शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालेन शाहहरूको जितले कस्तो असर पार्ला संघ र प्रदेशको चुनावमा ?

आइतबार, २२ जेठ २०७९, ०६ : ४२
आइतबार, २२ जेठ २०७९

काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसले कस्तो प्रभाव पार्ला भन्ने लेखाजोखा हुन थालेको छ । काठमाडौँ महानगर प्रमुखमा बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरपालिका प्रमुखमा हर्कराज सम्पाङ, धनगढी उपमहानगरपालिका प्रमुखमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका हुन् ।

बालेन्द्र शाह र हर्कराज सम्पाङको जित प्रमुख राजनीतिक दलहरुका लागि ठुलो सबक भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । काठमाडौँ महानगरपालिकामा एकातिर सत्तारुढ गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिएको थियो भने अर्कोतिर पाँच वर्ष महानगरको नेतृत्व गरेको एमाले थियो । यी दुवैलाई निकै मतान्तरले पछि पार्दै बालेन्द्र शाहले जित हासिल गर्नु सामान्य होइन ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको यो सफलताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि कयौं त्यस्ता हस्तीका लागि हौसला मिलेको छ, जो स्वतन्त्र उम्मेदवारीको योजनामा छन् । सोही क्रममा विवेकशील नेपाली पार्टीका संस्थापक समेत रहेका पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जितेको क्षेत्र हो । यही क्षेत्रबाट पुकार बमले ६ महिना अगाडि नै उम्मेदवारी घोषणा गरेर दलहरुका लागि एक प्रकारको चुनौती दिएका छन् ।

काठमाडौँमा मात्र होइन, तराई मधेसमा पनि स्वतन्त्र उम्मेदवारी दिन युवाहरू अगाडि सरेका छन् । हाल विभिन्न दलमा रहेका युवा सम्बन्धित दलले टिकट नदिए स्वतन्त्रबाट भए पनि चुनाव लड्ने योजनामा छन् । सामाजिक अभियन्ता सरोज राय तिनै युवामध्ये एक हुन् । उनले सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् ।

बालबालिका उद्धारदेखि कोरोना महामारीमा सहयोगलगायत बाढी, आगलागीमा पनि राहत वितरण गर्ने काममा सक्रिय रहेका सरोज राय मधेसमा कुनै व्यक्तिलाई आइपर्ने हरेक समस्यामा अघि सरेर सहयोग गर्दै आएका छन् । दलबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रने उनको योजना छ ।

राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि रौतहट क्षेत्र नम्बर १ (ख) बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । यद्यपि अहिलेसम्म उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर सुनिश्चित गरेका छैनन् ।

यसरी देशैभरि होनहार युवा तथा देशका लागि योगदान दिने युवा जमात स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने तयारीमा लागेका छन् । त्यसले दलहरूलाई चुनौती थपिदिएको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘बालेन्द्र शाहको जितले दलहरूलाई ठूलो चुनौती थपिएको छ । बालेन्द्र शाहलाई दिएको करिब ७० हजार मतले आगामी चुनावमा काठमाडौँको चारवटै क्षेत्रमा प्रभाव पार्छ ।’

बालेन्द्र शाहका समर्थकहरू आगामी चुनावको तयारीमा जुटिसकेका र उनीहरुले पक्कै पनि केही न केही प्रभाव पार्ने आचार्यको ठहर छ । त्यसमा जित हारको पनि खेल हुनसक्ने उनले बताए । आगामी चुनावमा देशव्यापी रूपमा ‘लौरो’को असर देखिन सक्ने उल्लेख गर्दै उनले भने, ‘अब दलका नेताहरूले जसलाई टिकट दिन्छन्, उसैले जित्छ भन्ने जमाना गइसक्यो, टिकट नपाउनेले पार्टीमा विद्रोह गरेर भए पनि चुनाव जित्न सक्छन् भन्ने पुष्टि स्थानीय तहको चुनावले गरेको छ ।’

जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसबाट मनोज साहले टिकट नपाएपछि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिए । उनले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा मात्र गरेनन्, उपमहानगर प्रमुखमा जित हासिल गरे ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकामा पनि काँग्रेसले टिकट नदिँदा प्रल्हाद कुमार क्षेत्रीले आफ्नो स्वतन्त्र प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरे, अन्ततः जनताले उनलाई नै विश्वास गरे ।

हुन त चितवनको भरतपुर महानगरपालिकामा पनि काँग्रेसबाट जगन्नाथ पौडेलले पार्टीमा विद्रोह गरेर प्रमुखमा उम्मेदवारी दिएका थिए । त्यो उम्मेदवारी गठबन्धनका उम्मेदवार रेनु दाहालका लागि निकै चुनौती बनेको थियो । पौडेलले जित्न सकेनन् तर स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई चुनौती दिनसक्छ भन्ने सन्देश दिन उनी सफल भए ।

काठमाडौँ महानगरपालिकाकै उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले अन्तिम समयमा पार्टीबाट टिकट दियो । एमालेले टिकट नदिएको भए उनी पनि बालेन्द्र शाह जस्तै स्वतन्त्रबाटै जित्ने पक्का थियो । बालेन्द्र शाह जस्तै सुनिताको पनि युवा माझ लोकप्रियता थियो । परिणामस्वरुप उनले राम्रो मत ल्याएर जित हासिल गरिन् ।

अर्का राजनीतिक विश्लेषक हरि रोकाका अनुसार राजनीतिक दलका नेताहरूले चुनावमा वा राजनीतिमा जुनखालको मनोमानी गरेका छन्, त्यसको जवाफ हो बालेन शाह । त्यस्तो जवाफ अगामी संघ र प्रदेशको चुनाव पनि पाउने निश्चित रहेको उनले बताए ।

समाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट आउने आवाजलाई अध्ययन गर्ने हो भने युवाले नेताहरुको सोचमा परिवर्तन चाहेका छन् र यसको प्रभाव आगामी चुनावमा देखिने उनको भनाइ छ ।

‘नेताहरूले मतदातालाई हेपेको भान हुन थालेको छ, नेताहरूले आसेपासेलाई टिकट दिने, व्यक्ति व्यक्तिलाई खोजेर टिकट दिने, पार्टीभित्रै वा बाहिरबाट टिकट पाउनुपर्नेहरुले टिकट नपाउनुले पनि मतदातामा फ्रस्टेशन ल्याइदियो र त्यही फ्रस्टेशनबाट बालेन शाह जस्ताको जन्म भएको हो,’ उनले भने ।

त्यो ‘फ्रस्टेशन’ काठमाडौँ, धरान, जनकपुर, धनगढी, बर्दिवासमा देखिएको उल्लेख गर्दै विश्लेषक रोकाले भने, ‘अब त्यो फ्रस्टेशन आगामी चुनावमा देशैभरको सहरी क्षेत्रमा देखिन सक्छ ।’

राजनीतिक विश्लेषक सुरजराज आचार्य पनि देशैभरि मतदातामा अहिले देखिएको मनोविज्ञानले संघ र प्रदेशको चुनावबाट नयाँ अनुहार आउनसक्ने सम्भावना देखिएको बताउँछन् ।

‘काठमाडौँ, धरान र धनगढीको जितले देशैभर तरङ्ग पैदा गरेको छ र त्यो तरङ्ग संघ र प्रदेशको चुनावसम्म जाने निश्चित जस्तो देखिएको छ,’ उनले भने, ‘अहिले राजनीतिक दलप्रति मतदाताको विश्वास गुम्दै गएको अनुमान गर्न सकिन्छ ।’

उनका अनुसार पछिल्लो समय स्वतन्त्र उम्मेदवारले पनि जित्न सक्ने रहेछ भन्ने मनोविज्ञान मतदातामा बसिसकेको छ । त्यो मनोविज्ञानले अगामी चुनावमा निकै प्रभाव पार्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप