शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमै बसेर नेपालीलाई ठग्छन् दलाल, राज्य मुकदर्शक

साउदी, दुबई, कतारमा दलालको बिगबिगी
बुधबार, २५ साउन २०७९, ०८ : १२
बुधबार, २५ साउन २०७९

स्याङ्जाका सूर्यप्रकाश गिरी दुबई बसेको १० वर्षभन्दा बढी भयो । दुबईमा बसेर उनी नेपालीलाई भिजिट भिसामा बोलाउने काम गर्छन् । त्यसका लागि उनले प्रतिव्यक्ति दुई लाखदेखि ५ लाखसम्म रूपैयाँ लिन्छन् ।

दुबईको सेक्युरिटी गार्ड, दुबई पुलिस, रोयल गार्ड, एडी पुलिस लगायतमा जागिर लगाइदिने भन्दै उनले नेपाली युवालाई भिजिट भिसामा बोलाउने र दुबई पुगेपछि अलपत्र पार्ने काम गर्दै आएका छन् ।

उनले त्यसरी ठगी गरेका पीडितको संख्या थुप्रो छ । तनहुँका सूर्यबहादुर अधिकारीले उनलाई डेढ लाख रूपैयाँ बुझाएका थिए । काठमाडौंमा रहेकी तबिता गुरूङको नाममा अधिकारीले पैसा जम्मा गरिदिए । उनीसँगै उनका साथीले दुई लाख रूपैयाँ तबिताको नाममा जम्मा गरेका थिए । तर, उनीहरू दुबई जानु त परै जावस्, आफूले दिएको पैसासमेत फिर्ता पाएका छैनन् । पैसा फिर्ता माग्दा गिरीले उल्टै धम्की दिन्छन् ।

बर्दियाका २६ वर्षीय योगेश परियार दुबईमा बसेर नेपालीलाई ठगी गर्ने गिरोहका नाइके हुन् । उनले पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भूतपूर्व, भगौडा तथा पेन्सन खाइरहेका व्यक्तिहरुलाई दुबईमा भिजिट भिसामा बोलाउँछन् । र उतै अलपत्र पारिदिन्छन् ।

मकवानपुरका राजकुमार मोक्तानाले योगेशलाई ५ लाख रुपैयाँ दिएका थिए । भिजिट भिसामा आएपछि यता सबै काम खोज्ने जिम्मा आफ्नो भएको भन्दै योगेशले राजकुमारलाई बोलाएका थिए । तर, उनी एयरपोर्टबाटै फर्किनुप-यो ।

योगेशमात्र नभएर उनकी श्रीमती सुन्तली पनि त्यही ठगीको काममा सक्रिय छिन् । योगेशकी आमा ठगी दमिनीसमेत छोराबुहारीको ठगी धन्दामा सहयोग गर्छिन् ।

तबिता गुरूङको नाममा पैसा जम्मा गरेर दिपकचन्द्र अधिकारी, गोपी सुनार, कमल कार्की, प्रेमराज सिग्देल, राजकुमार मुक्तान लगायतका १४ जना ठगिएका छन् । भिजिट भिसामा दुबई बोलाएर ठगी गर्ने गिरोह नै सक्रिय रहेको पीडितहरूको भनाइ छ ।

दुबईमै बसेर नेपाली ठग्ने अर्को गिरोहका नाइके हुन् गोरखाका सुवास मालबुल । उनले दुबईमा भिजिट भिसामा बोलाएर त्यहाँबाट युरोप पठाइदिन्छु भन्दै १५ जनाभन्दा बढीबाट लाखौं ठगेका छन् । उनले प्रतिव्यक्ति ८ देखि १५ लाख रूपैयाँसम्म लिएका छन् ।

दाङ घोराहीका प्रेमबहादुर बोहरा, सल्यानका राजेन्द्र रावल, उदयपुरका राकेश राई, निजगढ बाराका शुक्रान्त लुम्बा, ताप्लेजुङका कालुसिंह थिङ, हेटौंडाका मिलन थिङ, दाङका प्रदिप बस्नेत, दाङकै नविन बस्नेत लगायतलाई युरोप पठाइदिने भनेर सुवासको गिरोहले दुबई बोलाएको थियो ।

दुबई बोलाएर उक्त गिरोहले अहिले १० जनालाई अलपत्र अवस्थामा राखेको छ । उक्त गिरोहमा मालबुसँगै स्याङ्जाका चित्रबहादुर थापा र सल्यानका कृष्ण भण्डारी छन् । कृष्णले नेपालबाट मान्छे बोलाउने काम गर्छन् । मालबुले पैसा व्यवस्थापन गर्छन् भने चित्रबहादुरले नक्कली कागजात बनाउने काम गर्छन् ।

उनीबाट पीडित एक व्यक्तिका अनुसार दुबई भिजिट भिसामा बोलाएर युरोप पठाउँछु भन्दै नेपालबाटै पैसा लिन्छन् । अनि दुबई पुगेपछि उनीहरुले अलपत्र पारिदिन्छन् । ‘सुरुमा आजभोलिमा काम हुन्छ भनेर झुलाएर राख्छ । अनि भिसाको टाइम सकिएपछि ओभरस्टे बनाइदिन्छ र अलपत्र पारिदिन्छ,’ ती पीडितले भने ।    

त्यस्तै दुबईमै बसेर नेपालीलाई नै ठग्दै आएका अर्का व्यक्ति हुन् चितवन गैंडाकोटका आशिष गौतम । उनले धेरै नेपालीलाई राम्रो कम्पनीमा काम उपलब्ध गराइदिने भन्दै ठग्दै आएका छन् । उनीबाट पीडित एक नेपालीका अनुसार राम्रो कम्पनीमा काम लगाइदिने भनेर १० महिनादेखि अलपत्र पारेका छन् । ‘अहिलेसम्म न काममा लगाइदिएको छ, न पैसा फिर्ता गरेको छ,’ ती पीडितले भने ।

गौतमले उनीसँगै अन्य १० जनाभन्दा बढी व्यक्तिसँग यसरी नै राम्रो कम्पनीमा काममा लगाइदिने भन्दै २ देखि ५ लाख रूपैयाँसम्म लिएका छन् । त्यस्तै ललितपुरका रबिन नगरकोटी पनि दुबईमा बसेर नेपालीलाई नै ठग्दै आएका छन् । भिजिट भिसामा बोलाएर राम्रो कम्पनीमा काम लगाइदिने भनेर उनले अलपत्र पार्ने गरेका छन् ।

दुबईको एच एण्ड एम क्लोथिङ स्टोरमा काम लगाइदिने भन्दै आफैले अफर लेटर बनाएर पैसा लिने तर काम नलगाइदिने अर्का व्यक्ति हुन् हृदयराज पौडेल । उनले पनि नेपालबाट भिजिट भिसामा बोलाएर आफूहरूलाई अलपत्र पारेको पीडितहरूको भनाइ छ ।

दुबईमै बसेर ठगी धन्दा चलाउने आकाश क्षेत्रीको अर्को गिरोह छ । उनलाई जुना श्रेष्ठ थापाले साथ दिने गरेकी छन् । उनीहरुले राम्रो कम्पनीमा काम लगाइदिने भनेर नक्कली भिसा बनाएर दुबई बोलाउने र पैसा लिएपछि अलपत्र पार्ने गरेका छन् । आफू रोयल प्यालेस कम्पनीको म्यानेजर हुँ भन्दै आकाशले ठगी गर्ने गरेको उनीबाट ठगिएका एक व्यक्तिले बताए ।

दुबईमै बसेर ठगी धन्दामा लिप्त रहेका अर्का व्यक्ति हुन् कालिकोटका जयबहादुर विक । उनले सुरक्षा गार्डका काम लगाइदिने भन्दै नेपालबाट मान्छेहरूलाई भिजिट भिसामा बोलाउने र पैसा लिएपछि अलपत्र पार्ने गरेका छन् । उनले विशेषगरी भूतपूर्व आर्मी, प्रहरीलाई आफ्नो निशानामा पार्ने गरेका छन् । उनले प्रतिव्यक्ति ५ देखि ७ लाख रूपैयाँ लिने गरेका छन् ।

ठगी गर्ने यो समूहले सामाजिक सञ्जाल फेसबुकमा ‘दि रोयल गोरखा ओभरसिज प्रालि’ को नाममा सूचना निकाल्ने गरेका छन् । त्यहीँबाट सम्पर्कमा आएकाहरूलाई भिजिट भिसामा दुबई बोलाउने र पैसा लिएपछि बेवास्ता गर्ने गरेको एक पीडितले बताए ।

यसरी भिजिट भिसामा बोलाएर ठगी गर्ने दलालहरू दुबई, साउदी र कतारमा व्याप्त छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष कमल तामाङले यी तीन देशमा ठगी धन्दा निकै बढेको बताए ।

‘साउदी, दुबई, कतारमा भिजिट भिसामा मान्छे बोलाउने, उता लगेर अलपत्र पार्ने र केही समय झुलाएपछि ओभरस्टे गराइदिने गिरोह सक्रिय छ,’ उनले रातोपाटीसँग भने ।  

ती गिरोहहरूलाई राज्यले नियन्त्रण गर्न नसकेको र उनीहरूको धन्दा दिन प्रतिदिन बढिरहेको उनको भनाइ छ । ‘राज्यले पनि नियन्त्रण गर्न सकेको छैन । ती देशमा रहेका नेपाली दूतावासले पनि केही गर्न सकेका छैनन् । हाम्रो जस्तो गरिब राष्ट्रको दूतावासलाई त्यहाँको सरकारले वास्तै गर्दैन,’ तामाङले भने ।  

विदेशमा रहेका नेपाली दलालहरू एनआरएनको नाममा, नेपाली समाजको नाममा बसिरहेको उनको भनाइ छ । पछिल्लो समय दुबईमा यस्तो प्रवृत्ति निकै बढेको उनको भनाइ छ ।

मलेसियामा भने त्यस्तो गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘मलेसियामा त्यस्तो गर्न सकिँदैन । भिजिट भिसामा गएर काम गर्न सक्दैनन् । त्यो बाहेक अन्य देशमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति निकै बढ्यो,’ उनले भने ।

वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले भारतमा समेत दलालको बिगबिगी बढेको बताए । ‘नयाँ दिल्लीमा धेरै देशको दूतावास छ । हाम्रो नेपालीहरू भिसा लगाउने कामको लागि त्यहाँ जान्छन् । उनीहरू दिल्लीमा समेत ठगिन्छन्,’ उनले भने ।

आफूहरूले दलाललाई समातेर ल्याएर प्रहरीलाई बुझाउँदा समेत प्रमाण नपुगेको भन्दै छोड्ने गरिएको उनले बताए । ‘केही वर्ष अगाडि कुवेतमा रहेका २ जना दलाललाई समातेर नेपाल झिकाएका थियौं । प्रमाण नपुगेको भनेर प्रहरीले छोडिदियो,’ उनले भने, ‘इमिग्रेसनबाट वारेन्ट नोटिस जारी गरेर दुबई प्रहरीले पक्राउ गरेर नेपाल पठाइदिएको थियो तर, नेपाल आएपछि छोडिदियो ।’

मेनपावर व्यवसायी भन्दा यसरी ठगी गर्ने दलालको संख्या विदेशमा निकै बढेको उनको भनाइ छ । राज्यले चाहेको खण्डमा क्षणभरमै कारवाही गर्न सक्ने गोले बताउँछन् । उनले भने, ‘मेनपावरभन्दा पनि व्यक्तिगत दलाल निकै बढी छन् । नेपाल सरकारले चाह्यो भने एकैछिनमा कारवाही गर्न सक्छ तर, राज्यको इच्छाशक्ति चाहिन्छ ।’

वैदेशिक रोजगार विभागको उद्धार तथा राहत समन्वय शाखाका निर्देशक डम्बर बहादुर सुनुवारले त्यसरी ठगी परेको भन्दै फाट्टफुट्ट रूपमा उजुरी आइरहेको बताए । विदेशमै ठगी गरेको प्रमाण पुगेको खण्डमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने गरिएको उनको भनाइ छ ।

‘प्रमाण पुगेको खण्डमा इन्टरपोलबाट रेडकर्नर जारी हुन्छ । फाट्टफुट्ट पक्राउ परिरहेका छन् । विदेशमा त्यस्ता व्यक्ति कति संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन,’ निर्देशक सुनुवारले भने ।

जनशक्तिको अभावमा कुन देशमा कस्तो खालको आपराधिक घटना बढिरहेका छन् भन्ने तथ्याङ्क लिन कठिनाइ भइरहेको उनको भनाइ छ । ‘जनशक्तिको अभावले गर्दा त्यतातिर ध्यान दिन सकिरहेका छैनौं । कुन देशमा कस्तो खालको अपराध बढिरहेको छ भन्ने विषयमा अध्ययन गर्न सकिरहेका छैनौं । त्यसको तथ्याङ्क अभिलेखमा राख्ने सिस्टम पनि विकास भइसकेको छैन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप