सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एकान्त समय

शनिबार, २८ जेठ २०७९, ११ : २०
शनिबार, २८ जेठ २०७९

बेलुकी ४-५ बजे गाउँ साह्र शान्त हुन्थ्यो । यतिवेला सबै मान्छेहरू खेत काम गर्न, घाँस काट्न र गाई गोरु चराउन गएका हुन्थे । गाउँमा बुढा बुढी र केटाकेटीहरू मात्र हुन्थे । मलाई यो समय धेरै रमाइलो लाग्थ्यो । किनकि खेल्ने बेलामा गाली गरेर धपाउने र यहाँ हल्ला नगर् भन्ने कोही हुँदैनथे । घर अगाडिको डगहरमा बालुवामा खेले पनि टालबारीमा उफ्रिँदै साथीहरूसँग टाल भत्काए पनि अवरोध गर्ने कोही हुँदैनथे । आहा ! कस्तो स्वतन्त्र बेलुकाको समय । 

एक दिन बेलुकी टोल सुनसान थियो । हामी केटाकेटीहरू डगहरको बालुवामा चारकोठाको रेखा कोरेर हात्तीचौका खेलिरहेका थियौँ । डगहर छेउमा बुलाकीवाली  भाउजूको घर थियो । डगहरबाट उनको आँगन हवाङ्गै देखिन्थ्यो । आँगन देखिने भएकोले आँगनलाई छोप्न खर र कर्चीले बनाइएको टाँटी लगाइएको थियो आँगनको अगाडि । 

टाँटीले उनको आँगन पूर्ण रुपमा छोपिएको थियो । उनको घरबाट क्रन्दनपूर्ण आवाज आइरहेको  थियो ।  ‘हमरा छोर्  । मैया गौ । मोइर गेलियै ।’  उनको आवाज सुनेर हामी टोलका सबै केटाकेटीहरू खेल्न छोडेर दौडिदै उनको आँगनतिर गयौँ । घरको केवार (ढोका) बन्द थियो । केवार बन्द भएको घरबाट रुवाइ, क्रन्दन र पीडाले भरिएको स्वर निस्किरहेको थियो ।  

भुलर दिदी बुलकीवालीकी आमाजू थिइन् । रामफल दाइ बुलकीवाली भाउजूका लोग्ने थिए । भाउजूको क्रन्दनपूर्ण आवाजलाई चिरेर दाइ र दिदीको आवाज आइरहेको थियो । ‘फेन ओहेन काम करबिही ? । मलाई छोड् भन्दै उनी बिलौना गरिरहेकी थिइन् । आखिर के हुँदै थियो ? किन उनी बिलौना गर्दै थिइन् ? उनकी आमाजू र लोग्ने के गदै थिए उनीसँग  । एकछिनपछि फेरि उनी आर्तनादपूर्ण तरिकाले चिच्याइन्, ‘माई गौ मोइर गेलियै । छोइर दे हमरा ।’  भाउजूको क्रन्दनपूर्ण आवाज सुनेर हामी केटाकेटी डराउँदै  आँगनबाट भाग्यौँ ।  आवाज आउन बन्द भएपछि फेरि खेल्न थाल्यौँ । एकछिन शान्त हुन्थिन् । फेरि डराउँदै चरम यातना भोगेको आवाज निकाल्थिन् र गाली गर्दै भन्थिन्,  ‘हमरा छोर बेटीचोद ।’ 

उनको क्रन्दन सुनेर टोलकी हजुरआमा हतारिँदै उनको आँगनमा छिरिन् । हजुरआमाको पछि पछि हामी सबै केटाकेटी लाग्यौँ । हजुरआमा  केवार ढकढकाउँदै, ‘कथि करै चिही घरवाली के ?’ भनिन् । केवार ढक्ढकाउँदा भुलुर दिदी केवार खोल्दै तावामा सल्काएको दाउराको आगो बोकिरहेकी थिइन् । आगो बलिरहेको थियो । उनी तावाको आगो बारीतिर फाल्न गइन् । त्यसपछि रामफल दाइ निस्के तातो पन्यू लिएर । उनले पन्यू आँगनमा फाले । फालेर बसघरातिर गए । 

आगो र तातो पन्यू देखेर हामी डरायौँ । हामी सबैको आँखा घरतिर थियो, भाउजू किन निस्किनन् घरबाट ? सबैजना उत्सुकतापूर्वक घरतिर हेरिरहेका थियौँ । घरबाट धुँवा निस्किरहेको थियो । कतै भाउजूलाई घरमा त जलाएनन् भनेर डर लागिरहेको थियो । 

आँगनमा हामीसँग उभिरहेकी हजुरआमा हतारिँदै घरभित्र छिरिन् । हजुरआमाको पछि पछि हामी पनि छिर्यौँ । बुलकीवाली भाउजू घरको कुनामा सारी फैलाएर हिक्का छोड्दै रोइरहेकी थिइन् । उनीसँग के भएको थियो ? हजुरआमाले उनलाई उठाउँदै भनिन्, ‘जुरमे या ओसरामे बैठ । हावा लागैले दहै । नेत फोका उठ्तौ ।’ कोठीको (माटोको भकारी) काँधमा खाटी तेलको बोतल थियो । उनको हातमा तेल खन्याउँदै तेल लगाउन भनिन् । हजुरआमाले उनलाई समातेर ओसरामा ल्याइन् । हामी टोलका बच्चाहरूलाई गाली गर्दै लखेट्दै भनिन्, खरहुवानसब भाग् अतसे । 

हामी नभागेर ढिठ्याई गरेर उभिरह्यौँ । घरको चारमा (छानामा) लट्ठी टाङ्गिएको थियो । उनी  लट्ठीले हकार्दै हामी टोलका केटाकेटीहरूलाई कुट्न खोज्दै रिसाउँदै लखेटिन् । लखेटेर आँगनबाट धपाइन् । हामी डराउँदै आँगनबाट भाग्यौँ । 

आँगनबाट त भाग्यौँ तर घर आएनौँ । आँगनमा जाने साहास पनि थिएन । हजुरआमाले लखेटी हाल्थिन् । हामी टोलका छ सात जना थियौँ । आँगन अगाडि भएको खरको टाँटीमा दुबै हातको औँलाले दुईओटा साना प्वाल बनायौँ । त्यो प्वालमा दुईटै आँखा राख्यौँ । आँखा राखेर आँगनतिर हेर्यौँ । भाउजूको अनुहार पसिनै पसिना भएको थियो  । अनुहारको पसिनामा उनका कपालहरू लतपतिएका थिए । आँखा पनि ओभानो थियो । सिउँदोको सिन्दुर पसिनाले ओरालो झरेको थियो । उनी खुट्टा उघारेर बसेकी थिइन् । 

हजुरआमा उनको सारी सम्याउँदै के के सम्झाइरहेकी थिइन् । उनी सारीले यौनाङ्ग मात्र छोपेकी थिइन् । धेरै पोलिरहेको छ भन्दै उनी रोइरहेकी थिइन् । हजुरआमा सम्झाउँदै भनिरहेकी थिइन्, ‘आपन मरद के धोखा नै दहै । घरके इज्जत राख् ।’ भाउजू गाली गर्दै रुँदै भनिरहेकी थिइन्, ‘हाथ मे कीरा परतै ।’ दुबैजनाको हातमा कीरा परोस् सुनेर लाग्यो दाइ र दिदीले भाउजूसँग नराम्रै व्यवहार गरेका थिए तर के गरेका थिए ? अनुमान लगाउन सकिएन । हामी टाँटीमा डगहरतिरबाट प्वाल गरेको देखेर भुलुर दिदी हामीलाई लखेट्न आइन् । हामी डरले सुइकुच्चा ठोक्यौँ । 
...
बेलुकी खेलेर घर फर्किंदा आमा, दिदी र भाउजू खेतबाट फर्किसकेका थिए । उनीहरू गुनगुन कुरा गर्दै थिए, ‘बुलकीवाली घाँस काट्न गएकी थिई रहर खेत । खेतमा रहरको झाङ्मा ऊ र अर्को गाउँको केटा लुकामारी गर्दै थिए । रामफल खेत हेर्न जाँदा नाङ्गै समात्यो दुबैलाई । घर ल्याएर आगोमा पन्यु तताएर यौनाङ्गमा  डामेछ  । आइमाईको चरित्र ठिक छैन । लोग्ने हुँदा हुँदै अरु पुरुषसँग त्यस्तो गर्न कसरी सकेकी ?’ के गरेकी थिइन् भाउजूले ? त्यो हामी केटाकेटीलाई के थाहा ?

बुलकीवाली भाउजू । उनी काली थिइन् तर हिस्सी परेकी । उनी काली भए पनि उनको छाला चम्किलो थियो । उनी क्रिम पाउडर नलगाए पनि उनको अनुहार हेर्दा सधैँ चिल्लो, कोमल, हँसिलो र छुँदा दाग लाग्लाझैँ सफा देखिन्थ्यो । अग्ली, मिलेको जिउ, अलि लाम्चो नाक, लाम्चो अनुहार, कलेजी रङ्को ओठ भएकी उनको पेट अलि निस्केको थियो । नितम्बमा मासु लागेर छिनेको कम्मर बाक्लो देखिएको थियो । उनको उचाइअनुसार जिउ पनि साह्रै ठिक । 

अहिलेको युगमा कसैले बुलाकी लाउँदैनथे गाउँमा तर उनी नाकमा कानको बालीजस्तै  साधारण बुलाकी लगाएकी हुन्थिन् । उनी बुलाकी सधैँ लगाउने भएकीले उनलाई गाउँका सबैजनाले बुलकीवाली भन्थे । उनलाई बुलकीवाली भनेर बोलाउँदा कहिले आपत्ति जनाइनन् । उनी माइती गाउँ र आफ्नो नामले भन्दा बुलकीवाली भनेर चिनिन्थिन् । 

उनी आफ्नो घरमा घुम्टो लिँदैनथिन् तर घरबाट खेततिर निस्किने वेलामा छातीसम्म घुम्टो लिएकी हुन्थिन् । उनको घर खेल्न जाँदा मैले उनको अनुहार देखेकी थिएँ । उनी मलाई राम्री लाग्थिन् । टोलका स्वास्नी मान्छेबाहेक उनको अनुहार कसैले देखेका थिएनन् किनकि उनी सधैँ घुम्टो ओढेर बाहिर निस्किन्थिन् । 

भोलिपल्ट उनको घरमा धेरैजना जम्मा भए । उनका बा र दाइ माइतीबाट आएका थिए । पञ्चायत बसेको थियो शायद । रामफल दाइ र भुलुर दिदीलाई खोजिरहेका थिए । उनीहरु दुबै जना फरार थिए । दुबैजनालाई जेल लगेर थुन्नुपर्छ भन्दै थिए बैठक बसेकाहरूले । हामी डगहरमा भाँडाकुटी खेलिरहेका थियौँ । बेस्सरी बोलेका कुराहरू हामी खेल्दै सुनिरहेका थियौँ । कुन्नि के के भयो ? दुबैको गल्ती छ भन्थे कसैले । कसैले दुबैले सजाय पाउनुपर्छ भन्थे छलफलमा । अन्तिममा पञ्चले निर्णय सुनाए, ‘दुबैको गल्ती छ । अहिले रामफललाई भेटेको भए जेल हाल्थेँ । फरार छ ।’ 

भाउजूलाई पनि बोल्न लगाए, ‘के गर्छेस् ? रामफलसँग सम्बन्ध बिच्छेद गरेर माइती जान्छेस् कि बस्छेस् ऊसँगै ।’ उनी पञ्चको कुरा सुनेर घुम्टो भित्रबाटै भनिन्, ‘हम लैहरा नै जेबै । ओकरेसँगे जीवन बिताइबै ।’  म कतै जान्नँ । यति भनेर उनी हामी खेल्दै गरेकोतिर घुम्टोको प्वालबाट हेरिरहेकी थिइन्, उनको आँखाले भनेझैँ लाग्यो, माइती गए के जवाफ दिने माइतीकालाई । बरु यही बस्छु । उनी यही बस्ने निर्णय लिएको सुनेर मलाई साह्रै रिस उठ्यो । शायद उनी सामाजिक दायरा, भविष्य सबैबारे सोचेर निर्णय लिएकी थिइन् । 

एक हप्तासम्म उनी बाहिर निस्किनन् । डगहरमा खेल्दा खेल्दै म उनको आँगनमा अस्ति बनाएको टाँटीको प्वालबाट चियाउँथे । चियाउँदा उनको अनुहार साह्रै उदास हुन्थ्यो । उनी टोलाइरिहन्थिन् । उनको अनुहारमा पश्चाताप थियो । 

दुई हप्तापछि रामफल दाइ र भुलुर दिदी आए । उनको घाउको पीडा कम भइसकेको थियो ।  उनी खासै केही प्रतिक्रिया देखाइनन् ।  भुलुर दिदी ससुराल गइन् । उनीहरू दुबै लोग्ने स्वास्नी पहिलाको जस्तै मिलेर बस्न थाले । उनीहरू मिलेको देखेर सबैजना चुप लागे । कोही केही बोलेनन् । सामान्य भइसकेको थियो सबै कुरा । 

उनी एक वर्षपछि छोरो पाइन् । छोरो पाएपछि उनको घुम्टो अलिकति माथि सर्यो । उनी नाकसम्म मात्र घुम्टो ओढेकी हुन्थिन् । ओठ र चिउँडो देखिन्थ्यो । उनी छोरोलाई खेलाउन हाम्रो घर आउँथिन् । 

रामफल दाइको काँधमा छोरोको जिम्मेवारी थपिएको थियो । उनले गाउँ नजिकैको बजारमा कपाल काट्ने सैलुन खोले । बिहानै सैलुन  जान्थे । दिउँसो भाउजूले बटुकामा भात र तरकारी पस्केर कलौ लगिदिन्थिन् । खाना पुर्याउन जाने बेलामा एउटा काखमा बच्चा च्यापेकी हुन्थिन् । टाउकामा भातको पोटली बोकेकी हुन्थिन् । 

रामफल दाइ एउटा कान कम सुन्थे तर उनी पूर्ण रुपमा बहिरो थिएनन् । सबैजनाले उनलाई नाम लिएर बोलाउनु भन्दा बैहरा (बहिरो) भनेर बोलाउँथे । उनी कान कम सुन्ने भएकाले कुन नामले बोलायो थाहा पाउँदैनथे । 

एक महिनापछि टोलमा हल्ला फैलियो,  ‘बुलकीवाली बिन्देश्वर साहुसँग फसेकी छे ।’

बिन्देश्वर साहु गाउँको सबैभन्दा धनीमा गनिन्थे । उनका छोरा बुहारीहरु थिए । स्वास्नी भने बितिसकेको थियो । उनी ५० वर्ष कटेका थिए । सुख सयलमा जीवन बिताउने भएकाले उनी आफ्नो उमेरभन्दा कमैको देखिन्थे । बुलकीवालीको घर छेउमा बिन्देश्वर साहुको घर थियो । बीचमा साहुको ठुलो बारी । बारीमा अता, बरहर, सरिफा, खजुर, इमली, जिलेबी, कटहर र आँपको रुख थियो । बारी कर्चीको टाँटीले घेरिएको थियो  । बारीमा उनीहरू भेट्थे भन्ने टोलभरि हल्ला  थियो । 

भाउजूको घरमा एकान्त हुन्थ्यो । केही दिनपछि भाउजूको घरमा साहू भेट्न आउँछन् भन्ने हल्ला चल्यो । साहू बेलुकी जहिले उनको आँगनबाट धोती सम्याउँदै निस्किरहेका हुन्छन् भनेर भन्थे गाउँलेहरू । हामी डगहरमा खेल्दै गर्दा साहू भाउजूको आँगन छिरेको देख्थ्यौँ तर किन छिर्थे ? छिरेर के गर्थे ? कहिले विचार गरेनौँ । 

बेलुकी गाउँका मान्छेहरू खेततिर गाई, भैँसी चराउन, घाँस काट्न र खेत  हेर्न निस्किसकेका थिए ।  टोल सुनसान थियो । हामी समयमा घ्याप्पा खेल्न थाल्यौँ । सबैजना आफूलाई अनूकुल हुने ठाउँमा लुक्न दौड्यौँ । म दौड्दै बुलकीवाली भाउजूको आँगन छिरेँ । सुत्ने घरको ओसरामा झुलामा उनको बच्चा सुतिरहेको थियो । आँगन सुनसान थियो । आँगनमा लुक्ने ठाउँ पाइनँ । आँगन  हुँदै गुहाली (गोरु बाँध्ने) घर छिरेँ । 

गुहालीमा गोरुको लागि सथरी (ओथारो) ओछ्याइएको थियो । गुहालीमा माटोको भकारी थियो । भकारी  पछाडि लुक्ने ठाउँ थियो । त्यहाँ एकजना सुत्ने जति ठाउँ थियो । हतारिँदै भकारी पछाडि लुक्न जाँदा भुँइमा पराल ओछ्याइएको थियो । त्यो परालमा सिउँदोभरि सिन्दुर, कानमा मकरी, नाकमा छक र बुलाकी लगाएकी, कपालमा रातो धागो बाँधेकी बुलकीवाली भाउजू र साहू पल्टिरहका थिए ।  मलाई देखेर साहूले धोती तान्दै जिउ छोप्न थाले । भाउजू उठेर छातीमा ब्लाउज राखिन् । मेरो गाला रातो, पिरो भयो । म त्यहाँबाट फुत्त निस्केँ । म खेलिरहेकी छु भन्ने कुरा बिर्सेँ । मेरो जिउ डरले लगलग काम्न थाल्यो । 
बेलुकी भात खाएर आमाको छेउमा सुतेपछि बल्ल डर कम भयो । बिहान सुतेर उठेपछि जिउ काम्न बन्द भएको थियो । 

भाउजूको घर खेल्न जान छोडेँ । उनी मेरो घर छोरोलाई खेलाउन आएको बेला म पनि उनको अनुहारतिर पुलुक्क हेर्थे, केही बोल्दैनथे । 

विस्तारै म पढाइमा व्यस्त भएँ । दिउँसो स्कुल जान थालें । स्कुलबाट फर्केपछि घाँस काट्न जान्थेँ । खेल्ने समय हुँदैनथ्यो । बुलकीवाली भाउजूको सबै कुरा बिर्सिँदै गएँ । उनले फेरि छोरो जन्माइन्  । त्यो बच्चाको अनुहार बिन्देश्वर साहूको जस्तै छ भनेर कुरा काट्थे टोलका स्वास्नी मान्छेहरूले । 

समय बित्दै थियो । रामफल दाइ सैलुनमा व्यस्त रहन्थे । भाउजूले चारजना छोरा पाइन् । जेठो छोराबाहेक सबै छोराहरूको अनुहार साहूको अनुहार जस्तै मिल्छ भन्थे सबैले । चारजना बच्चाको जन्मपछि क्रमशः उनको घुम्टो कम हुँदै गयो । उनी निधार छोप्ने गरी मात्र घुम्टो ओढ्न थालिन् । अब उनको अनुहार सबैले देख्न सक्थे । 

अचानक साहू बिरामी परेका थिए । घरबाट निस्किन छोडिसकेका थिए । एक दिन बेलुकी साहूको निधन भयो । । साहूको निधनपछि सबैले यही भन्थे कि अब बुलकीवालीको के कुन्छ ? कसरी बस्ली ? उनी भावनात्मक रुपमा सायद साह्रै उदास थिइन् । उनी अलि दिन सारै दुब्लाइन् । सबैले भन्थे, साहूकै बिछोडमा दुब्लाई । उनी त्यो उदासी र पीडा कसैलाई देखाइनन् । कहिले स्कुल नगएकी उनी छोराहरूलाई स्कुल पठाइन् । जेठो छोरा १० कक्षासम्म पढ्यो । अरु छोराहरूले बीचमा पढाइ छाडेर सैलुनमा काम गर्न व्यस्त भए । 

मेरो पढाइ पनि पूरा भएर बिहे भयो । एकपटक बिहेपछि माइती आउँदा सुनेँ, ‘बुलकीवाली भाउजूको चक्कर फेरि अर्को गाउँको पासवानसँग चल्दै छ । उनीहरू हटियामा भेट्छन् । एकअर्कालाई माछा किनेर दिन्छन् । घन्टौँघन्टा हटियामा कुरा गर्छन् । उनी कयौँ रात हराउँछिन् ।’ 

उनले चारैजना छोराहरूको बिहे गराइन् । ६ महिनापछि म फेरि माइती आएँ  । माइती आएपछि मलाई आमाले सुनाइन्, ‘बुलकीवाली पासवानसँग पोइल गई । पासवान धेरै गरिब छ । एउटा मात्र छाप्रो छ । पासवानको गाउँ नजिकको हटियामा माछा र घोङ्घी पकाएर बेच्छे । बुलकीवाली धेरै मीठो पकाउँछे भन्छन् खाने मान्छेहरूले ।’  

गाउँभरि उनकै बारेमा हल्ला थियो । मान्छेहरूले भन्थे, किन भागी यत्रो सुख छाडेर । बुढेसकालमा किन मति बिग्रियो उसको ? दुईजना छोराहरू विदेश खट्छन् । सैलुन त्यति धेरै चल्छ । सुख छाडेर किन दुःख गर्न गई ? त्यहाँ माछा र घोङ्घी बेचेर गुजारा गर्दैछे । रामफलले म उसलाई ल्याउन जान्छु भन्छ तर छोरा र बुहारीहरूले पोइल गएको मान्छेलाई ल्याउनु पर्दैन भन्दै रिसाउँछन् । पोइल गएकी बुलकीवाली भाउजूलाई  ल्याउन दिएका छैनन् ।

उनको बारेमा सुनेर म उदास भएँ । मेरो दिमागमा बाल्यकालको त्यो घटना झलझल्ती आइरह्यो । सबैले भन्छन्, बुलकीवालीले किन त्यस्तो गरी ? बिन्देश्वर साहू नमरेको  भए ऊ पोइल जाने थिइन । छिः बुढेसकालमा पोइल गई । नाति नातिना हुने मान्छेले त्यस्तो किन गरी ? तर के उसलाई कहिले कसैले बुझ्ने प्रयास गर्यो ? एउटी नारी लोग्नेबाट के चाहन्छे ? कसैले बुझ्ने प्रयास गरेनन् । सबैले यति मात्र भने सुख छाडेर दुःख गर्न गई । 

पैसा, सम्पत्तिले मात्र नारीलाई खुसी राख्न सक्छ र ? दाइ दिनभरि सैलुनमा व्यस्त रहन्थे । उनलाई समय दिएको भए शायद ऊ भाग्दैन थिइ । उनी पोइल गएको गाउँ नजिकै छ । साइकलमा गए एक घन्टा लाग्छ । उनलाई भेटेर  सोध्ने इच्छा छ, भाउजू दाइले उहिले डामेको बदला लिन भाग्नु भएको हो त ? 

चाहे भने उनलाई भेट्न जान सक्छु तर बाल्यकालमा उनलाई त्यस्तो अवस्थामा दखेपछि म उनीसँग बोलेकी छैन । मलाई उनको अगाडि जाने साहास छैन । मभन्दा साहासी उनी निस्किन्, जसले सबै कुरा  लत्याएर आफ्नो मनको मात्र सुनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुना चौधरी
मुना चौधरी
लेखकबाट थप