बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिक पार्टीमा रवीन्द्र मिश्रको 'अवसान'

राजीनामा उच्च नैतिकता, आफूलाई केन्द्रमा राख्दा असफलता
बिहीबार, १२ जेठ २०७९, ०६ : ३५
बिहीबार, १२ जेठ २०७९

वैकल्पिक राजनीतिक अभियानलाई अगाडि बढाइरहेका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हारका साथै स्थानीय तहमा राम्रो उपस्थिति देखाउन नसकेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । 

उनको राजीनामालाई राजनीतिमा नैतिकताको खडेरी परेका बेला उदाहरणीय कामको रूपमा लिइएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरेले राजनीतिमा नैतिकताको खडेरी परेको बेला मिश्रले दिएको राजीनामा सकारात्मक भएको जनाएका छन् । 

यस्तै मिश्रसँग साझा पार्टी स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका मुमाराम खनालले पनि मिश्रले राजीनामा दिएर उच्च नैतिकता देखाएको बताएका छन् । 

पत्रकारिताबाट राजनीतिमा आएका मिश्रको उतार चढाव 

बीबीसी नेपाली सेवाको प्रमुख रहेका मिश्र लोभलाग्दो जागिर र पत्रकारिता छोडेर राजनीतिमा होमिएका थिए । आफ्नो नेतृत्वमा मिश्रले २०७३ साल फागुनमा साझा पार्टी स्थापना गरेर अघि बढेका थिए । 

२०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनको दलबाट  काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवारले चौथो स्थान र ललितपुर महानगरमा तेस्रो स्थान हासिल गरेका थिए । 

​२०७४ साल साउन ९ गते मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबिच पहिलो एकता भएको थियो । थापा र मिश्र पार्टीको संयोजक रहेका थिए । विवेकशील नेपाली दलसँग एकता गर्ने भएपछि साझा पार्टीका दुई नेता डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टीबाट राजीनामा दिएका थिए । 

तर पार्टी एकता लामो समय टिक्न सकेन । २०७५ साल पुस २७ गते थापा पार्टीबाट अलग हुँदै विवेकशील नेपाली दल स्थापना गरेका थिए । दोस्रो पटक २०७७ मङ्सिर २४ गते साझा पार्टी र विवेकशील नेपाली दलबिच फेरी एकता भएर विवेकशील साझा दल बनेको थियो । 

पार्टी एकताका ताका मिश्रले ‘हामी केवल अस्तित्वमा रहन होइन, नेतृत्वमा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ ’ भने पनि पार्टी एकता लामो रहन सकेन । 

मिश्रले विचार भन्दा माथि देश शीर्षकमा फरक दस्तावेज ल्याएर पार्टीमा बहुमतले पेलेर पास गरेपछि पूर्व विवेकशील दलका नेताहरूले विरोध गरे । २०७८ पुस ६ गते पार्टीका अर्का संयोजक मिलन पाण्डेलाई कारबाही गरी पार्टीबाट निष्कासन गरिएको थियो । 

पार्टीमा भएको टुटफुट र पार्टीको दर्शन तथा विचारको बारेमा भएको द्वन्द्वका कारण पार्टीभित्र भाँडभैलो हुने गरेको थियो । सक्षम र योग्य उम्मेदवार खडा गरे पनि जसको प्रभाव हालैको स्थानीय तहको निर्वाचनमा देखियो । पार्टीको साधारण सदस्य रहने भन्दै राजीनामा दिएका मिश्र आगामी दिनमा कसरी अगाडि बढ्नेछन् त्यसबारे खुलाएका छैनन् । 

​पार्टीले चुनावमा अपेक्षा गरे अनुसार नतिजा नआएपछि उनले दिएको राजीनामा सकारात्मक रहेको वैकल्पिक राजनीतिक शक्तिका अभियन्ता समेत रहेका जसपाका नेता डम्बर खतिवडा बताउँछन् । उनले राजीनामा दिए पनि अझै पनि सो दल माथि उठेर अघि बढ्ने सम्भावनाहरू रहेको खतिवडाको बुझाई छ । 

यस्तै सोही दलका पूर्व नेता एवं राजनीतिक विश्लेषक मुमाराम खनालले पनि मिश्रको राजीनामाको प्रशंसा गर्दै उच्च नैतिकता प्रदर्शन गरेको बताएका छन् । उनले रवीन्द्र मिश्रले आफूलाई केन्द्रमा राखेर अघि बढ्न खोज्नु उनको असफलताको कारण भए पनि वैकल्पिक राजनीतिक शक्तिको अघि बढ्ने बाटो भने बन्द नभएको प्रतिक्रिया दिएका छन् । 

चुनावले मिश्रको भ्रम मुक्त गरिदियो, पार्टीको भविष्य अझै बाँकी छ : डम्बर खतिवडा, नेता, जनता समाजवादी पार्टी     

नेपालमा वैकल्पिक दलको खाँचो छ भन्ने अभियानमा लागिरहेका बेला रवीन्द्र मिश्रको विवेकशील साझा हाम्रो चासोको विषय हो । प्रारम्भमा हामीले नयाँ शक्ति दल सुरु गरेका बेला उहाँहरूले साझा पार्टी र विवेकशील पार्टी सुरु गर्नुभएको थियो । हामीबिचमा त्यति धेरै वैचारिक भिन्नताहरू थिएन । 

एउटा पहिचानको विषयमा मात्र फरक थियो । उहाँहरू पहिचान मान्नुहुन्नथ्यो हामी मान्थ्यौँ । बाँकी मुद्दाहरू भनेको सहभागितामूलक लोकतन्त्र, सुशासन, समृद्धि, पारदर्शिता, विकास यो सबै हाम्रा एजेन्डाहरू मिल्थे । त्यो पार्टीले राम्रै विकास पनि गरिरहेको थियो । हामी नाम चलेका पूर्व प्रधानमन्त्रीको साथमा नयाँ शक्तिमा थियौँ हुँदा अघिल्लो चुनावमा मुस्किलले १ लाख भोट ल्याएका थियौँ, उहाँहरूले करिब ३ लाख भोट ल्याउनु भएको थियो । थोरै मतले मात्र राष्ट्रिय दल बन्न सक्नुभएको थिएन । उहाँहरूले हामीले भन्दा ठुलो प्रगति गर्नुभएको, जनताबाट स्वागत पाउनुभएको थियो । झन्डै झन्डै काठमाडौँ १ बाट चुनाव जित्नुभएको थियो । 

त्यो दलको भविष्य अझै राम्रो छ त्यहाँ नयाँ युवा साथीहरू हुनुहुन्छ । हामी चाहिँ पूर्व कम्युनिस्ट पृष्ठभूमि भएका र अलिकति ट्याग लागेका मान्छेहरू भयौँ । उहाँहरू ‘फ्रेस’ मान्छे हुनुभयो, प्रगति गर्नुभयो भयो भने राम्रै हुन्छ भन्ने मलाई पनि लाग्यो । 

तर पछिल्लो समय उहाँहरूले मार्ग परिवर्तन भन्ने जुन दस्तावेज ल्याउनुभयो, त्यो वैकल्पिक राजनीति हैन । त्यहाँ आएर उहाँ सिद्धिनुभयो वा ठुलो सङ्कटमा पर्नुभयो भन्ने लाग्छ । त्यो गल्ती उहाँले स्वीकार गर्नुपर्थ्यो तर उल्टै त्यसको विरोध गर्ने साथीहरूलाई उल्टै कारबाही गरेर उहाँले पार्टीबाट निकाल्दिनुभयो । त्यो चाहिँ उहाँको ठुलो भ्रम थियो । यसपालिको चुनावले उहाँको भ्रम मुक्त गरिदियो । वैकल्पिक राजनीति भनेको प्रगतिशील यात्रा हो । संसारमा जहाँ पनि लोकतन्त्रका कमीकमजोरी पूरा गर्न लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि वैकल्पिक राजनीति हुन्छ । 

जस्तो भारतमा केजरीवालको आम आदमी पार्टी छ, त्यसले सङ्घीयताको विरोध गर्दैन । संघीयताले बनाएका प्रदेशहरूलाई आधार बनाएर अघि बढ्छ । दिल्लीमा, पञ्जाबमा जित्नुलाई उसले गौरव गर्छ । दिल्ली खारेज गरौँ, पञ्जाब खारेज गरौँ त भन्दैन नि । रवीन्द्रजीको त्यो सबैभन्दा ठुलो गल्ती थियो । जसले उहाँलाई ठुलो खालको एउटा राजनीतिक अप्ठेरोमा पुर्‍याएको थियो । वैकल्पिक शक्तिको आन्दोलनलाई पनि अप्ठेरोमा पुर्‍यायो । 

अहिले आएर उहाँले राजीनामा दिनुभयो त्यो ठीक गर्नुभयो । अब कारबाही गरेका साथीहरूको कारबाही फिर्ता लिने, मिलन पाण्डेको सम्पूर्ण समूह पनि त्यहाँ आउने र रवीन्द्रजीको समूह पनि त्यहाँ बस्ने, संयुक्त रूपमा उहाँहरूले महाधिवेशन गर्ने, रवीन्द्रजीले ल्याएको दस्तावेज फिर्ता लिने र पार्टीको स्थापनाकालीन उद्देश्य जे थियो त्यसैमा फर्किने र वैकल्पिक राजनीतिको अभियानलाई अगाडि बढाउने हो भने त्यो पार्टीको भविष्य अझै पनि बाँकी छ ।    

राजीनामा प्रशंसायोग्य, मिश्र एक किसिमले असफल हुनुभयो : मुमाराम खनाल, राजनीतिक विश्लेषक  

रवीन्द्र मिश्रले राजीनामा दिएर उच्च नैतिकता देखाउनुभएको छ । चुनावबाट उहाँहरूमा त्यति ठुलो अपेक्षा त थिएन होला । तैपनि निर्वाचनमा त्यो पार्टीले जुन असफलता प्राप्त गर्‍यो, काठमाडौँमा एउटा स्वतन्त्र उम्मेदवारले जित्ने तर अहिलेका पार्टीहरूको विकल्पमा भनेर आएका उहाँहरूको शर्मनाक पराजय भयो, यो पराजयलाई स्वीकार गरेर उहाँले नैतिकताको खडेरी परेको मुलुकमा सानै पार्टी भए पनि उहाँले पदबाट राजीनामा दिएर पार्टीमा रहेका अरू मान्छेहरूलाई ल नेतृत्व गर भनेर मार्ग प्रशस्त गर्नु आफैँमा एउटा सकारात्मक कुरा हो । 

आफैँलाई केन्द्रमा राखेर पार्टी बनाउनु कमजोरी थियो 

उहाँले आफैँलाई केन्द्रमा राखेर एउटा पार्टी बनाउन खोज्नुभयो । तर पुरानै पार्टीहरूको ढाँचामा नयाँ पार्टी बन्न सक्ने आधार थिएन । वैकल्पिक पार्टी भन्ने बित्तिकै त्यहाँ वैकल्पिक नेतृत्व कसरी चयन हुन्छ, त्यो पार्टीको कार्यशैली कस्तो हुन्छ, खासगरी अन्तरपार्टी लोकतन्त्रको कस्तो अभ्यास गर्छ ? त्यो लोकतान्त्रिक अभ्यासमा अरू नेताहरूको भूमिका कस्तो हुन्छ ? त्यो महत्त्वपूर्ण हुन्छ । 

उहाँका एजेन्डाहरू पनि पश्चगामी भए, यी सबै चिजहरूले काम गरेनन् । तिनीहरूले काम नगरेपछि त्यो पार्टी कमजोर कमजोर हुँदै गयो । कमजोर भएकै अवस्थामा उहाँहरू निर्वाचनमा होमिनुभयो । भनेजस्तो परिणाम नआएपछि उहाँले राजीनामा दिनुभयो । यसलाई सफलता र असफलता त के भनौँ, यो एउटा प्रयोग थियो । कसैले एकाएक भयङ्कर सफलता मिल्छ भन्ने सोच्यो भने नेपालमा त्यो भन्ने बित्तिकै सम्भव हुँदैन । पुराना पार्टीहरूको लामो लामो इतिहास रहेको छ । यसमा उहाँले उच्च राजनीतिक नैतिकता देखाउनु प्रशंसायोग्य कुरा हो । 

यसका साथ साथै उहाँले राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको जुन स्थान बन्छ भन्ने जुन आशा राख्नुभएको थियो तर त्यसमा एक खालको असफलता नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप