ad
x
स्वास्थ्य

युवावस्थामा नै किन बढ्दै छ ब्लडप्रेसर ?

५० प्रतिशतलाई उच्च रक्तचाप भएको थाहै नहुने

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

चालिस कटेपछि मात्रै हाइ ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप रोग लाग्छ भन्ने आमधारणा छ । यद्यपि नेपालमा नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखिएको थियो । जसमा, १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवामा उच्च रक्तचापको समस्या देखिएको सो अध्ययनले देखाएको थियो ।


त्यस्तै, सहरमा बस्ने ४० वर्षभन्दा माथिका लगभग ५० प्रतिशतलाई उच्च रक्तचाप रोग लाग्ने सम्भावना उत्तिकै छ । ५० वर्षभन्दा माथिका दुई जनामध्ये एक जनालाई अर्थात् ५० प्रतिशतलाई उच्च रक्तचापको रोग लाग्ने सम्भावना हुन्छ ।



उच्च रक्तचाप सबैभन्दा बढी ५५ देखि ६९ उमेर समूहलाई देखिएको छ । सो उमेर समूहका ४५.५ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । त्यसै गरी रक्तचाप भएकामध्ये १५ देखि २४ वर्ष उमेर समूहका ९.५ प्रतिशत छ । जसमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी छ । पुरुष २९.८ र महिला १९.७ प्रतिशत छन् । रक्तचाप भएकामध्ये १० लाखलाई मात्रै आफ्नो उच्च रक्तचाप बारेमा थाहा भएको सर्भेले देखाएको छ ।



उच्च रक्तचापबाट हुने जटिलतासँगै मस्तिष्कघात, हृदयघात, मुटु तथा रक्तनली सम्बन्धि रोग नेपालजस्ता अल्पविकसित राष्ट्रमा बढ्दै गएको नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख डा.फणीन्द्र प्रसाद बराल बताउँछन् । दीर्घ तथा मृगौला रोग आदिको व्यवस्थापनमा राज्य र जनताको ठूलो धनराशि खर्च भएको बरालले बताए । अल्पविकसित राष्ट्रहरुमा मृत्युको प्रमुख कारण समेत उच्च रक्तचाप रहेको उनको भनाइ छ ।



आधाले उच्च रक्तचाप भएको थाहै पाउँदैनन्



विश्व स्वास्थ्य संगठनका अनुसार ५० प्रतिशत मानिस उच्च रक्तचाप भएको थाहा पाउँदैनन् । यस्तै, उच्च रक्तचाप भएको थाहा  पाएका ५० प्रतिशतमध्ये आधाले मात्रै औषधि सेवन गर्छन् । उता उच्च रक्तचाप भई औषधि सेवन गर्नेमध्ये आधाको मात्रै उच्च रक्तचाप नियन्त्रणमा आउने कार्डियोलोजिष्ट डा. ओममूर्ति अनिलको भनाइ छ ।



उच्च रक्तचापको औषधि गर्नेमध्ये १२.५ प्रतिशत मानिसले मात्रै नियन्त्रणमा राख्ने र दुर्घटनाको जोखिमबाट जोगिने गरेको पाइएको छ । कार्डियोलोजिष्ट डा. मूर्तिको प्रारम्भिक अनुमानअनुसार ८७.५ प्रतिशतले ज्यान जोगाउन सकेका छैनन् । विश्वभर २६ प्रतिशत अर्थात् ७० करोडले उच्च रक्तचाप रोगको उपचार गराउँदैनन् । 

नेपालमा ४ लाख जनाले उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरेका मध्ये २ लाख जनामा उच्च रक्तचाप नियन्त्रणमा रहेको पाइएको इडिसिडिले जनाएको छ । उच्च रक्तचाप भएको थाहा नपाएर, थाहा पाएर पनि औषधि सेवन नगर्दा मस्तिकघात, हार्टअट्याक, मिर्गौला फेल हुनुका साथै शरीरमा अन्य नकारात्मक प्रभाव समेत पर्ने चिकित्सकहरु बताउँछन् । हार्टअट्याक भएर जति मानिस अस्पतालमा भर्ना भएका छन्, त्यसमध्ये ६९ प्रतिशत ब्लडप्रेसरका कारण हार्टअट्याक भएको पाइएको छ । 

यस्तै, संसारभर मृत्युका १० प्रमुख कारणहरुमध्ये उच्च रक्तचाप पहिलो नम्बरमा पर्ने डा. मूर्तिको भनाइ छ । क्यान्सर, मुटु, मिर्गौला, हार्टडिजिज जस्ता रोगहरुको मुख्य कारण हाइ ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप भएको उनले बताए ।

सहरी क्षेत्रका युवामा उच्च रक्तचाप बढी

पछिल्लो समय सहरी क्षेत्रमा ब्लडप्रेसर अर्थात् उच्च  रक्तचापका विरामी बढ्न थालेका छन् । काडिर्योलोजिष्ट डा. मूर्तिले हाल काठमाडौंमा बस्ने युवाहरुमा उच्च रक्तचाप देखिनु सामान्य  भएकोे जिकिर गर्छन् । सहरी भागमा युवाहरुमा ब्लडप्रेसर बढ्नुको मुख्य कारण स्ट्रेस अर्थात् तनाव भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘आजभन्दा १० वर्ष अगडि धुम्रपान, मध्यपान र प्रदुषणका उच्च रक्तचापका विरामी बढेका थिए । हाल धुम्रपान, मध्यपान, प्रदुषणसँगै मुख्य रुपमा युवाहरुमा तनावले गर्दा उच्च रक्तचाप बढेको छ ।’ साथै, अस्वस्थकर खानपान, शारीरिक अभ्यास कम हुँदा उच्च रक्तचाप रोगी बढ्दै गएको उनको भनाइ छ । 

गुलियोले पनि उच्च रक्तचाप बढाउँछ ?

धेरैलाई बढी मात्रा नुन सेवन गरे मात्रै उच्च रक्तचाप बढ्छ भन्ने लाग्न सक्छ । तर, काडिर्योलोजिष्ट मूर्तिका अनुसार गुलियो धेरै सेवन गर्दा पनि उच्च रक्तचाप बढ्ने गर्छ । गुलियोले कार्डियोभास्कुल डिजिज बढाउन सहयोग गर्ने उनको भनाइ छ । 

चिकित्सकहरुका अनुसार रक्तचाप हुनबाट जोगिनका लागि धूम्रपान र मद्यपान सेवन नगर्ने, हरिया सागसब्जी र फलफूल धेरै खाने, खानामा नुन र चिनीको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित शारीरिक अभ्यास गरेमा रक्तचाप हुनबाट बच्न सकिन्छ । उच्च रक्तचाप नियन्त्रणमा राख्न नियमित रुपमा रक्तचापको जाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

मेजर साइलेन्ट किलर बन्दै उच्च रक्तचाप

काडिर्योलोजिष्ट डा ओममूर्ति अनिलका अनुसार पहिला पहिला उच्च रक्तचाप, हाइपोटेन्सन, डाइवेटिज लगायत साइलेन्ट किलर थियो । यी रोगहरुको लक्षण हतपत्त थाहा नपाइने भएकाले न्यून आय भएका मुलुकका नागरिकले अंग नविग्रिएसम्म थाहा नपाउने उनले बताए । उच्च रक्तचाप साइलेन्ट किलरबाट अब मेजर साइलेन्ट किलरको रुपमा विकास भएको उनको भनाइ छ ।

धेरैले ब्लडप्रेसर भएको लामो समयपछि थाहा पाउँछन् । डा अनिल भन्छन्, ‘धेरै जनाले आफूलाई ब्लडप्रेसर छैन भन्ठान्छन् । तर, लक्षण देखिसकेपछि मात्रै ब्लडप्रेसर भएको थाहा पाउने भएकाले केही वर्ष त्यतिकै ढिला हुन्छ  यसले खतरा बढाउँछ ।’

यस्तै, ब्लडप्रेसर भएको थाहा पाएपनि तत्काल औषधि सेवन गर्न हुँदैन भन्ने गतल धारणा विकास भएको उनको भनाइ छ । ब्लडप्रेसर भएको थाहा पाउने वित्तिकै विशेषज्ञको सल्लाहमा औषधि सेवन नगरेमा स्वास्थ्यमा झन समस्या देखिने उनको जिकिर छ । 

उता इडिसिडिका अनुसार प्राथमिक स्वास्थ्य सेवा अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा उच्च रक्तचाप नियन्त्रणका लागि आवश्यक पर्ने कम्तिमा पनि २ प्रकारका औषधिको निरन्तर उपलब्धता अपरिहार्य छ । सबै स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्तिको व्यवस्थापन पनि उत्तिकै आवश्यक पर्ने उनले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार, विशेषत चारवटा मुख्य नसर्ने रोगहरु मुटु तथा रक्त नलीको रोग, मधुमेह, दीर्घ श्वास प्रश्वास सम्बन्धि रोग र क्यान्सरलाई प्राथमिक स्वास्थ्य सेवा सेटिङमा न्यून स्रोतमा सञ्चालन गर्न  प्याकेज तयारी गरिएको छ । सो कार्यक्रमलाई सन् २०१६ मा इलाम र कैलालीबाट सुरु गरिएको थियो । अहिले देशका ७० वटा जिल्लामा यो कार्यक्रम सुचारु छ । अर्को आर्थिक वर्षबाट देशका ७७ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य चौकीसम्म पहुँच

उच्च रक्तचापका रोगीको पहिचान र नियन्त्रणको व्यवस्थाका लागि स्वास्थ्य चौकीसम्म पहुँच पुर्याउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । रक्तचापका विरामीको उपचार फिजिसियन, काडिर्योलोजिष्टका तुलनामा सामान्य चिकित्सकले गर्छन् । काडिर्योलोजिष्ट डा. मूर्तिका अनुसार पारामेडिक्सलाई रक्तचापसम्बन्धि रोगको पहिचान, उपचार र नियन्त्रणका लागि तालिम दिइ मृत्यु दर कम गर्न सकिन्छ ।

स्वास्थ्य चौकी तहमा रक्तचापका विरामीको पहिचान, नियन्त्रण र उपचार गराउन सकेको खण्डमा ठूलो परिर्वतन ल्याउन सकिने उनले बताए । ठूलो जनसङ्ख्यामा रहेको रक्तचापका बिरामीलाई समेट्न विशेष योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

कार्डियोलोजिष्ट डा मूर्तिका अनुसार रक्तचाप माथिको १२० र तलको ८० भन्दा कम भएमा सामान्य रक्तचाप हो । यदि माथिको रक्तचाप १४० भन्दा बढी र तलको रक्तचाप ९० वा सोभन्दा बढी भएमा उच्च रक्तचाप भएको बुझ्नुपर्छ । यस्तो अवस्थामा टाउको दुख्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने अनि रोकिएको जस्तो हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने यसको मुख्य लक्षण हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारले नसर्ने रोगका लागि बहुउद्देश्यीय कार्ययोजना २०२१÷२०२५ लागु गरेको छ ।  इपिडिमियोलोजीका निर्देशक डा. चुमनलाल दासका अनुसार सरकारले यो वर्षको अन्त्यसम्ममा उच्च रक्तचापको नियमित औषधि सेवन गर्नेको सङ्ख्या बढाएर १० लाख पुर्याउने भएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।