बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडक विस्तार : ४२ महिनाको सम्झौता, ४१ महिनामा एक चौथाइ पनि भएन काम

बिहीबार, २३ असार २०७९, ०६ : ४७
बिहीबार, २३ असार २०७९

बुटवल । बुटवल–नारायणगढ सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको  थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले रातोपाटीलाई बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा उक्त सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।

अहिलेसम्म के के भयो काम ?

११४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।

बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले रातोपाटीलाई बताए । उता बर्दघाट–गैँडाकोट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ ।

बुटवल–बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने प्रमुख इन्जिनियर शाक्यले जानकारी दिए ।

यस्तै, ९ वटा ठुलो पुल बनाउनुपर्नेमा ३ वटा बनिसकेको र अन्य ३ वटा पुलको अधिकांश काम सकिएको उनको भनाइ छ । यो खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम २४ किलोमिटर क्षेत्रमा भएको दाबी गरिएको छ ।

बर्दघाट–गैँडाकोट खण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालका अनुसार साढे ५ किलोमिटरमा दुईतिरको साइट पूरा भएको छ । यस्तै १० वटा साना पुलको काम सकिएको छ भने अझै दुईवटा पुल बनाउन बाँकी छ । कल्भर्ट २१५ मध्ये १३१ वटा निर्माण भएका छन् । अरुण खोला, विनयी खोला लगायतका ठुला पुल निर्माणको काम आधाजसो भएको छ । सो खण्डमा पर्ने रुख कटानको काम करिब ९९ प्रतिशत सकिएको उनले बताए ।  

खर्चको अवस्था

कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारले व्यहोर्ने गरी सडक विस्तारको काम सुरु भएको हो । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको थियो ।

एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । गैँडाकोट–दाउन्ने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ । अहिलेसम्म गैँडाकोट–दाउन्ने सडक खण्डमा १ अर्ब ३० करोड अर्थात् १३ प्रतिशत खर्च भएको  इन्जिनियर ढकालले बताए । दाउन्ने–बुटवल खण्डमा भने यो वर्षका लागि आएको २ अर्बमध्ये ८५ करोड खर्च भएको छ ।

निर्माण कम्पनीले रुख कटान, विद्युत्को तार सार्न सरकारी प्रक्रियामा झमेला जस्ता कारण समयमै काम सम्पन्न हुन नसकेको जनाउँदै म्याद थपका लागि माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप