मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र जसपाको भिडन्तमा राजावादीको इन्ट्री

पत्रकारिता कि बुवाको विरासतले फाइदा होला गिरीशलाई ?
मङ्गलबार, १३ वैशाख २०७९, १६ : ३३
मङ्गलबार, १३ वैशाख २०७९

बीबीसीका पत्रकार रवीन्द्र मिश्रले जागिर छाडेर राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीति निकै तरङ्गित भएको थियो । समाजका लागि सेलिब्रेटी रहेका मिश्रलाई लागेको थियो, राजनीतिमा पनि समाजले आफूलाई त्यही रूपमा स्वीकार गर्ला तर त्यस्तो भएन । पत्रकारितामा पाएको मान सम्मान र ओहदालाई उनले राजनीतिमा ‘क्यास’ गर्न सकेनन् । 

अहिले मिश्रले सुरुमा चर्चा पाए जस्तै चर्चा पाएका छन् पत्रकार गिरीश गिरीले । विभिन्न सञ्चारमाध्यममा काम गरेका पत्रकार गिरी अहिले राप्रपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा उनले निकै राम्रो ‘रेस्पोन्स’ पाइरहेका छन् ।

वीरगञ्ज महानगरपालिकामा यसअघि मेयरको उम्मेदवारमा एमालेबाट विजय सरावगी र जसपाबाट राजेशमान सिंह मात्रको चर्चा थियो । गिरीशको ‘इन्ट्री’ ले एकाएक उनी पनि ‘हेभिवेट’ उम्मेदवारको लहरमा देखिएका छन् । वीरगञ्ज महानगरपालिकाका मतदाताले उनलाई अर्को विकल्पको रूपमा पाएका छन् । 

मधेस प्रदेशको एक मात्र महानगरपालिका र नेपालकै प्रमुख नाका वीरगञ्ज महानगरपालिकाका मतदातालाई दुई दलबाहेक अर्को ‘च्वाइस’ थिएन । गिरीश आएपछि महानगरपालिकाका मतदाताले नयाँ स्वाद चाख्ने मौका पाउने भएका छन् । यद्यपि उनलाई चुनाव जित्न भने सहज छैन । वीरगञ्जलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार चन्द्रकिशोर भन्छन्, ‘वीरगञ्जका मतदाताले एउटा नयाँ चेहरा पाएका छन् । तर मतदाताले कति ‘एक्सेप्ट’ गर्छन्, त्यो हेर्न बाँकी नै छ ।’

चर्चित पत्रकार एवं लेखक गिरीशको साथमा उनका बुवा गोपाल गिरीको विरासत पनि छ । गिरीशलाई राष्ट्रले एउटा पत्रकार तथा लेखकको रूपमा चिनेको छ भने वीरगञ्जले गोपाल गिरीको छोराको रूपमा पनि चिनेको छ । 

सुरुदेखि पञ्चायती व्यवस्थाको हिमायती गोपाल गिरीलाई २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारले वीरगञ्ज नगरपालिकाको मेयरमा मनोनीत गरेको थियो । मेयर भएको ६ महिनापछि माओवादी कार्यकर्ताले उनको हत्या गरे । हत्यापछि गिरी परिवारप्रति स्थानीयको सहानुभूति बढ्यो । 

हुन त मेयरमा मनोनीत हुनुभन्दा अघि पनि गोपाल गिरी तत्कालीन वीरगञ्ज नगरपालिकाको वडा नम्बर १२ र अहिलेका ९ नम्बर वडाको अध्यक्षमा पटक–पटक विजयी भएका थिए । स्वतन्त्र ढंगले समेत चुनाव जितेकोमा उनी लोकप्रिय रहेको पुष्टि हुन्छ । गोपाल गिरीको निधनपछि भने परिवारबाट कोही पनि सक्रिय राजनीतिमा आएनन् । स्वयं गिरीशको पनि राजनीति वृत्तमा कुनै चर्चा थिएन । राप्रपाको तर्फबाट उनी वीरगञ्ज महानगरपालिकाका लागि एकाएक मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि मात्र चर्चाको विषय बनेको थियो । 

प्रश्न उठेको छ, चुनावमा गिरीशका लागि पत्रकारिता वा बुवाको विरासतमध्ये केले जादु गर्छ ? प्राध्यापक ललन द्विवेदी भन्छन्, ‘एउटा हिन्दी फिल्मको हिरोजस्तै गिरीशको इन्ट्री भएको छ ।’ उनको पहिचान गोपाल गिरीको छोरामा पहिलो र दोस्रोमा मात्र पत्रकारको रूपमा रहेको उनको बुझाइ छ ।

उनले भने, ‘राजेशमान र विजयको विकल्प खोज्नेहरूलाई गिरीश विकल्प बन्नुभएको छ ।’ राजावादी पहिचानको भएको पार्टीका कारण गिरीश गिरीका लागि कमजोर पक्ष देखिएको तर त्यसबाहेक अन्य कुरामा अन्य उम्मेदवारभन्दा अब्बल देखिएको बताउँदै प्राध्यापक ललन भन्छन्, ‘मेयरका अन्य उम्मेदवारको लागि चुनौती थपिएको छ, यसलाई गिरीशले कति क्यास गर्नुहुन्छ, त्यो उहाँमा भर पर्छ ।’

वीरगञ्ज मधेस आन्दोलनको केन्द्रविन्दु हो । गणतन्त्र र संघीयताका लागि वीरगञ्जले धेरै ठूलो योगदान दिएको छ । त्यस ठाउँमा गिरीश जस्तो व्यक्ति राजवादी र हिन्दू धर्मको वकालत गर्ने पार्टीबाट आउनु भनेको मतदातालाई मनोविज्ञानिक रुपमै विभाजित गर्नु जस्तै हो । वरिष्ठ अधिवक्ता रामेश्वर सेढाइँ भन्छन्, ‘वीरगञ्ज महानगरपालिकाको मतदाताको मनोविज्ञान सत्ता केन्द्रीत र शक्ति केन्द्रीत रहेको छ, यसले गिरीशलाई ठुलो लाभ हुन्छ जस्तो मलाई लाग्दैन ।’

गोपालको निधन भएको पनि धेरै भइसक्यो, पछिल्लो पुस्ताले गोपाल गिरीको योगदान पनि बिर्सिसकेका होलान् । गिरीशलाई पछिल्लो पुस्ताले एउटा वौद्धिक, शालिन, लेखक, पत्रकारको रूपमा चिन्छ । अधिवक्ता सेढाई भन्छन्, ‘वीरगञ्जलाई राम्रो कसरी बनाउने, उहाँसँग राम्रो भिजन हुन सक्छ । युवालाई आकर्षण गर्ने क्षमता उहाँमा हुन सक्छ । तर यहाँका ठुला राजनीतिक दल तथा पुरानो शक्तिलाई ठुलै चुनौती दिन सक्नुहुन्न ।’

जसरी गोपाल गिरी वीरगञ्जवासीका लागि लोकप्रिय, समाजसेवी थिए, त्यसरी नै काठमाडौँ बसेपनि गिरीशले वीरगञ्जलाई बिर्सेका छैनन्, काठमाडौँ बसेर पनि वीरगञ्जको सेवामा लागेको कारण यहाँको मतदाताको बीचमा एउटा परिचित व्यक्ति नै रहेको उनले बताए ।

वीरगञ्जमा यसअघि जसपाबाट विजय सरावगीले मेयरमा जितेका थिए । उनी अहिले एमालेबाट मेयरको उम्मेदवार बनेका छन् । माओवादी केन्द्र, काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीको साझा उम्मेदवारको रूपमा राजेशमान सिंह जसपाबाट मेयरको उम्मेदवार बनेका छन् । उता एमाले र लोसपाको गठबन्धन बनेको छ । दुईतिर गठबन्धनकै उम्मेदवारको बीचमा राप्रपाबाट गिरीश आएका छन् । उनले आफ्नो पत्रकारिता र लेखनको क्षेत्र तथा बुवाको विरासतबाट वीरगञ्ज महानगरपालिकाका मतदाताको मन कसरी जित्न सक्छन्, त्यो हेर्न अझै केही दिन कुर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप