शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'अब प्रदेशसभामा उम्मेदवार हुन्न'

सोमबार, २० भदौ २०७९, १५ : ५७
सोमबार, २० भदौ २०७९

सुदूरपश्चिम प्रदेश सभाको अन्तिम बैठक भदौ १७ बस्यो । सभामुख अर्जुन बहादुर थापाले बैठक अन्त्यको घोषणा गरेपछि प्रदेशसभा सदस्यहरु मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ केन्द्रित भएका छन् । थापा अझै सभामुखको जिम्मेवारीमा रहे पनि चुनावी गतिविधिमा सक्रिय देखिएका छन् । रातोपाटीले सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापासँग उनको पाँच वर्षे अनुभूतिसहित आगामी राजनीतिक यात्राबारे संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंशः

सभामुखको पाँच वर्षे जिम्मेवारीमा रहँदा कस्तो अनुभूति रह्यो ?

२०७४ माघ १७ गते हामीले प्रदेशसभा सदस्यको शपथ ग्रहण गरेका थियौं । मलाई प्रदेशसभा नेतृत्व गर्ने जिम्मेवारी दिइयो । त्यस यता नेतृत्व गर्दा मैले सबै दलका संसदीय दलका नेताहरुसँग, परामर्श समितिहरुसँग छलफल गरेर सबैको मनोकांक्षा अनुसार प्रदेशसभालाई कसरी सञ्चालन गर्नुपर्छ भन्ने सवालमा उहाँहरुको विचार लिएर काम गर्दै जाँदा अहिलेसम्म एकदुई वटा परिस्थिति बाहेक कुनै अप्ठ्यारो महसुस गरिनँ । सबै कानुन सर्वसम्मत् ढंगले पारित भएका थिए । प्रदेश सरकार बन्दै गर्दा पनि त्यस्तो कुनै अप्ठ्यारो भएन । प्रदेश सरकारको एकदुई वटा बजेटमा विरोध भएको थियो । मैले अध्यादेशबाट बजेट ल्याउने परिस्थिति नआओस् भन्नेमा लागेको थिएँ । पछि सबैको समन्वयमा ठिक समयमै सबै बजेट पारित भए । यद्यपि बजेटको रुपरेखा के थियो ? प्रकृति कस्तो थियो र कार्यान्वयन कसरी भयो भन्ने कुरा सरकारसँग सम्बन्धित छ । हामीले अहिलेसम्म ६७ वटा विधेयक पारित गरेका छौं ।

प्रदेशसभाका मुख्य उपलब्धि के–के भए ?

प्रदेशसभाको उपलब्धि भन्ने बित्तिकै प्रदेशसभाले के काम गर्छ भन्ने कुरासँग जोड्नुु पर्दछ । हामीले एउटा त सरकार निर्माण ग¥यौं, स्थायी सरकार दियौं । हामीले कानुन बनायौं । हाम्रो एकल अधिकार सूचीभित्र परेका क्षेत्रलाई समेट्ने गरी हामीले कानुन बनायौं । संघ र स्थानीय तहसँगको समन्वयमा हामीले ६७ वटा कानुन ल्याएका छौं । अर्कोकुरा, प्रदेशसभाले बजेट पारित गर्ने हो । यहाँबाट केही निर्णय भए, जस्तोकि प्रदेश राजधानी र नामकरणकै कुरा गर्दा यो प्रदेश सरकारसँग सम्बन्धित हो ।

जतिबेला नयाँ बजेट आउँथ्यो, अनि निकै सकसको अवस्था सिर्जना हुन्थ्यो नि ?

हो, त्यतिबेलाचाहिँ प्रतिपक्षको आवाज हुन्थ्यो, जनताको हितमा बजेट भएन भन्ने कुरा । त्यतिबेला नाराबाजी पनि हुन्थ्यो । कहिले काहीँ ड्राफ्ट पनि नजलेको होइन । पछि दुई पक्षीय वार्ता गरेर समाधान गर्न भूमिका खेलेको छु ।

गत वर्ष पनि असार २६÷२७ गते बजेट पारित भयो । यस वर्षमा पनि केही सत्ता पक्ष र केही प्रतिपक्षका कारण कहिले बैठक नै नबस्ने, कहिले कोरम नै नपुग्ने अवस्था थियो । तर मैले बजेटमा के–के महत्वपूर्ण योजना छुट्यो भनेर सत्ता र प्रतिपक्षसँग वार्ता गरेर योजना थप्न लगाएर बजेट पारित गराएको परिस्थिति थियो । असार २९ गते राति १० बजेको समयमा बजेट पारित भएको थियो । बजेट ल्याउँदा तीनै वर्ष नै केही असहजता भए पनि मैले भूमिका खेलेर बजेट सर्वसम्मत पारित गराएको छु ।

संसदमा तपाईको मुख्य ध्येय के हुन्थ्यो ?

यो अवधिमा मेरो खासगरी दुई वटामात्रै मुख्य ध्येय हुन्थ्यो । त्यसमा कटिवद्ध भएर लाग्थेँ र सफल पनि भएँ । पहिलो कुरा, म संसदलाई विघटन हुन दिनु हुँदैन भन्ने पक्षमा उभिएको छु । बेलाबेलामा भित्र–भित्र त्यस्तो खेल पनि नभएका होइनन् । तर मैले त्यो परिस्थिति आउन दिइनँ । अर्को कुरा, म सभाुमख हुँदा अध्यादेशमार्फत बजेट नआओस् भन्नेमा निश्चित थिएँ । र संसदबाटै बजेट पारित भयो ।

अब तपाईको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ ?

म नेकपा एमालेबाट आएको हो । स्वाभाविक रुपमा नेकपा एमालेबाटै अगाडि बढ्छु । म प्रदेश सदस्यको लागि अब उम्मेदवार हुन्न । पार्टीले टिकट दियो भने प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने हो । सर्वसम्मत ढंगले आयो भने म तयारी अवस्थामा छु । नदिए अरुलाई सहयोग पनि गर्छु ।

तपाईलाई भावी मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ नि ?

यी सब सम्भावनाका कुरा हुन् । राजनीतिक माहोल बन्यो भने नेतृत्व गर्न नसकिने पनि होइन । म उसै पनि पाँच वर्ष जनताकै लागि कानुन निर्माणको मुख्य स्थानमा छु । मेरो आफ्नै भिजन छ । निर्णय क्षमता पनि छ । सबै जिल्लाको बस्तुस्थितिको राम्रो ज्ञान छ । यहाँको बौद्धिक वर्गसँग चिनजान र समन्वय छ । कर्मचारीसँग राम्रो सम्बन्ध छ । यस्तो अवस्थामा एमालेको बहुमत आएको अवस्थामा प्रदेशको लागि राम्रो गरेर देखाउन सक्छु । तर अरु प्रदेशमा दुई महिने, तीन महिने मुख्यमन्त्री पनि भएका छन् । त्यो नहोस् भन्न बहुमतको सरकार पनि हुनुपर्‍यो । एमालेको बहुमत आउने भन्ने पनि छैन । यी सम्भावनाका कुरा न हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप