शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
कांग्रेस पदाधिकारी बैठक

देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !

शुक्रबार, २६ वैशाख २०८२, १४ : ०२
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ । 

सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।

‘सत्ता गठबन्धनबारे बाहिर आएजस्तो केही भएको छैन । पहिला २०७९ को निर्वाचनपछि हामीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेका होइनौँ । उहाँले नै हामीलाई छोडेर नेकपा एमालेसँग मिल्न जानुभएको हो,’ बैठकमा देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ‘केपी ओलीजी पनि अहिलेसम्म गठबन्धन गरेर हामीसँगै हुनुहुन्छ । २०८४ को निर्वाचनसम्म सँगै जाने कुरामा हामी ढुक्क छौँ । बिचमै छोडेर जानु भयो भने त के लाग्छ र । हाम्रो तर्फबाट त्यस्तो समस्या छैन ।’

सत्ता गठबन्धनबारे गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि सत्ता गठबन्धनबारे ब्रिफिङ गरेका थिए । गृहमन्त्री लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भनेर हल्ला चले पनि सत्य त्यस्तो नभएको बताएका थिए । 

गभर्नर नियुक्तिको विषयमा बिहीबार साँझ प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूसँग भएको छलफलमा सहमति भइसकेको गृहमन्त्री लेखकले बताएका थिए । त्यसपछि सभापति देउवाले गभर्नरको विषयमा हिजो भन्दा पहिला नै ओलीसँग सहमति भइसकेको बताए । देउवाले गभर्नरबारे बैठकमा भनेका थिए, ‘केपीजीले मानिसक्नु भएको छ । हामीले  गभर्नर पाउने निश्चित भइसकेको छ । मान्छेबारे टुङ्गो भइसकेको छैन । अब कुरा गरेर टुंग्याउँछौँ ।’ त्यसपछि पदाधिकारीहरूले गभर्नरका कारण गठबन्धन नै टुट्न लाग्यो भन्ने हल्ला फैलाउनेहरू सलबलाएको भन्दै छिटै टुङ्गो लगाउन आग्रह गरेका थिए । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले गभर्नरको विषयमा एमालेसँग सहमति भइसकेको बैठकमा सभापति देउवाले ब्रिफिङ गरेको जानकारी दिइन् । ‘सभापतिज्यूले राष्ट्र बैंकको गभर्नरमा एमालेसँग सहमति भइसकेको जानकारी दिनुभयो । मान्छे मात्रै टुंगिन बाँकी रहेको उहाँको भनाइ छ । हामीले लामो समय गभर्नर नटुङ्गिँदा अनेक हल्ला चलेकाले छिटो टुंग्याउन आग्रह गर्‍यौँ,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन् । 

पदाधिकारीहरूसहित राष्ट्रियसभामा पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, गृहमन्त्री लेखकसहितका नेताहरूसमेत उपस्थित थिए । 

बैठकमा सत्ता गठबन्धनबाहेक राष्ट्र बैंकको गभर्नर, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन, भारत–पाकिस्तानबिचको द्वन्द्व, संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति, र विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा छलफल भएको बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । 

बैठकमा पदाधिकारीहरूले द्वन्द्वसँग सम्बन्धित दुई आयोग गठनको विषय कहाँ पुगेको छ ? पदाधिकारीबारे के–के कुरा भइरहेको छ भन्नेलगायतका प्रश्न सभापति देउवालाई सोधेका थिए । 

त्यसपछि उनले यसबारे भइरहेको प्रगतिबारे ब्रिफिङ गर्न गृहमन्त्री लेखकलाई समय दिएका थिए । लेखकले बैठकमा राखेको धारणा उल्लेख गर्दै एक पदाधिकारीले भने, ‘कांग्रेस, एमाले र माओवादीबिच आयोगका पदाधिकारीबारे मोटामोटी सहमति भइसकेको छ । व्यक्ति भने टुंगिसेका छैनन् । बाहिर आएरजस्तो विवाद छैन । केही दिनमै तपाईँहरू सुखद् समाचार सुन्नुहुन्छ ।’

बैठकपछि प्रवक्ता महतले सञ्चारकर्मीहरूसँग संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू टुङ्गो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानुन टुङ्ग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेका छिटो टुंग्याउन सरकारलाई सुझाव दिनुपर्ने धारणा पदाधिकारीहरूबाट आएको जानकारी दिए । 

‘टीआरसी र बेपत्ता पारिएका व्यक्तिहरू टुङ्गो लगाउनुपर्ने अवस्था छ । यो धेरै ढिलो भइसकेको अवस्था छ । कानुन हामीले टुङ्ग्याऔँ । सर्वोच्च अदालतको जुन परिमार्जन गर्ने आदेशपछि । तर अझै पनि त्यो संरचना नबन्नाले काम अगाडि बढेको छैन । यसलाई चाँडो टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही किसिमबाट सम्बन्धित स्टेक होल्डर दलहरूसँग पनि कुराकानी छिटो अगाडि बढाउने र यसलाई निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरूको विषयमा पनि, सत्य निरूपण र मेलमिलापको विषयमा पनि टुङ्गो लगाउने गरेर यो कमिसन अगाडि बढाउनुपर्छ भनेर एउटा निष्कर्ष निकालेका छौँ,’ प्रवक्ता महतले भने, ‘जति पनि संवैधानिक संरचनाहरू छन्, त्यसलाई पनि पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्छ भन्ने कुरा गरेका छौँ ।’

त्यस्तै बैठकले पार्टी सधैँ आतंकवादी हमलाको खिलाफमा रहने स्पष्ट पारेको छ । बैठकले भारतले आतंकवादको विरुद्धमा पाकिस्तानमाथि गरेको कारबाही जायज रहेको निष्कर्ष निकालेको छ । ‘हामी जहिले पनि आतंकवादको खिलाफमा छौँ,’ प्रवक्ता डा. महतले भने, ‘आतंकवादको खिलाफमा हुने कारबाहीलाई जायज ठान्छौँ । बैठकले त्यही निष्कर्ष निकालेको छ ।’ 

कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउने र टुङ्ग्याउने क्रममा सार्वजनिक र निजी विद्यालय सबैलाई समेट्नु पर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप