शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिले ‘बिहेबारी २० वर्ष पारी’ : अब १८ वर्षमै बिहेको सारी !

शुक्रबार, ०३ असार २०७९, ०८ : ५६
शुक्रबार, ०३ असार २०७९

सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।

वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको जनाइएको छ । विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको बताउँदै मन्त्री बन्दीले बालविवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउने प्रक्रिया अघि बढेको जानकारी दिए । 

‘विवाहको उमेर १८ वर्ष बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाइन्छ । १८ वर्षमा भोट हाल्न पाइन्छ। २० वर्षमा विवाह भन्ने कानुन छ’, मन्त्री बन्दीले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि अवस्थाले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ।’

विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बालविवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म सजाय हुने विद्यमान कानूनमा व्यवस्था छ । २० वर्ष भन्दा कम उमेरमा गरेको विवाह बदर हुने अपराध संहितामा उल्लेख छ ।  

मन्त्री बन्दीको अभिव्यक्ति आउनु पहिल्यै नै नेकपा एमालेकी सांसद् गंगा सत्गौंवा चौधरीले पनि विवाहको उमेर घटाउनु पर्ने धारणा राखेकी थिइन् । विवाहको उमेर २० वर्षबाट १८ वर्ष बनाउनुपर्नेमा सांसद चौधरीको जोड छ । सहरका मान्छे बिहे अगाडि आफ्नो खुट्टामा उभिनुपर्दछ भन्ने कुरामा सचेत छन् । शिक्षित परिवारमा २० वर्ष भन्दा पनि माथि उमेरमा विवाह गर्ने चलन छ । तर कानुन सहरको मान्छेहरुका लागि मात्र ल्याएर हुँदैन । गाउँघरतिर वा दुर दराजमा सानै उमेरमा विवाह गर्छन् । उनी भन्छिन्, ‘गाँउमा १५-१६ वर्षको उमेरमा नानीहरुले प्रेम विवाह गरेर सन्तान जन्माएका छन् । ’सन्तान जन्मेपछि आमाको विवाह दर्ता, बच्चाको जन्म दर्ता र नागरिकता हुँदैन । यसले आमा र बच्चा दुवै समस्यामा पर्छन् । कानुनले उमेर हद राखिदिएको कारणले यस्ता समस्या गाँउमा विकराल रुपमा बढिरहेको उनको जिकिर छ। 
केटाकेटी सानै उमेरमा भागेर बिहे गर्दाको परिणाम निकै भयावह भएको सांसद चौधरीको भनाइ छ ।

सानै उमेरमा विवाह गर्दा जीविको पार्जनको लागि सक्षम नहुँदा उनीहरु पछि परिवारको सम्पर्कमा आउँछन् । उनी भन्छिन्, ‘त्यसपछि परिवारले केटालाई जवरजस्ती करणीको मुद्धा हाल्दिछ । यसो गर्दा छोरा मान्छे अन्यायमा पर्छन् ।’अन्तरजातीय विवाहमा त झनै सानै उमेरको विवाहमा बलात्कारको मुद्धा लगाइएको छ । महिलाको हकको लागि पुरुषलाई पीडित बनाउन हुँदैन । ‘बिहे गर्दाको उमेर पो सानो हो, सहमतिमा भएको सम्बन्धलाई बलात्कारको मुद्धा लगाइदिने ?उनको प्रतिप्रश्न छ । अनाहकमा पुरुष नफसुन् भनेर बिहेको उमेर घटाउनुपर्ने उनको तर्क छ । 

उता विवाहको उमेर घटाउनुपर्ने विषयमा अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । समाज गलत दिशातिर गैरहेकोमा यो निरर्थक बहस भएको उनको भनाइ छ । ‘१६ देखि २० वर्षको उमेर भनेको दक्षता निखार्ने उमेर हो,’ उनले भनिन् । यही उमेर समूहको मिहिनेतले युवाहरुको भविष्य निर्धारण गर्छ । दुई वर्ष घटाउने बहस भएको छ तर दुई वर्षले धेरै फरक पार्ने उनले तर्क गर्छिन् । उनी भन्छिन्, ‘१६ वर्षको उमेरमा एक युवाले एसइइ पास गर्छ, नागरिकता लिन्छ र २० वर्षमा स्नातक तह उत्तीर्ण गर्छ ।’ जागिर खान कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्छ । विवाह एक ठुलो जिम्मेवारी हो । जिम्मेवारी थप भएकै कारणले कुनै युवा स्नातक तहको शिक्षा लिनबाट वञ्चित हुन नहुने अन्सारीको तर्क छ । 

दक्षिण एसियाको धेरै मुलुकमा विवाहको उमेर २० देखि २१ वर्ष छ । नेपालमा पनि २० वर्ष उमेर कायम गर्नुको मुख्य कारण कम उमेरमा गर्भवती हुँदा किशोरीहरुको मृत्युदरको संख्या अत्यधिक बढेकोमा घटाउनु थियो । तर सरकार विना छलफल बिहेको उमेर घटाउनमा उद्दत छ । ‘किशोर किशोरी खाली दुलाहा दुलहीमात्रै होइनन् ।’ उनले भनिन् । शिक्षा, स्वास्थ्य, आत्मनिर्भरतालगायत शारीरिक, मानसिक, मनोसामाजिक, आर्थिक सशक्तीकरण हुन आवश्यक छ । मन लागेको बेलामा बिहे  गर्न पाउनुपर्छ भन्ने जवाफमा उनले कसैले १२ वर्षको उमेरमा बिहे गर्छु भन्यो भने अनुमतिदिने हो ?भन्नेप्रश्न गर्छिन् । 

नागरिक स्वतन्त्रताको कुरा गरिरहँदा राज्यले कस्तो किसिमको नागरिक उत्पादन गर्ने भन्ने महत्वपूर्ण कुरा हो ? राज्यको लागि सक्षम नागरिक उत्पादन गर्ने कि असक्षम ? स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता हो वा होइन? कम उमेरमा विवाह गर्दा गरिबी बढ्ने अन्सारीको भनाइ छ । ‘किन कसैले कम उमेरमै बिहे गर्यो,कारण खोज्नुपर्छ । किशोर किशोरीलाई वैशले उन्मत्त भयो, बिहे गर्यो भनेर हल्का टिप्पणी गर्नु मिल्दैन । सरोकारवाला निकायले ‘बिहे गर्यो त गर्यो भनेर उम्किन मिल्दैन,’उनले भनिन् । 

६-६ महिनामा कानुन परिवर्तन हुनु हुँदैन । सबै कुराको लागि योग्य भएपछि बिहे गर्नुपर्छ भन्ने शिक्षा दिनुपर्छ । बिहेवारी कानुनलाई कार्यान्वयन गर्न नसक्नु सरकारको अकर्णमन्यता हो । भएको कानुन लागू गर्न नसक्ने, सरकारको क्षमतामाथि प्रश्न उठाउनुपर्ने अन्सारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप