विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

‘शङ्कर पोखरेलसँग बुटवलवासीको गुनासो छ’

बुटवलको सडकमा हिँड्दा कपडा बिग्रन्छन् : काँग्रेस नेता पाण्डेय
आइतबार, २० चैत्र २०७८, ०७ : ५७
आइतबार, २० चैत्र २०७८

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा राष्ट्रिय नेताहरूको अभाव छैन । मुख्यमन्त्री बनेर लामो समय बुटवलमै बसेका नेता शङ्कर पोखरेल अहिले नेकपा एमालेको महासचिव नै भइसकेका छन् । एमाले नेता विष्णु पौडेलकोगृहनगर हो बुटवल । बुटवलकै काँग्रेस नेता बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् । तथापि, नेतै नेता भए पनि बुटवलको धुलाम्मे सडकले भन्छ– घरभरि कपडा बीरे नाङ्गै !

बुटवल उपमहानगरपालिकामा ०७४ को चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेय मेयरमा हारेका थिए । अहिलेसम्म घर नबनाई डेरामै बस्दै आएका यी सादगी काँग्रेस नेतासँग हामीले उपमहानगरपालिकाको अवस्थाबारे सोधखोज गर्‍यौँ ।

उपमहानगरपालिकाका प्रतिपक्षी नेता पाण्डेय एमाले नेतृत्वको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै भने, ‘बुटवल राजमार्गदेखि चिडिया खोलासम्मको सडकमा हिँड्दै गर्दा एकपटकमै सबैका कपडा बिग्रन्छन्  । छेउछाउका सटरहरू भाडामा जाँदैनन् । व्यवसाय छैन । सबै व्यवसाय चौपट भएका छन् । मेयर साहेबले यो विषयलाई लिएर कहाँ–कहाँ डेलिगेसन जान सकिन्छ, कहाँ–कहाँ दबाब दिन सकिन्छ, अन्य दलहरूको साथ पनि लिन खोज्नुभएन, त्यो प्रयत्न गर्नुभएन । यस विषयमा मौन बस्नुभयो । बुटवलवासीको ठुलो गुनासो छ ।’

बुटवलवासीले लुम्बिनी प्रदेशको राजधानीलाई चुनावी मुद्दा बनाउने सङ्केत देखिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलका पालामा प्रदेशको राजधानी यहाँबाट दाङमा सार्ने निर्णय भएको थियो । दाङमा एमालेले राजधानी ल्याएको भन्दै भोट मागिरहेको छ भने बुटवलमा चाहिँ एमालेले राजधानी हटायो भन्दै विपक्षीले एमालेविरुद्ध भोट माग्ने द्वन्द्वात्मक स्थिति देखिएको छ ।

राजधानी सारिएको विषयमा पक्ष–विपक्ष दुबैतिर उत्तिकै बलिया तर्क छन् । एकथरि भन्छन्– प्रदेशको बीच भागमा पर्ने भएकाले दाङमा राजधानी सारिनु ठीक छ । अर्कोथरि भन्छन्– भालुवाङ भन्दा बुटवलमै पूर्वाधार राम्रो छ, बुटवलमै राजधानी राख्दा राज्यको अर्बौँ खर्च जोगिन्छ ।

बुटवलका काँग्रेस नेता पाण्डेयले पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलप्रति गुनासो पोख्दै रातोपाटीसँग भने, ‘शङ्कर पोखरेलजीप्रति हाम्रो बुटवलवासीको आपत्ति छ । बुटवलमा बडो कठिन अवस्थामा ल्याएको लुम्बिनी प्रदेशको राजधानी दाङमा सारेर बुटवललाई सौतेनी व्यवहार गर्नुभयो ।’

प्रस्तुत छ– काँग्रेस नेता पाण्डेयसँग बुटवल उपमहानगरपालिकाको अवस्थाबारे रातोपाटीले गरेको कुराकानी–

सुरुमा यहाँको व्यक्तिगत परिचयबाट कुराकानी गरौँ । तपाईंंको राजनीतिक पृष्ठभूमि खुलाइदिनु न.....

म स्याङ्जाको कालिगण्डकी गाउँपालिका साबिक आलमदेवी कोटाकोटमा जन्मेको हुँ । विद्यालय पाल्पामा पढेँ । काठमाडौँ अस्कल क्यापसमा साइन्स पढेँ । त्यसपछि बुटवल आएँ । बुटवलमा मेरा बुवाले व्यवसाय गर्नुहुन्थ्यो । हाम्रो व्यवसाय गाडी लाइन थियो ।

म अस्कलमा नेविसंघ इकाइ सचिव भएँ । कलेज सकेपछि काँग्रेसको राजनीति लागेँ । बुटवल बसेको अहिले ३२ वर्ष भयो । अहिलेसम्म भाडामै बस्ने गरेको छु । म श्रीमती र छोरा छौँ । छोरो अहिले अध्ययन गर्दैछन् । मेरो सरल जीवनशैली छ ।

राजनीतिलाई सरलरुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ । वीपीको समाजवादलाई व्यावहारिक समाजवाद बनाउनुपर्छ भन्ने मेरो विचार हो । मलाई राजनीति गरेर ठुलो आर्थिक फड्को मारुँला भन्ने छैन । मैले मेयरमा चुनाव जितेको भए पाँच वर्षसम्म घरमा खाना पकाउँदिनँ, तपाईंं जनताकै घरमा खाने भन्ने घोषणा गरेको थिएँ ।

तपाईं यसपालि पनि मेयरको दाबेदार हो?

मेयरमा दाबी छ । मलाई पार्टीले दिने हो, नभए पनि पार्टीप्रति त्यस्तो ठुलो आपत्ति हुने छैन ।

उपमहानगरपालिकाको टिकटका लागि काठमाडौँ धाउनुभएन त ?

म  ६ महिनामा मुस्किलमा  काठमाडौँ जाने गर्दछु । म जनताको घरदैलोमै हुन्छु । चुनाव हारेपछि कुनै दिन खालि बसेको छैन । पराजित भएपछि पनि घरदैलो गरेँ । जनताका कामका लागि हिँडेको छु । लगातार दैनिक ८– १० वटा कार्यक्रमहरूमा हिँडेको छु ।

मेयरमा हारेपछि के भनेर घरदैलो गर्नुभो?

मेरा लागि तपाईंहरुले जिम्मेवारीपूर्वक भोट दिनुभयो, त्यसका लागि सम्मान गर्छु । तपाईंहरूलाई परेका दुःखसुखमा साथ दिनेछु । विकास निर्माणमा सक्ने साथ दिन्छु भनेँ । प्रदेशको राजधानी बुटवलमै राख्नका लागि डेलिगेसन जाने अरू सडक मुद्दाहरू उठाउने काम भयो । बाढीको समस्यादेखि बुटवलवासीका समस्याहरूले बिहानदेखि साँझसम्म अभ्यस्त बनायो ।

पार्टीले यहाँलाई मेयरको साटो प्रदेश या संघीय संसद्‍मा लैजाउँला भन्यो भने यहाँको रोजाई के हुन्छ ?

मेरो रोजाई चाहिँ बुटवल उपमहानगरपालिको मेयर नै हुन्छ ।

तपाईं ०७४ को स्थानीय चुनावमा एमालेसित पराजित हुनुभएको थियो । यसपटक पनि काँग्रेसको नगर सभापतिको हैसियतले टिकटको दाबेदार हुनुहुँदो रहेछ । यहाँको विचारमा बुटवलका प्रमुख मुद्दा वा समस्याचाहिँ के कस्ता छन् ?

बुटवल हिजो लालपूर्जा भएको क्षेत्र होइन । यहाँ विभिन्न जिल्लाबाट आफ्नै हिसाबले व्यवस्थापन भएको सहर हो । कुनै तयारी साथ बनेको सहर होइन । २०१६ सालमा वीपी कोइराला प्रधानमन्त्री हुँदा नगरपालिकाका रूपमा बनेको सहर हो । यसको लामो ऐतिहासिक तथ्य के छ भने १ करोड १० लाख वर्ष अगाडि रामापिथेकसको अस्थिपञ्जर प्राप्त भएको क्षेत्र हो । नेपाल एकीकरण हुनुभन्दा अगाडि यहाँदेखि विराटनगरसम्म दक्षिणतिर भारतको धेरै भूभागमा थियो, पछि सेन राजाहरूले छोराहरूलाई अंश लगाउँदा बिस्तारै खुम्चियो । पछि नेपाल एकीकरणपछि नेपाल राज्यअन्तर्गत आयो ।

नेपाल र अङ्ग्रेज युद्धमा नेपालका दुई ठाउँ सिन्धुली गढी र बुटवल जितगढीको ऐतिहासिक जित भएको ठाउँ हो  । बुटवल देशको मध्य भूभागमा मधेस र पहाडको संगमस्थल, पूर्वपश्चिम क्षेत्रको संगमस्थल र भारतको नाकाका रूपमा व्यापारिक महत्त्वको ठाउँमा छ ।

२००७ सालको क्रान्तिको बेलामा भैरहवामा केआई सिंह लड्नुभएको थियो । मर्चवार क्षेत्रमा आश्रयस्थल क्याम्प बनाएर धेरै यो भूभागका मानिसहरू मोर्चामा लडेका थिए । २००१ सालमा नेपाली काँग्रेसको स्थापना हुनु भन्दा अगाडि जेल तोडेर गणेशमानजी बुटवल आएर बस्नुभएको थियो ।

यी त भए बुटवलमा ऐतिहासिक तथ्यहरू, अहिले चाहिँ बुटवलको अवस्था  के छ?

बुटवल देखिँदा यस्तो राम्रो सहर देखिन्छ, तर यसभित्र धेरै पीडा छन् ।  बुटवलको मूल मुद्दा सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या नै हो । बुटवलको मुख्य बजारमा अहिले पनि जग्गाको लालपूर्जाको समस्या छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा अस्पताल लाइनदेखि चाँदबारी चोकसम्म मेरै पहलमा लालपूर्जाको टुङ्गो लागेको हो ।

बुटवल झण्डै १६ जिल्लाको मुख्य नाका हो । प्यूठानदखि कास्कीसम्म र बाग्लुङसम्म पहाडी क्षेत्रको बजार नाका हो । भारततिरका धेरै ठाउँहरूको  पनि व्यापारिक नाका हो । बुटवल देशको सबल आर्थिक नाका बन्न सक्छ । जसरी भारतको राजधानी दिल्ली छ र आर्थिक केन्द्र मुम्बई छ, त्यस्तै बुटवल पनि देशको ठुलो केन्द्र बन्न सक्ने छ ।

अहिले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । योभन्दा अर्को महत्त्वपूर्ण, बुटवल–रानीघाट कालिगण्डकी प्रोजेक्ट बाग्लुड–मुस्ताङ्ग गरेर कालीगण्डकी करिडोर बन्दैछ । यसबाट ८ घण्टामा मुस्ताङ्ग पुग्ने बाटो खुल्नेछ । यो कालिगण्डकी छेउ किराना भएका बस्तीहरू अत्यन्तै राम्रा र सुन्दर र बजारीकरण भएका बस्तीहरू छन् । त्यहाँको व्यापार बुटवलसँग निर्भर छ । बुटवलले देशको आर्थिक विषयमा धेरै ठुलो परिवर्तन ल्याउन सक्छ । त्यसैले बुटवलको हेर्ने दृष्टिकोण साझा बुटवलको रूपमा हेरियो भने बुटवलको विकास हुन सक्छ ।

बुटवलको इतिहास होइन, वर्तमान कुरा गरौँ । रुपन्देहीबाटै उदाएका धेरै नेता केन्द्रमा पुगेका छन् । बालकृष्ण खाँण, विष्णु पौडेल, घनश्याम भुसाल, दीपक बोहोरा आदि नेताहरू जन्माएको सहरको मुख्य बजारको सडक त हरिबिजोग देखियो नि ?

केन्द्रबाट आएको विकास स्थानीय तहको सरोकारमा चाँडो बन्ने र नबन्नेमा भर पर्छ  । बुटवलको हकमा यहाँको नेतृत्वले यहाँका परियोजनामा केही समस्या छन् भने सबैलाई समेटेर छलफल गर्न खोजेको देखिँदैन । मैले यहाँ पुरानो स्मरण गराउन चाहन्छु–

मेयरको चुनावमा म पराजित भएपछि दुई घण्टा जति पर्खेर विजेतालाई बधाई दिएँ । राति निकै ढिलो भएकाले बजार खोल्न लगाएर मैले माला किनेर लगाइदिँदै उहाँलाई बधाई दिएको थिएँ । अनि मैले ५ वर्षसम्म प्रतिपक्षमा संंमयमताका साथ बस्छु, तपाईंंले गर्ने हरेक कामलाई गुण र दोषका आधारमा बोल्छु भनेको थिएँ ।

हामी यसबीचमा नगरपालिकाको विरोध गर्न खासै डेलिगेसन पनि गएनौँ । यति सहज वातावरण तयार भएको थियो । तर, उहाँले कुनै दललाई  समेटेर कहिल्यै चिया खान पनि बोलाउनुभएन । हामीले माला लगाइदिएर उहाँलाई सम्मान गर्‍यौँ । राम्रा काम गरेर बुटवललाई समृद्धितर्फ लैजाने, श्रीवृद्धि गर्ने, विकास गर्ने क्रममा सहयोगात्मक भावना रहन्छ भन्यौँ । एक पैसा बुटवलका लागि जहाँबाट आए पनि बुटवलको सम्पत्ति मान्नेछौँ भन्यौँ ।सबैलाई समेटेर लैजानुहोस् भन्ने गरेका छौँ । तर, मलाई जानकारीमा आएसम्म बुटवलमा कुनै नेपाली काँग्रेसको नेतालाई प्रमुख अतिथिका रूपमा बोलाएको मलाई जानकारी छैन ।

गृहमन्त्री बालकृष्ण खाँणको पनि बुटवलका आधा भाग उहाँको निर्वाचन क्षेत्रमा पर्छ । तर, यहाँका मेयर साहेबले बालकृष्ण खाँणलाई एउटा कार्यक्रममा बोलाएको मलाई जानकारी छैन । अरू नेपाली काँग्रेस नेताहरूलाई बोलाएको जानकारी पनि छैन । यस्तो पूर्वाग्रहबाट कसरी चलाउन सकिन्छ ? मैले अलि धेरै बोलेजस्तो होला, उहाँको आफ्नै पार्टी एमालेका पूर्व मेयर भोजप्रसाद श्रेष्ठलाई समेत कार्यक्रममा बोलाउनुहुँदैन ।

हामीले सोध्न खोजेको, बुटवल उपमहानगरभित्रका समस्याहरू के कस्ता छन् ?

बुटवलमा धेरै समस्या छन् । सकुम्बासी र अवस्थित बसोबासीका समस्या मुख्य छन् । केही न केही हकमा यो समस्या समाधान गर्ने उपाय मसँग पनि थिए । तर, सुकुम्वासी समस्यालाई जस्ताको त्यस्तै राख्न खोजियो । तिनाउ–दानव नदी कोरिडोर बन्दा नदी किराना रहेका झन्डै १५ सय घरहरू विस्थापित हुने अवस्था हुन्छ । उनीहरूको बसोबासको उचित व्यवस्थापन नगरी त्यो सडक बन्ने अवस्था छैन । तर, त्यसको व्यवस्थापनको सरसल्लाह राजनीतिक दलहरूसँग गरिएको छैन ।

अर्को– मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्दा झन्डै १ हजार बिघा जग्गा चाहियो भनियो । हामीले १ हजार बिघा जग्गा पुर्‍याउँला तर त्यहाँ लालपूर्जा भएका किसानहरू र २०२६ सालदेखि हकभोज गर्दै आएका अन्य किसानहरूको जग्गा त्यसै छुन पाइँदैन । बरु जग्गा कम भयो भने स्मार्ट औद्योगिक क्षेत्र निर्माण गरौँला, तर लालपूर्जा भएका र २०२६ सालदेखि हकभोक गरेका मानिसहरूको जग्गा खोस्न लागियो भने त्यो अभिशाप हुन्छ । त्यसरी त्यहाँ औद्योगिक क्षेत्र बन्न सक्दैन, द्वन्द्व उत्पन्न हुन्छ  । तर, विष्णु पौडेलले यो विषयलाई मनन गर्नुभएन, हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा त्यहाँ विवाद भयो । द्वन्द्व भयो ।

उपमहानगरभित्रको सडकको अवस्था  पनि अति नै धुलाम्मे देखियो नि ? यस्तो किन भएको ?

बुटवल राजमार्गदेखि चिडियाखोलासम्मको सडक हिँड्दै गर्दा एकपटकमै सबैका कपडा बिग्रन्छन्  । छेउछाउका सटरहरू भाडामा जाँदैनन् ।  व्यवसाय छैन । सबै व्यवसाय चौपट भएका छन् । यहाँको मेयर साहेबले यो विषयलाई लिएर कहाँ–कहाँ डेलिगेसन जान सकिन्छ, कहाँ–कहाँ दबाब दिन सकिन्छ, अन्य दलहरूको साथ पनि लिन खोज्नु भएन । त्यो प्रयत्न गर्नुभएन । यस विषयमा मौन बस्नुभयो । यसमा बुटवलवासीको ठूलो गुनासो छ ।

बुटवलको बेसवासबाट मोतिपुर अमुवा हुँदै भैरहवा विमानस्थलसम्म पुग्ने सडक छ । पुरानो नहरको साइटमा सुन्दर सडक बन्दैछ । त्यसका लागि पर्याप्त बजेट नहुँदा दुई–तीन वर्षदेखि त्यहाँका जनताले सास्ती व्यहोर्नुपरेको छ । त्यो बाटो पूरा गर्नका लागि पहल गर्नुपर्छ । अर्को, बुटवलको सेकेन्ड हाइवे कालिकापथ सडक तयार हुन निकै ढिला भएको छ, त्यो समस्या समाधान गर्नका लागि हामीले मुद्दा उठाएका छौँ ।

बुटवलका साना व्यवसायी, हाटबजार, ठेला व्यवसाय र  ई–रिक्सा व्यवस्थापन गर्न सकिएको छैन । साना व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर कुटपिट गर्ने काम भएको छ ।  साना व्यवसायीहरूलाई  संरक्षण  गरेर लैजानुपर्ने  हो ।  एकमुठा साग बेच्ने आमालाई चोकमा प्रहरीले खोस्दै गर्दा कस्तो देखिन्छ ?

बुटवलमा बाढी–पहिरोको समस्या चाहिँ छैन ?

अहिले बुटवलमा अर्को विपत् परेको चुरे पहाडमा अवस्थित ज्योति नगरको पहिरो हो । त्यो पहिरो जाँदा झन्डै साढे तीन सय घर विस्थापित हुने अवस्था छ । ती घर विस्थापित भए भने बुटवलको मूल बजार सङ्कटमा पर्छ । त्यसकारण बुटवलको चुरे पहिरो नियन्त्रणको अल्पकालीन र दीर्घकालीन उपायहरू हाम्रा कुराले तर्कले होइन, विज्ञ समूह ल्याएर उहाँबाट के सल्लाह आउँछ, त्यसको उपाय खोज्नुपर्छ ।

चुरे राष्ट्रपति अभियानबाट १ करोड रुपैयाँ निकासी भएको छ । ४ करोड थप माग गरेर  पठाइएको छ । त्यो सामान्य छेकवारका लागि मात्र हो । ठूलो रकम नभइकन हुँदैन । किनकि, एउटा पहाड नै व्यवस्थित गर्नुपर्ने अवस्था छ । तर, यो शीर्षकमा यो खर्च गर्न सकिन्छ भनेर एकिन अध्ययन आएको छैन । हामीले मुख्यमन्त्रीलाई ध्यान आकर्षण गराएका थियौँ । यो समस्या अहिले बर्खासम्म रह्यो भने अझै ठूलो समस्या बन्न सक्छ, म त्यसबारे अझै धेरै चिन्तित छु ।

तपाईंंले यस्तो भन्दै गर्दा उही प्रश्न दोहोरिन्छ, शंकर पोखरेल, विष्णु पौडेल, बालकृष्ण खाँणजस्ता नेताहरू बसेको सहरमा किन विकास हुन सकेन?

शंकर पोखरेलजीप्रति हाम्रो बुटवलवासीको आपत्ति छ । बुटवलमा बडो कठिन अवस्थामा ल्याएको लुम्बिनी प्रदेशको राजधानी दाङमा सारेर बुटवललाई सौतेनी व्यवहार गर्नुभयो । उहाँप्रति यहाँका एमालेको पनि आक्रोश छ ।

यहाँका मेयर साहेबले पनि शंकर पोखरेलसँग नजिक भएका कारणले राजधानी सार्दा कुनै प्रतिक्रिया दिनुभएन । मैले यस क्षेत्रका सांसदहरु लगेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ डेलिगेसन गएको थिएँ । देशका ६ वटा प्रदेशका राजधानी जहाँ छन् त्यहीँ तोकिने तर शंकर पोखरेलले चाहिँ दाङ लैजानुपर्ने ?बुटवलमा राजधानी सबै कुराले सहज थियो । संघ संस्थाहरूले   भवन निःशुल्करुपमा दिएका थिए । यसलाई शंकर पोखरेलले गलत ढंगले लैजानुभयो ।

एमाले नेता विष्णु पौडेलको भूमिका नि?

विष्णु पौडेल कुनै पनि मानेमा, कसैको तागतले प्रदेशको राजधानी सार्न सक्दैन भन्नुहुन्थ्यो । तर,राजधानी जाँदा एक शब्द पनि बोल्नुभएन, यो बुटवलवासीलाई निकै गढेको छ । बुटवलका मेयरले पनि कुनै प्रतिक्रिया दिनुभएन । एकदिन पनि विरोधमा आउनुभएन । प्रदेश राजधानी सार्नको लागि मेयर साहेवको पनि मिलेमोतो छ ।

प्रदेशको राजधानी बुटवल बाहिर लैजानै हुँदैन भन्नु त अलि क्षेत्रीयतावादी सोच भएन र ?

सबैले राजनीतिलाई आफ्नो ठाउँमा प्राथमिकता दिने गर्छन् । त्यसरी हेर्ने हो भने काठमाडौँ भन्दा सेन्टर अन्त पनि राजधानी बनाउन पर्ने हो । बुटवलमा बुद्धजन्मस्थल अन्तर्राष्ट्रिय विमानस्थल नजिक छ । बुटवल भौतिक पूर्वाधारको दृष्टिकोणले करिब करिब पूर्ण छ । दाङमा धेरै खर्च गर्नुपर्ने हुन्छ । त्यो खर्च अन्य विकास निर्माणको काममा लगाउन सकिन्छ भन्ने हाम्रो धारणा हो । नाका पनि सुगम छ । अर्कोतिर, बुटवल पहाड र मधेसको संगमस्थल पनि हो । देशभरि ७ वटा राजधानी पहिला सरकारले तोकेकै कायम हुने, तर बुटवल मात्र नहुने भएको छ, दाङप्रति हाम्रो कुनै पूर्वाग्रह होइन ।

तपाईं दाङमै जन्मेको भए यस्तो भन्नुहुन्थ्यो ?

तपाईं आफ्नो हिसाबम बुझ्नोस् । यो स्थानीय मुद्दा भनेको मानिसको भावनासँग जोडिएको हुन्छ । मैले धेरै तर्क गर्नुभन्दा आफ्नो हिसाबले बुझ्नोस् ।

फेरि पनि उही प्रश्न– ठूला नेता भएको ठाउँमा किन विकास भएन त?

बुटवलको विकास  अलि फरक छ । यहाँ पब्लिक–प्राइभेट–पार्टनरशीप (पीपीपी) मोडलमा काम हुन्छ । नगरपालिकाले ३० प्रतिशत दिने अनि७० प्रतिशत जनताको सहभागितामा यहाँ सडक बनेका छन् । अन्य ठाउँमा यस्तो कमै हुन्छ । जनसहभागितामा यहाँका सडक निर्माण भएका हुन् । तात्कालिक नेपाली काँग्रेसका तर्फबाट सूर्यप्रसाद प्रधान मेयर बन्दा सबै ठाउँमा जनताको सहभागिता पुर्‍याउने उद्देश्यले त्यो विधि बनेको हो । आफ्नो घर अगाडि सडक बनाउनुपर्‍यो भने ३० हजार नगरपालिको जान्छ,७० हजार जनताको जाने गरेको छ । जनताको लगानीमा यसैगरी बाटो, खानेपानी र विद्युतीकरण भएको छ ।यस्तो अवस्थामा बुटवलले फड्को मार्न सकेको छैन । बुटवल साँघुरिँदै आएको छ ।  म नगर  विकासको अध्यक्ष हुँदा १२ वटा परियोजना अगाडि सारेको थिएँ ।

बुटवलमा नयाँ बसपार्क चाहिन्छ, अहिले बसपार्क साँघुरिँदै गएको छ ।बस, ट्रक बाटामा छताछुल्ल पार्किङ गरेर राखिएको छ ।  नयाँ ट्रान्सपोर्ट सिटी, नयाँ कृषिमण्डी र अटो भिलेज चाहिएको छ । गल्लामण्डी, अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनेर मैले झन्डै साढे दुई सय बिघा जग्गा मागेको थिएँ । संस्थाहरू लगानी गर्न पनि लगभग तयार भएका थिए । त्यसमा खालि अन्तर्राष्ट्रिय क्रिकेटका लागि मात्र सरकारले लगानी गरे हुने थियो । तर, हामीले जग्गा प्राप्त गर्न सकेनौँ। बुटवलमा धेरै योजनाहरू अधुरै रहे ।

अब बुटवलको विकासका लागि महानगरको अवधारणामा लैजानुपर्छ भन्ने  विषय छ । पाल्पाको भुस्मादेखि सुनौली बोर्डरसम्म बुटवल महानरपालिका बनाउनुपर्छ । यसो गर्दा प्रशासनिक खर्च कम हुन्छ । १५ वटा यस्ता इकाई छन्, जो एउटै गर्न सक्छ । यसो गर्दा प्रशासनिक खर्च घट्ने विकासको बजेट बढेर जान्छ ।अर्को, बुटवलले ठूलो छाती बनाउनुपर्छ । बर्दघाटदेखि चन्द्रौटासम्मको एरियालाई मेघासिटीका रूपमा विकास गर्नुपर्छ ।सानो सिमानामा बसेर बृहत्तर बुटवल हुन सक्दैन ।

यहाँ छाडा चौपायाको पनि समस्या छ । छाडा चौपाया  नियन्त्रणका लागि शिवपुरदेखि दाङको सिमानासम्म जग्गा प्राप्त भयो भने  काम गर्न सकिन्छ ।मैले यसबारे प्रदेश सरकारमा कुरा उठाएको छु । जति पनि स्थानीय तहले छाडा चौपायाका लागि खर्च गर्छ,त्यसलाई एकै ठाउँमा खर्च गरेर सबै छाडा चौपायाहरू एकै ठाउँबाट नियन्त्रण गर्नुपर्छ ।

हिजो छाडा चौपाया व्यवस्थापन गर्ने नामका  कतिपय स्थानीयहरूले ठेकेदारलाई जिम्मा दिने र ठेकदारले बंगलादेश पुर्‍याउने काम गरेका थिए । बुटवलले पनि त्यसै गरेको थियो । त्यसका विरुद्ध हामीले धर्नासमेत बस्नुपरेको थियो ।अहिले देवदह, भुलहीमा  साढे ४ सय छाडा चौपाया पालेका छौँ । हामीले धार्मिक मान्छेबाट आर्थिक सहयोग उठाएर काम गरेका छौँ । कहिलेकाहीँ नगरपालिको सामान्य सहयोग रहन्छ ।

धेरै स्थानीय तहमा भ्रष्टाचारको विषय उठेको छ । बुटवलको अवस्थाचाँहि के छ ?

भ्रष्टाचारका विभिन्न मुद्दाहरू उठेका छन्, त्यसले बाहिर नराम्रो सन्देश गयो, यसलाई रोक्नुहोस् भनेर हामी डेलिगेसन गएका छौँ । अहिले चुनावको मुखमा पार्टीगत रूपमा एमालेले पिकनिक जानेलाई समेत रकम छुट्टाएको छ । धेरै विकृति छन् । सडकको गुणस्तरको, अन्य बजेटको कुरा हामी छानबिनमा नै छौँ । तथ्यगतरुपमा विभिन्न विषयहरू हामी बाहिर ल्याउनेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप