बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो ? (सूचीसहित)

४४ हजार ४ सय ८० रुपैयाँ तलब र ४० दिनको रासन
बुधबार, १४ वैशाख २०७९, ०७ : ०३
बुधबार, १४ वैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । 

म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।

म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५४८ जना पूर्व सैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् । पूर्व प्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजारभन्दा बढीले यस पटक पनि भर्नाका लागि आवेदन दिएका थिए । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता केसीले रातोपाटीलाई बताए ।

मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको सङ्ख्या

सेवा सुविधा

४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागि राज्यकोषको ४४ हजार ४८० रुपैयाँ खर्च हुन्छ । एक लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ । एक साताको तालिम चलाउँदा करिब १ करोड ५४ लाख खर्च भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अति संवेदनशील मतदान स्थलमा ८ म्यादी प्रहरी

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेको छ ।

मतदान केन्द्र (मतपेटीका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदानस्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्नेछ । मतगणनास्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप