शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘काम नगर्ने दलका घोषणापत्र किन पढ्ने ?’

निःशुल्क शिक्षा भनेर विद्यार्थी किन ढाँटेको ?
मङ्गलबार, १३ वैशाख २०७९, ०६ : ४७
मङ्गलबार, १३ वैशाख २०७९

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सबै दलहरूले घोषणापत्रमा ठुल्ठुला सङ्कल्प गरी जनमत जुटाउने जमर्को गरेका छन् । तर दलहरूको महत्त्वाकाङ्क्षी घोषणापत्रले सर्वसाधारणलाई तानेको छैन । किनकि जित्ने पुराना दलहरूले अघिल्लो चुनावको घोषणापत्रमा जनाएका प्रतिबद्धता कार्यान्वयन गरेनन् । यता वैकल्पिक रूपमा आएका नयाँ राजनीतिक दलहरूलाई जनताले स्पष्ट रूपमा विश्वास गर्न सकेका छैनन् । घोषणापत्रकै विषयमा के भन्छन् त आम मतदाता ? 

काममा खै प्रतिस्पर्धा ?
मैते लामा, चालक
ललितपुरका स्थानीयवासी मैते लामा पेशाले ड्राइभर हुन् । छुट्टीको समय बिताइरहेका लामा ललितपुर पाटन ढोका छेउको चौतारीमा शितलमा रमाउँदै गरेको अवस्थामा भेटिए । उनलाई दलहरूको घोषणापत्र कस्तो लाग्यो भन्ने हाम्रो प्रश्न सुन्ने बित्तिकै झर्किए । भन्छन्, ‘दलहरूमा घोषणापत्र बनाउने कुरामा मात्रै प्रतिस्पर्धा छ, काममा छैन । हरेक दलमा उसको भन्दा हाम्रो घोषणापत्र राम्रो हुनुपर्छ भन्ने मात्रै छ । यही प्रतिस्पर्धा विकास निर्माणको काममा हुन्थ्यो भने देशको कति विकास हुन्थ्यो ।’ 

चुनाव हुने कुरामा लामा निकै सकारात्मक छन् । सरकार चलाउन चुनाव एक प्रक्रिया हो र हरेक पाँच वर्षमा नेता चुन्न पाउने जनताको अधिकार हो  । मन परेको उम्मेदवारलाई भोट हाल्ने हो । स्थानीय सरकार बनेपछि पहिलेको तुलनामा केही राम्रो भएको हो । अहिले धेरै जुलुस छैन तर सोचे अनुरूप गर्न सकेनन् । दलहरू स्वार्थी भएर निस्के, राज्य सञ्चालन राम्रो गर्न सकेनन् । गुट र उपगुटले गर्दा पनि कामभन्दा धेरै राजनीति भयो । एकले अर्कोलाई खुइल्याएर अगाडि जाने प्रवृत्तिले राजनीतिलाई दूषित बनाएको उनको भनाइ छ । 

महत्त्वाकाङ्क्षी बनाउने होडवाजी

लालचन्द्र लम्साल, शिक्षक

पढाउने काम सकाएर घरतिर जाँदै गरेका काभ्रेका शिक्षक लालचन्द्र लम्साल पाटन क्याम्पसको गेटमै भेटिए । घोषणापत्रबारे प्रश्नमा उनले दलहरूले घोषणापत्र स्रोतसाधनले नै नभ्याउने महत्त्वाकाङ्क्षी बनाउनाले परिणाम राम्रो नआएको बताए । 

लम्साल भन्छन्, ‘घाँटी हेरेर हाड निल्नुपर्छ । लोकप्रिय बन्ने महत्त्वाकाङ्क्षा राख्ने नेपालको नेताहरूको गुण नै हो । कुनै परियोजना निर्माणको लागि बजेटको जोहो गर्न सकिन्छ, सकिन्न ? विचार नगरी मनमा लागेको कुरा घोषणापत्रमा बोल्दियो, सकियो । पहिले ठुला गफ छाँट्ने, पछि पुरा गर्न सक्दैनन् । केही गरिएका प्रतिबद्धता पुरा हुन सक्छन् तर सोच नै सही छैन । दीर्घकालीन योजनाविना पार्टीमा कार्यकर्ताको भरणपोषण गर्ने परिपाटी बढी छ ।’

स्थानीय स्तरमै योजना आयोग हुन आवश्यक रहेको लम्सालको भनाइ छ । कुन ठाउँमा कस्तो विकासको मोडल बनाउन उपयुक्त हुन्छ भनेरै स्थानीय सरकार बनेको हो नि । गाउँमा कतिपय ठाउँमा लाखौँ खर्च गरेर बनाएको बाटो उपयोगविहीन छ । देशले भिजनरी नेतृत्व पाएको छैन । मल्टीपार्टी सिस्टममा राजनीति यस्तै डामाडोल नै रहन्छ । जनतालाई भेडा बनाउने, कुरा मात्रै गर्ने गफैको भरमा नेता बन्ने खोज्ने । एउटा काम गर्‍यो भने बीसौं वर्ष त्यही काम भजाएर नेता बनिरहने परिपाटी रहेको उनको आरोप छ । 

आफ्नो पार्टीले जे गरेपनि राम्रो देख्नेहरु छन् । विपक्षीले राम्रो गरेपनि स्वीकार गर्न सक्नुपर्‍यो । तर, त्यो खालको संस्कार छैन । नेताको गल्तीलाई ढाकछोप गर्ने काम गर्नु हुँदैन । राम्रो नराम्रो कामको मूल्याङ्कन हुने दिन मात्र नेतृत्व राम्रो आउने लम्सालको जिकिर छ । 

निःशुल्क शिक्षा भनेर विद्यार्थी किन ढाँटेको ?

खेमराज धमला, विद्यार्थी

ललितपुरको इन्जिनियरिङ कलेजको गेटमा भेटिए कैलालीका खेमराज धमला  । सिभिल इन्जिनियरिङका १९ वर्षीय विद्यार्थी धमलालाई दलहरूको घोषणापत्रमा निःशुल्क शिक्षा भनेर विद्यार्थी ढाँटेको कत्ति मन परेको छैन । उनी भन्छन्,‘निःशुल्क भनिएको स्कुल कलेजमा आधा पैसा तिर्नुपर्ने बाध्यता छ । घोषणापत्रमा शिक्षा निःशुल्क भन्छन् तर शिक्षा सहज छैन ।’ घोषणापत्रमा भन्नु र व्यवहारमा गर्नु फरक कुरा रहेछ भन्ने उनलाई लागेको छ । 

धमलाको भनाइ छ, हामीले विज्ञ विद्वान् मान्नेहरूले नै झुट कुरा गर्ने रहेछन् । मेट्रो रेल खै ? पानीजहाज ल्याउने भन्ने भुपरिवेष्ठित देशमा ? के कुरा सम्भव छ वा छैन भन्ने ज्ञान नै नभएको हो कि बोल्दिदैमा के जान्छ र भन्ने लागेको हो ? गर्नै नसक्ने कुराहरू उल्लेख गरिरहेका हुन्छन् । हामी सामान्य मान्छेलाई नै उपयुक्त नलाग्ने कुरा घोषणापत्रमा लेख्छन् । 

कहिलेकाहीँ धमलालाई राजनीतिमा झुट कुरा मान्य हुने रहेछ जस्तो पनि लाग्ने रहेछ । दीर्घकालीन योजना नेताहरूमा छैन । नेपालमा असल राजनीतिक संस्कारको विकास हुन केही समय लाग्ने उनको भनाइ छ । आशा देखाएर मात्र हुँदैन, पैसाको अभावमा सक्षम विद्यार्थीले आफूले चाहेको सङ्काय पढ्न नपाउने स्थितिको अन्त्य हुनुपर्ने उनको माग छ । 

दलहरूले सङ्कल्प पुरा गरेनन्

अशोक भण्डारी, टेक्निसियन

गोरखाका अशोक भण्डारी पेशाले टेक्निसियन हुन् । बिहानको समयमा डिउटी गर्ने उनी दिउँसो पाटनढोकामा भेटिए । घोषणापत्रको बारेमा जिज्ञासा राख्दा उनले काँग्रेस, एमाले र माओवादी ठुला पार्टीले घोषणापत्र धेरैपटक ल्याएको तर सङ्कल्प पुरा गर्न नसकेको बताए । भन्छन्, ‘ठुला भनिएका दलबाट पनि जनताले आशा गर्नु बेकार लाग्यो । देशको ढुकुटी सक्नेदेखि देशै बेचेर सकाए । जनतालाई आशा देखाउने बाहेक अरु काम गर्न सकेनन् ।’ 

मुलुक जसले आर्जेको हुन्छ, त्यसलाई माया हुने रहेछ, यो पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो । हिजो सडकमा खाली खुट्टा दौडिएकाहरुलाई देशको माया नभएको भण्डारीको बुझाइ छ । राजनीति गरेकै भरमा आज आलिशान महल, विश्व बैंकमा अरबौं जम्मा गरेका छन् । भोलि देशमा कुनै संकट आएमा यी नेताहरू विदेश पलायन हुने उनी दाबी गर्छन् । 

भ्रष्टाचार रोक्ने घोषणापत्र खै ?

राघव गुप्ता, विद्यार्थी

पश्चिम नवलपरासी, बर्दघाटका राघव गुप्ता ललितपुर पाटनगेटमा साथीलाई पर्खिरहेको अवस्थामा भेटिए । भारतबाट इन्जिनियरको कोर्स सकाएका उनी मास्टर्सको छात्रवृत्तिको लागि भारतीय दुतावासमा निवेदन दिन आएका रहेछन् । जागिर पनि खोजिरहेका उनले स्थानीय निर्वाचन र घोषणापत्रका कुरा उप्काउँदा दिक्क माने । 

शिक्षालाई हरेक राजनीतिक दलहरूले प्राथमिकतामा राखेका छन् । तर हरेक प्लस टु सकेको विद्यार्थी किन आइएलटिस गर्न कन्सल्टेन्सी धाइरहेको छ त ? जिआरइ गरेर विद्यार्थी किन बाहिर गैरहेका छन् ? भन्दै उल्टै प्रश्न गरे । 

नेता आउने भनेको जनताबाटै हो । तर त्यही जनताले नेतालाई गाली गर्ने चक्र वर्षौं चलेको देख्दा उनलाई राजनीतिबाट परिवर्तन हुने आशा छैन । यो देशमा फेडेरल सिस्टम नै राम्रो छैन । फेडेरल सिस्टम अमेरिका, भारतमा सफल छ, यो देश सानो भएकाले असफल भयो । जति सानो–सानो सरकार बन्दै जान्छ, त्यति नै भ्रष्टाचार बढ्दै जाने र देश झन् अस्थिरताको बाटोमा जाने उनी बताउँछन् । भ्रष्टाचार नरोकिएको उनको चित्त दुःखाइ छ । 

कुनै दलको घोषणापत्र पढेको छैन

माइकल श्रेष्ठ, ह्याण्डीक्राफ्ट व्यवसायी

युनएन पार्कतिर साइक्लिङ गरेर पाटनढोका नजिक रहेको चौतारीमा शीतल खाएर बसिरहेका थिए माइकल श्रेष्ठ । ललितपुरका ह्याण्डीक्राफ्ट व्यवसायी उनी भारत, चीन र अमेरिका लगायतका देशहरूमा आफ्नो हस्तकलाका सामान निर्यात गर्छन् । उनले कहिले पनि कुनै दलको घोषणापत्र नपढेको बताए । तर कुन दलले के काम गर्‍यो के गरेन भनेर समाजबाटै बुझ्ने गरेको जनाए । भन्छन्, ‘जनता आफै पनि केही काम नगर्ने, खाली नेताको पछि लागेर हिँड्छन् । जनता आफै भेडा बन्न रुचाएपछि नेता त बिग्रिहाल्छ । काम गरेर मिहिनेत गरेर आर्जन गरौँ भन्ने कसैलाई छैन ।’

यो देशमा मिहिनेतको कमाइ गर्ने मान्छे थोरै छन् । जस्तो जनता त्यस्तै नेता छन् । हरेक योजना परियोजनामा नेताले भ्रष्ट्राचार नगरेको कुनै निकाय नै छैन । सानो सानो काममा घुस खाने चलन छ । पाँच वर्ष यिनै नेता र दललाई गाली गर्‍यो भोलिको चुनावमा भोट हाल्ने फेरि यिनैलाई हो । त्यही भएर कुनै पनि नेतालाई गाली गर्ने मनसाय नभएको उनको जिकिर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप