सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारलाई असफल, राष्ट्रघाती र फासीवादी भन्दै तत्काल विघटनको माग गरेको छ।
- पार्टीले सरकारमाथि देशलाई सिक्किमीकरणको दिशामा लगेको, सुकुम्बासीलाई उठिबास लगाएको र भारतसामु लम्पसार परेको आरोप लगाएको छ।
- सरकारले ल्याएको बजेटलाई नवउदारवादी र जनघाती भन्दै पार्टीले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको अधिकार रक्षाका लागि नयाँ विकल्प खोज्न आह्वान गरेको छ।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पूर्ण रूपमा असफल, राष्ट्रघाती र फासीवादी दिशामा उन्मुख भएको निष्कर्ष निकाल्दै तत्काल विघटनको माग गरेको छ।
पार्टीका महासचिव सीपी गजुरेल गौरवद्वारा जारी विज्ञप्तिमा देशलाई सिक्किमीकरणबाट बचाउन सम्पूर्ण देशभक्त र वामपन्थी शक्ति एकजुट भई स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा बालेन सरकारले गरिब र सुकुम्बासीलाई उठिबास लगाएर गरिबीको होइन, गरिबकै उन्मूलन गर्न खोजेको आरोप लगाइएको छ। वास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन नगरी सर्वोच्च अदालतको आदेशसमेत अवज्ञा गर्दै देशभरका बस्तीमा डोजर चलाइएको र महिना दिनभन्दा बढी समयदेखि नागरिकलाई होल्डिङ सेन्टरमा अलपत्र पारिएको पार्टीले जनाएको छ। साथै, संसद् अधिवेशन रोकेर राष्ट्रपतिलाई अध्यादेशमा हस्ताक्षर गर्न बाध्य पार्ने, गौरीबहादुर कार्की आयोगको सिफारिसका नाममा केपी ओली र रमेश लेखकलाई पक्राउ गर्ने तथा विद्यार्थी र ट्रेड युनियन खारेज गर्ने सरकारको कदमलाई पार्टीले फासीवादी अभ्यासको संज्ञा दिएको छ।
सरकारले भारतसामु लम्पसार परेर देशको स्वाधीनतामाथि आँच पुर्याएको गम्भीर आरोपसमेत विज्ञप्तिमा छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भारतसँग गरेको सुपुर्दगी सन्धि (फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता) ले आपराधिक अनुसन्धानका नाममा भारतीय प्रहरीलाई नेपालमा अड्डा जमाएर बस्ने बाटो खोलेको पार्टीको दाबी छ। विगतका कुनै पनि संसद्वादी पार्टीले गर्न नसकेको सम्झौता गरेर बालेन सरकारले भारतीय शासक वर्गको इसारामा काम गरेको आरोप लगाइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई पार्टीले बहुराष्ट्रिय कम्पनी र दलाललाई पोस्ने नवउदारवादी तथा जनघाती बजेट भनेको छ। बजेटले देशलाई थप ६ खर्ब ५७ अर्बभन्दा बढी ऋणको भारी बोकाएको, देशभित्र रोजगारी सिर्जना गर्नुको साटो युवालाई विदेश धकेल्ने नीति लिएको र बिजुली खपतमा कर बढाएर गरिबको ढाड सेकेको विज्ञप्तिमा उल्लेख छ। शिक्षा र स्वास्थ्यमा लगाइएको करले यी अत्यावश्यक सेवा सर्वसाधारणको पहुँचबाहिर पुगेको र संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका करका दायरा अर्थ मन्त्रालयले बलजफ्ती हेरफेर गरेर बहुमतको दम्भ देखाएको पार्टीको ठहर छ।
प्रधानमन्त्री बालेनले संसद्मा जवाफ दिने क्रममा ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिलाई पार्टीले राष्ट्रघाती वक्तव्य भनेको छ। नदीको बहाव परिवर्तनका कारण स्थानीयले उपभोग गर्दै आएको जग्गालाई लिम्पियाधुरा, कालापानी र सुस्तामाथिको भारतीय अतिक्रमणसँग तुलना गरेर प्रधानमन्त्रीले लेन्डुप दोर्जेको बाटो समातेको आरोप पार्टीले लगाएको छ। नेपाल–भारत सिमानाबारे बेलायत र चीनलाई तान्न खोज्नु तर भारतले त्यसलाई ठाडै खारेज गरिदिनुले प्रधानमन्त्री कूटनीतिमा अपरिपक्व र सन्की साबित भएको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भव्य स्वागतसहितको भारत भ्रमणले नेपालमा भारतीय हस्तक्षेप अझ बढाउने दाबी गरिएको छ।
यो सरकारबाट राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको अधिकार रक्षा हुन नसक्ने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले देश बचाउन नयाँ विकल्प खोज्नुपर्ने बताएको छ। विज्ञप्तिको अन्त्यमा ‘राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त सङ्घर्षमा जुट्न’ सम्पूर्ण क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई आह्वान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण