नै लडे पनि त्यो भन्दा माथि जाने दाबी गरे । 

हामीले संगठन बलियो बनेका छौँ, जनता एजेन्डाहरू लिएर जाने छौँ त्यो बेला हामीलाई स्थानीय, प्रदेश र संघमै जनताले मत दिने छन् । डाँगीले एमसीसीको विषयमा धेरैको धारणा परिवर्तन भएको बताए ।

माओवादी जिल्ला अध्यक्ष सुवास पुनले पनि गठबन्धन भएका सबै सिट आफूहरूको आउने दाबी गरे । उनले एमाले निकै कमजोर भएको दाबी गर्दै माओवादीले अहिले ल्याएको स्थानीय तहमा विकासको काम राम्रो गरेको, शून्य भ्रष्टाचार शैली अपनाएकाले जनतामा थप हौसला वृद्धि भएको दाबी गर्दै यदि एकै चुनावमा गए पनि स्थानीय तहमा आधा सिट ल्याउने गरी रणनीति बनाएको बनाए ।

एमालेको रणनीति 

एमाले चुनावी मैदानमा जानका लागि दैनिकजसो कार्यकर्ताहरू भेटघाट,  अन्तरक्रिया, भेला गरेको छ । अर्कोतिर अन्य पार्टीमा कार्यकर्ताहरू आफ्नो पार्टीमा ल्याउनको लागि एमाले निकै सक्रियता बढाएको छ । दाङ राप्रपा, र जनमोर्चा कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् । 

एमाले दाङ जिल्ला समितिका अध्यक्ष हुकुमबहादुर बस्नेतले एमालेसँग जिल्लामा एक्लै चुनाव लड्न सक्ने आँट अन्य पार्टीको नभएको बताए । उनले एमाले संगठन बलियो बनाएको र अहिले जितेका ठाउँमा पनि राम्रो काम गरेकोले एक्ला एक्कै जिल्लाका सबै स्थानीय तहमा पुर्‍याउने दाबी गरे । 

यदि गठबन्धनको रूपमा आए भने पनि अहिले रहेका एमाले नगर तथा पालिकाहरु जित्ने दाबी गरे । अर्कोतिर महासचिव शंकर पोखरेलले   शानदार रूपमा विजयी हुने बताए । उनले मेटमणि चौधरीले आकाशमा राजनीति गरेको टिप्पणी गर्दै गएको चुवानमा चौधरीको वार्डमा एमाले चौथौँ स्थानमा रहँदासम्म संगठन बलियो बनाउन नसक्ने नेताले शंकर पोखरेलाई चुनौती दिनुको कुनै अर्थ तथ्यसंगत नभएको बताए ।

चौधरीको वार्डमा पहिलो काँग्रेस, दोस्रो माओवादी र तेस्रो मधेसवादी दल रहेको थियो । चौथोमा एमाले बनेको स्मरण गर्दै उनले भने, ‘चौधरीले आफ्नै वार्डमा हरिबिजोग थियो । अहिले अन्यको कसरी संगठन निर्माण हुन्छ त्यहीँबाट प्रष्ट हुन्छ  ।’

शंकर पोखरेल मुख्यमन्त्री हुँदा देशका सबै प्रदेशका अस्थायी मुकाम नै स्थायी राजधानी भए पनि लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि धेरै चर्चा पाउन सफल भएका थिए ।

प्रदेशको राजधानी आफू अनुकूल हुने गरी भालुवाङमा सारेपछि पोखरेललाई एमाले महासचिव बन्न पनि सहज बनेको दाङका एमाले कार्यकर्ताहरूको विश्लेषण छ । मतदातासँग पनि एमालेले जिल्लामा त्यो कार्ड फाल्ने देखिन्छ । दाङ जिल्लामा शंकर पोखरेको सबैभन्दा बलियो पक्ष यसैलाई मानिन्छ ।

जिल्लाको विगत यस्तो थियो 

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । ३ निर्वाचन क्षेत्र बनेको दाङमा गठबन्धनको तर्फबाट तत्कालीन एमालेका हिराचन्द्र केसी, माओवादीबाट कृष्णबहादुर महरा र मेटमणि चौधरी निर्वाचित भए । केसी र मेटमणि एमालेबाट निर्वाचित भएर एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।  

क्षेत्र नम्बर १ बाट चौधरी, क्षेत्र नम्बर २ बाट महरा र क्षेत्र नम्बर ३ बाट केसी निर्वाचित भए । प्रदेश सभाका ६ वटा क्षेत्रमध्ये १ क्षेत्रमा काँग्रेसका डिल्लीबहादुर चौधरीबाहेक अन्य सबै तत्कालीन नेकपाले जित जितेको थियो ।

दुई उपमहानगरपालिकाको अवस्था 

घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका थिए । चौधरी २२ हजार ३ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली काँग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेकै घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०७ मत र माओवादी केन्द्रका शेषराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए ।

 दाङका अन्य गाउँपालिकाहरूको अवस्था 

१. गढवा गाउँपालिका– एमाले (३६७७), माओवादी (३३०४), काँग्रेस (३०३१)

२. घोराही उपमहानगरपालिका– एमाले (२२०३०), काँग्रेस (१७४८४), माओवादी (१२०८२)

३. तुलसीपुर नगरपालिका– एमाले (२२८५७), काँग्रेस (१८९०३), माओवादी (८६९३)

४. दंगीशरण गाउँपालिका– एमाले (३१६१), काँग्रेस (२८४१), माओवादी (२४८५)

५. बंगालचुली गाउँपालिका– माओवादी (३३५२), काँग्रेस (२५१५), एमाले (१६३४)

६. बबई नगरपालिका– एमाले (४२७१), काँग्रेस (३९५९), माओवादी (२५४३)

७. राजापुर गाउँपालिका– काँग्रेस (२३९५), माओवादी (१८५८), एमाले (१७८१)

८. राप्ति गाउँपालिका– काँग्रेस (४७९७), माओवादी (३९४२), एमाले (३५५७)

९. लमही नगरपालिका– एमाले (५१५२), काँग्रेस (५०६९), माओवादी (४०८१)

१०. शान्तिनगर नगरपालिका– काँग्रेस (३८५२), एमाले (२९२४), माओवादी (२८३७)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप