सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर

बुधबार, २६ वैशाख २०८१, १९ : ४६
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले सहकारी ठगीमा संलग्नहरुलाई संरक्षण गरेको बताएका छन् ।

बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा  सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए ।

‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाएजसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे । उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक अस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे ।

कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक-पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ ।

देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समुदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रेस भएको उनको भनाइ छ।

यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समुदायको ठुलो भूमिका रहेको उनले स्मरण गरे । नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायको ठुलो भूमिका रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप