सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

बुधबार, १४ वैशाख २०७९, १० : ००
बुधबार, १४ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेसको घोषणापत्रबारे गठबन्धनको निर्णय उल्लंघन भएको बताउँदै पार्टीमा विवाद भएपनि चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरे । 

उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई फिर्ता लिन आग्रह छ । तपाईहरुमाथि भएको अन्यायको एक एक हिसाव हुन्छ । अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ । पार्टीको निर्णय नमानेर कारबाहीमा परेपछि अघि बढ्न गाह्रो हुने मसँग पनि अनुभव छ ।’ 

उनले काँग्रेस एक्लैले चुनाव लड्दा पनि अप्ठेरो रहेको र गठबन्धन बनाएपछि पनि अझै अप्ठेरो भएको बताए । लामो समयदेखि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन्छु भनेर काम गरेका काँग्रेस नेता कार्यकर्ताहरूमा पीडा रहेको र पार्टीले त्यसलाई सम्वोधन गर्ने उनले बताए । 

थापाले पार्टीभित्रै पार्टीको निर्णय उल्लंघन गरेको उजुरी पनि आएको र पार्टीको निर्णय विपरित काम गरेकालाई चुनावपछि कारबाही र दण्ड दिइने समेत बताए । उनले स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता कार्यकर्तालाई  दुई दिनको समयभित्र उम्मेदवारी फिर्ता लिने बारेमा सोच्न आग्रह गरे ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप