शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुसी हुँदा उत्पादन हुने हर्मोनले स्वास्थ्यमा कस्तो पार्छ प्रभाव ?

खुसी हर्मोन बढाउन गर्नुपर्छ यी उपाय
बुधबार, ०४ साउन २०७९, १५ : २४
बुधबार, ०४ साउन २०७९

 शान्त भएर प्राकृतिक भोजन गर्ने, सम्पूर्ण जीवजगतलाई माया गर्ने, निर्लोभी भएर कमाइ गर्ने, एक पुरुष एक स्त्रीबिचको दिव्य जीवन जिउने, आलस्यरहित फुर्तिलो भएर वर्तमानको विशालतालाई चिन्ने व्यक्ति स्वस्थ रहन्छ । साथै, नियमित आसन, प्राणायाम र ध्यान गर्ने, शाकाहारी भोजन गर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थ नखाने, निरन्तर निर्मल बन्ने प्रयत्न गर्ने मानिस सधैं आनन्दित, स्वस्थ र सम्पन्न हुन्छ ।

स्वस्थ शरीरमा स्वस्थ मन हुन्छ, जसले दिव्य जीवन प्राप्त गर्न सक्छ र यसैलाई स्वास्थ्य अवस्था भनिन्छ । र, यस्तो अवस्थामा रहने मानिस सधैं खुसी र सुखी रहन्छ ।

तर अहिलेको एक्काइसौं शताब्दीमा चरम विकासको युगसँगै विज्ञान र प्रविधिको उपलब्धिको कारणले मानिसलाई एक पाईला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् र मानिस प्रविधिको दास भएको छ ।

खाना मीठो, चिल्लो र मसालेदार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसका दैनिकी बनिरहेका छन् । त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोग नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगले मानिसलाई ग्रस्त बनाइरहेको छ ।

त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पु-याएको छ भने अर्कोतर्फ मानिस जति सचेत र प्रविधियुक्त हुँदैछ, त्यति मात्रामा मानिसमा छटपटी, बेचैन र जिन्दगी नै अस्तव्यस्त हुन पुगेको छ । मानिसहरू तनाव, चिन्ता, डिप्रेसन र अनिद्राका सिकार बनिरहेका छन् । तिनमा खुसी र हाँसो कहिल्यै नफर्कने गरी हराउन थालिसकेको छ ।

यसरी सरसर्ती हेर्दा मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तन र अस्वस्थकर खानपानले गर्दा निको नहुने खालका गम्भीर रोग देखापर्ने गरेको पाइन्छ । यस आलेखमा मन प्रसन्न हुँदा वा खुसी हुँदा शरीरमा उत्पादन हुने हर्मोन र ती हर्मोनले पार्ने असरको बारेमा केही प्रष्ट पार्ने जमर्को गरिएको छ ।

खुसी हुँदाका हर्मोन र त्यसका असर

लामो समयसम्म तनावमा रहँदा हाम्रो शरीरमा विभिन्न हर्मोन उत्पादन हुन्छ, यसले शरीरलाई हानी गर्ने भएकोले सकभर तनावमा रहनु हुँदैन । जसरी तनावमा रहँदा कोर्टिसोल जस्ता हर्मोनको उत्पादन हुन्छ, त्यसरी नै हामी खुसी हुँदा पनि विभिन्न हर्मोन उत्पादन हुन्छ । खुसी हुँदा उत्पादन हुने हर्मोनले शरीरमा सकारात्मक प्रभाव पार्ने भएकोले हामी निरन्तर खुसीका साथ बाँच्नुपर्ने हुन्छ । खुसी भएको बखत उत्पादन हुने मुख्य ४ वटा हर्मोन यसप्रकार छन्ः

डोपामाइन 

यसलाई असल अनुभव हुने हर्मोन पनि भनिन्छ । जुन खुसीका अनुभूति दिंदा, पढ्ने क्रममा, अंगहरू चलायमान बनाउन, स्मरण शक्तिका लागि निकै महत्वपूर्ण छ ।

सेरोटोनिन

यसले मुड राम्रो बनाइ दिनुका साथै राम्रो निद्रा पार्ने, भोक जगाउने, पाचन राम्रो बनाउने, सिकाई उपलब्धिमुलक बनाउने र स्मृति राम्रो बनाउने काम गर्छ । हामी सूर्यको किरणमा बस्दा यो हर्मोनको उत्पादन बढी हुन्छ ।

इन्डोर्फिन

यो शरीरमा प्राकृतिक तवरले दुखाई निवारण गर्ने हर्मोन हो । शरीरमा तनाव र दबाब हुँदा, सूर्यको किरणमा बस्दा, राम्रा काम गरेर पुरस्कृत हुँदा, खाना खाँदा, अभ्यास गर्दा वा यौन सम्पर्क गर्दा यो हर्मोन उत्पादन हुन्छ ।

अक्सिटोसिन

यसलाई प्रेम हर्मोन पनि भनिन्छ । यो बच्चा जन्माउँदा, स्तनपान गराउँदा र आमा र बच्चाको सम्बन्ध प्रगाढ भई माया ममता हुँदा उत्पादन हुन्छ । यो हर्मोनले विश्वास बढाउने, सहानुभूति दिने, सम्बन्ध बढाउने काम गर्छ भने माया गर्दा, अंगालो हाल्दा, किस खाँदा र यौन सम्पर्क गर्दा पनि उत्पादन हुन्छ ।

खुसी हर्मोन बढाउन निम्न व्यवहार अपनाउँदा उपर्युक्त हुन्छः

-    सूर्यको किरणमा दिनहुँ बस्ने: कम्तीमा १०–१५ मिनेट ।

-    अभ्यास वा व्यायाम गर्ने: अभ्यास र इन्डोर्फिन, अभ्यास र डोपामाइन, अभ्यास र सेरोटोनिन एक आपसमा सम्बन्धित छन् ।

-    हाँस्ने: हाँसोले तनाव र चिन्ता हटाइ मुड राम्रो बनाउने, इन्डोर्फिन र डोपामाइन हर्मोन बढाउँछ ।

-    खानेकुरामा ध्यान दिने: खाना बनाउने क्रममा आफूलाई मनपर्ने व्यक्तिसँगै बसेर बनाउँदा अक्सिटोसिन हर्मोन बढ्छ, केही मसलायुक्त खानाले इन्डोर्फिन हर्मोन बढाउँछ, दही, गेडागुडी, कम चिल्लो, बदाम आदिले डोपामाइन हर्मोन बढ्छ । ट्रिप्टोफेनयुक्त खानाले सेरोटोनिन हर्मोन बढ्छ भने दही, किम्ची जस्ता प्रोबायोटिक्स खानाले विभिन्न हर्मोन उत्पादन हुन्छ ।

-    संगीतमा रमाउने: संगीतमा रमाउँदा डोपामाइन बढ्छ, साधारण संगीतमा आनन्द लिंदा पनि मुड राम्रो हुने र सेरोटोनिन बढ्छ । संगीतकारले संगीत रचना गर्दा पनि इन्डोर्फिन बढ्छ भने नाचगान गर्दा पनि इन्डोर्फिन बढ्छ ।

-    ध्यान गर्ने: ध्यान गरेमा तनाव कम भई राम्रो निद्रा लाग्छ, डोपामाइन र इन्डोर्फिन जस्ता हर्मोन बढ्छन् ।

-    माया ममता बाँड्ने: किस गर्दा, अंगालो हाल्दा, माया गर्दा, यौन सम्पर्क गर्दा अक्सिटोसिन हर्मोन बढ्छ र यसले गर्दा थप आनन्द र खुसीयाली छाउँछ । त्यस्तै नाचगान, जोडीसँग हल्का मद्यपान गर्दा र यौन सम्पर्कले इन्डोर्फिन पनि बढाउँछ भने यौन सम्पर्कपछि स्खलन हुँदा डोपामाइन हर्मोन उत्पादन हुन्छ ।

-    जनावरहरूसँग समय व्यतित गर्ने: घरपालुवा जनावर जस्तै कुकुरलाई स्पर्श तथा माया ममता गर्दा, मनपर्ने कुकुर देख्दा वा कुकुरले अँगालो हाल्दा पनि अक्सिटोसिन हर्मोन बढ्छ ।

-    समयमा सुत्ने र उठ्ने: निद्रा नपर्दा डोपामाइन लगायत अन्य हर्मोनमा असन्तुलन पैदा भई मुड खराब हुने र अन्य शारीरिक समस्या देखा पर्न थाल्छ । त्यसकारण सुताई प्रभावकारी हुनु आवश्यक छ ।

-    तनाव हटाउने: तनावमा रहँदा डोपामाइन र सेरोटोनिन हर्मोनको तह घट्ने, मुडमा नकारात्मक असर पर्ने र स्वास्थ्य समस्या आउने भएकाले तनाव हटाउन हाँस्ने, तनाव गराउने परिस्थितिबाट अन्यत्र जाने, अभ्यास गर्ने, ध्यान गर्ने, सामाजिक अन्तरक्रिया गर्ने जस्ता उपाय अपनाउनु पर्छ ।

-    सञ्चार गर्ने: विभिन्न सञ्चार र सामाजिक सञ्जालमा रमाउने मानिसको चारवटै खुसी हर्मोन बढ्ने भएकाले आवश्यकता अनुसार सञ्चार गर्नुपर्छ ।

जीवनलाई यसरी बनाउन सकिन्छ खुसीमय:

-    तनावका विषयवस्तु सकभर बिर्सिने ।

-    विवाह समारोह, जन्मदिनका भोजहरु आदिमा भाग लिने । आएको अवसरको राम्रो सदुपयोग गर्नुपर्छ ।

-    आफ्ना साथी वा बच्चाहरुको खुसीयालीमा भाग लिने र त्यसबाट भरपूर मज्जा लिने ।

-    आफ्ना सबै प्रतिबद्धता पुरा गर्ने र पुरा गर्न नसकिने अवस्थामा प्रतिबद्ध नहुने ।

-    झुटा वा हुनै नसक्ने प्रतिज्ञा नगर्ने ।

-    आफ्नो खुसीको लागि नयाँ नयाँ ठाउँ सिर्जना गर्ने ।

-    व्यक्तिहरुले दिने राम्रा सल्लाह पालना गर्ने र अनावश्यक सल्लाह भए तिरस्कार गर्ने ।

-    कुनै सीमा तोकेर पारिवारिक विदामा पैसा पनि खर्च गर्ने ।

-    सामाजिक रुपमा अस्वीकार्य काम लागुपदार्थ, जाँडरक्सी, चुरोट सेवन नगर्ने र वेश्यावृत्ति नगर्ने ।

-    आफ्ना परिवारलाई सकेसम्म खुसी राख्ने र भरपुर आनन्द लिने ।

    अन्तमा, आजकाल हामीलाई खुसी हुन समस्या छ । किनकि हामीले जहिले पनि जहाँ पनि मस्तिष्कमा दःुखद परिस्थिति नै भरिरहेका हुन्छौं, सुखको अनुभव गर्न सकिरहेका हुँदैनौं । सबै सुखको आधार भनेको सु–स्वास्थ्य नै हो ।

आयुर्वेद उपचार पद्धतिका अनुसार जसका त्रिदोष (वात, पित्त, कफ) ठीक छन्, खानेकुरा पचाउने पेटका अग्नि (जठराग्नि) ठीक छन्, शरीरलाई धारण गर्ने धातुहरू (रस, रक्त, मासु, बोसो, ह-ी, मज्जा तथा वीर्य) सही अनुपातमा छन्, बाह्य तथा भित्री अंगहरूले ठीक ठीक किसिमले काम गरिरहेका छन् र आत्मा पनि खुसी छ भने त्यस्तो व्यक्तिलाई स्वस्थ व्यक्ति भनिन्छ ।

स्वस्थ शरीर र मनका लागि तीन स्तम्भ आहार, निद्रा र ब्रह्मचर्य अपनाउनुपर्छ । ती बाहेक व्यायाम, स्नान र ध्यान पनि स्वास्थ्यको लागि नभइ नहुने तत्व हुन् । जसले सधैं खुसीको अनुभूति दिलाउँछ र तनाव हुन दिंदैन ।

लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप