शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसले गर्‍यो बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन

मङ्गलबार, २० वैशाख २०७९, २१ : १०
मङ्गलबार, २० वैशाख २०७९

नेपाली काँग्रेस खोटाङले आधिकारिक उमेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा काँग्रेसकातर्फबाट उठाइएका आधिकारिक उमेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उमेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरेको हो । 

दुबै स्वतन्त्र उम्मेदवारलाई काँग्रेसको विधान २०१७ (संसोधनसहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको काँग्रेस खोटाङका अनुशासन समितिका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् । काँग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पूर्वगाविस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् । 

यसअघि १७ वैशाखमा काँग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उमेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तबीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ काँग्रेसका पालिका सभापति हुन् । ऐसेलुखर्कमा काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । काँग्रेसबाट उपाध्यक्षमा राजेश राजभण्डारी उम्मेदवार छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिमामा काँग्रेसका बिश्वनाथ निरौला विजयी भएका थिए ।  यसअघि जितेका दललाई सम्वन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमती विपरित जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको विरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप