मेरी आमा

सिकिस्त आमालाई काखमा लिएर भन्नुपर्‍यो–  एऽऽऽ राता मकै

‘बुवा सेनाको कर्णेल भए पनि घरमा आमा नै प्रधानसेनापति थिइन्’

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

आमालाई अब छिटै गुमाउनुपर्छ भन्ने अभिनेता किरण केसी उर्फ राता मकैको मनमा परिसकेको थियो । बीएन्ड बी अस्पतालको बेड नम्बर ६०२ मा आफ्नी ९४ वर्षीया बिरामी आमालाई काखमा लिएर उनी बसिरहेका थिए । ब्लड प्रेसर हाई भएका कारण प्यारालाइसिस भएर आमाको आधा शरीर चल्दैनथ्यो । उनी बोल्न पनि सक्दिनथिन् । आमाको स्याहारसुसारमा कुनै कमी हुन नदिन उनी रातदिन खटिएका थिए । 


त्यहीबेला एउटी महिला आएर भनिन्, ‘ए, राता मकै दाइ ! यो मेरो बच्चालाई एकपटक ए राता मकै भनिदिनुपर्‍यो रे !’ 



किरणको अनुहारमा कुनै कान्ति थिएन, उनी अभिनय गरेर दर्शक हँसाउने मुडमा पटक्कै थिएनन् । त्यसमाथि उनी एक्लै बिरामी आमालाई कुरिरहेका थिए, घरका अरु सदस्य उनका लागि खाना लिएर आउँदै थिए । 



ती महिलाको आग्र्रहले किरणलाई अलिअलि रिस पनि उठ्यो । एकछिन त उनी केही बोल्न सकेका थिएनन् । ती महिलाले जोड गरिन्, ‘भन्दिनु न भन्दिनु, त्यतिभन्दा तपाईंको के जान्छ र ?’ 

किरणले आफू कलाकार भएको झट्ट सम्झे । एउटी महिलाले आफ्नो सानो बच्चालाई देशकै ठूलो कलाकारको चर्चित थेगो सुनाउन खोज्दै थिइन् । उनी र उनका साना छोरा किरणको मुखबाट निस्कने संवाद सुन्न आतुर देखिन्थे ।  

बालहठ र स्त्रीहठको अगाडि किरणको केही लागेन । आफ्नो पेसा र दर्शकको सम्मानमा उनले आफ्नो चर्चित संवाद बोल्नैपर्‍यो– एऽऽऽ राता मकै । 

‘हस्, धन्यवाद’ भनेर ती महिला बाटो लागिन् । किरणकी आमाले यो सबै नियालेकी थिइन्, तर प्रतिक्रिया दिन सक्ने अवस्थामा थिइनन् । यो ०६२ सालको कुरा हो । प्यारालाइसिस भएको ४५ दिनपछि किरणकी आमाले संसार छाडिन् । 

किरणले यो घटना सुनाइरहँदा हामी कल्पनामा डुब्दै थियौँ– जीवनको अन्तिम घडीमा किरणकी आमाले छोराको कलाकारिता हेर्न चाहेकी हुँदीहुन् र त्यही भयो ।

आजसम्म एक सय १५ फिल्म, टेलिफिल्मका करिब हजार भाग, एक सय व्यावसायिक विज्ञापन र १० हजारभन्दा बढी स्टेज प्रस्तुति दिएका अभिनेता केसी बालबालिकादेखि वृद्धवृद्धासम्ममा लोकप्रिय छन् । लोकप्रियताको यो शिखरसम्म आउन उनलाई मनोवैज्ञानिक आधार आमाले नै दिएकी हुन् । ‘कला क्षेत्रमा लाग्ने हौसला मैले आमाबाटै पाएको हुँ,’ उनी बाल्यकालमा आमाबाट पाएको साथ सम्झन्छन्, ‘दसैँ–तिहारमा हुने सांस्कृतिक कार्यक्रममा होस्, कसैको व्रतबन्ध, सप्ताह, महायज्ञ वा रत्यौली होस्, आमाले मलाई पठाउनुहुन्थ्यो । जा नाचेर आइज भन्नुहुन्थ्यो ।’

‘आमा बाघ हुनुहुन्थ्यो’

किरण बाल्यकालमा चकचके र झगडिया स्वभावका थिए । एक दिन उनको बदमासीलाई लिएर कसैले उनका बुवालाई कुरा लगाइदिएछन् । सेनाका जर्नेल उनका बुवा कडा मिजासका थिए । ‘बदमासी गर्छस्’ भन्दै उनले पहिले किरणलाई लात्तीले हाने । त्यसपछि झापड लगाउन के लागेका थिए, किरणकी आमा दौडेर आइन् र न्वारनदेखिको बल लगाएर श्रीमानलाई धकेलिदिइन् । किरणका बा भुइँमा लड्न पुगे । 

त्यसपछि किरणकी आमा कराउन थालिन्, ‘के गर्नु’भा, अबोध बच्चालाई ? किन त्यसरी हिर्काएको ? अहिले करङ भाँचिएको भए, हँ ? बच्चा हो, झगडा गर्ने लड्ने दौडिने गरिहाल्छ नि । केटाकेटीमा आफूले गरेको बिर्सनु भो ?’ 

यो घटना ०२८ सालतिरको हो, जतिबेला किरण १४ वर्षका थिए । किरणको स्मृतिमा आफूप्रतिको आमाको त्यो स्नेह उस्तै ताजा छ । नेपाली समाजमा श्रीमतीले श्रीमानलाई धकेलेर लडाउनु स्वाभाविक र सामान्य लाग्ने घटना होइन । यद्यपि छोराको मायामा किरणकी आमा बेलाबेला बाघ हुन्थिन् । 

रातोपाटीको ‘मेरी आमा’ स्तम्भका लागि संवाद गर्न किरणले २९ भदौमा हामीलाई नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा समय दिएका थिए । उनले आफ्नी आमालाई एक शब्दमा व्याख्या गरे, ‘मेरी आमा बाघ हुनुहुन्थ्यो ।’

बाबुआमाका १३ सन्तानमध्ये किरण सबैभन्दा कान्छा हुन् । उनकी आमाले जति दुःख गरिन्, १३ सन्तान जन्माउनमै गरिन्, कति सन्तान त हुर्किएनन् । त्यत्तिका सन्तान जन्माए पनि किरणको नजरमा आमा असाध्यै बलियी थिइन् । ‘मेरी आमाको शरीरमा यस्तो शक्ति र ऊर्जा थियो, उहाँले कहिल्यै अल्छी मान्नुहुँदैनथ्यो । उहाँलाई ज्वरो आएको मलाई कहिल्यै थाहा भएन । खोकी पनि लाग्दैनथ्यो,’ किरण आमाको बयान गर्छन्, ‘लाउन–खानको कुनै दुःख थिएन । दही, दूध, घिउ धेरै खाई काम गरेर होला, आमा एकदमै बलियी हुनुहुन्थ्यो ।’ 

किरणको जन्म ललितपुरको इमाडोलमा भएको हो, बुवा लेफ्टिनेन्ट कर्णेल दुर्गाबहादुर केसी र आमा इन्द्रकुमारीको कोखबाट । किरणका हजुरबुवा बडाहाकिम थिए, रवाफै बेग्लै थियो । हजुरबुवाका तीनवटी श्रीमतीमध्ये किरणका बुवा माइलीका छोरा हुन् । सबैभन्दा कान्छी श्रीमती विवाह गर्दा उनका हजुरबुवा ७२ वर्षका थिए । ऊ जमानै त्यस्तो, झ्याइँझ्याइँ बाजा बजाएर उलिनकाठमा चढेर किरणका हजुरबुवाले तेस्रो विवाह गरेका थिए । 

किरणका बुवा लेफ्टिनेन्ट कर्णेल, घर वरिपरि नै उनीहरूको जग्गा प्रशस्त थियो । किरणलाई सम्झना भएसम्म, उनको परिवारले वार्षिक सय मुरीजति धान र ६० मुरीजति गहुँ नै बेच्थ्यो । ‘हाम्रो रोपाइँ हुँदा हरिसिद्धि, टीकाथली, लुभु, चारघरे, दमाईटारबाट कर्नेलकोमा आज रोपाइँ छ भन्दै गीत सुन्न आउँथे,’ किरण भन्छन्, ‘हाम्रो रोपाइँ एउटा उत्सवजस्तै हुन्थ्यो ।’

​किरण आमासँग निकै डराउँथे । आमाले आँखा तरिदिए मात्रै उनलाई पुग्थ्यो । तैपनि, कान्छो पुलपुलिएर हुर्किएको छोरो भएर होला, उनी सानोमा आमासँग मुखमुखै लाग्थे । ‘आमाको हातको बूढीऔँला अलि सानो खालको थियो । कहिलेकाहीँ गाली गरेर मैले उहाँलाई डुँडी पनि भनेको छु,’ किरण कताकता पश्चाताप गर्छन्, ‘आमाले हप्काउनुहुन्थ्यो– जे पनि बोल्छस् बजिया ? अहिले सम्झँदा आमाको माया लाग्छ, मैले आमालाई त्यसो भन्नुहुँदैनथ्यो ।’ 

आमाको आराधना

कान्छो छोरो भएकाले किरणले आमाबाट स्नेह अगाध पाए । कसैले किरणलाई गाली गरेको आमाले सहनै सक्दिनथिन्, झम्टिहाल्थिन् । दाजुभाइ त्यत्तिकै चल्दा पनि आमाले जेठा छोराहरूलाई हप्काउँथिन्– तिमीहरू ठूलो भएर आफूभन्दा सानोलाई चलाउँछौँ ? 

आमाले उनलाई सुमसुम्याइरहन्थिन् । किरणको जिउमा ज्वरो भएको सबैभन्दा पहिले आमालाई थाहा हुन्थ्यो । किरणले खाए वा खाएनन्, कहाँ गए– यी सबै हेक्का आमाले राख्थिन् । 

किरणका लागि आमा पहिलो प्रेम हुन् । उनले आमाबाट यति माया पाए कि त्यसलाई बिर्साउन आजसम्म कसैले सकेको छैन । ‘मेरी आमा मेरा लागि पहिलो प्रेम हुनुहुन्छ,’ उनी भन्छन्, ‘आमाको माया मलाई गहिरो लाग्छ, सम्झ््यो कि आँसु झरिहाल्छन् । अनायसै मैले आमालाई नबोलाएको कुनै दिनै छैन । त्यसो त बुवालाई पनि सम्झन्छु ।’

आफू हुर्केको पुरानो घरदेखि करिब दुई सय मिटर पर किरणले नयाँ घर बनाएका छन् । उनी जन्मिएको घरमा अहिले पार्टी प्यालेस छ, रेस्टुरेन्ट छ । यता आफ्नो घरको पूजाकोठामा उनले आमा र बुवाको फोटो र शालिक राखेका छन् । हरेक बिहान उनले त्यसमा पूजा गर्छन् । पुरानो घरतिर फर्केर आमाबुवाको नाममा पानी चढाउँछन् । 

कलाकार भएर होला, किरणको मन र विश्वास केही कोमल छ । उनलाई पुरानो घरमा आमा अझै छन् भन्ने आभास भइरहन्छ । आमाको पुण्यतिथिको दिनमा नुहाइधुवाई गरेर उनले पुरानो घरतिर फर्केर आमालाई आवाज दिएरै बोलाउँछन् ।

किरणको मामाघर बाँसबारीमा हो । मामाको घरतिरको बाटो हिँड्दा पनि उनलाई आमाको आभास हुन्छ । ‘हरिवंशहरूको स्टुडियो पनि त्यतै हो, त्यता कहिलेकाहीँ काम परेर जाँदा बाँसबारीनिर पुगेपछि ए आमा भनेर कराउँछु,’ किरण भन्छन्, ‘आमालाई मैले बिर्सनै सकेको छैन । पूजाकोठामा आमाको फोटो देख्दैपिच्छे आँखा पिलपिल भइहाल्छ ।’

सानोमा आमालाई अगाडि देखेपछि किरणलाई केही कुराको डर हुँदैनथ्योे, उनी ढुक्क हुन्थे । उनको एउटा समस्या छ, अँध्यारोसँग डराउने । यही कारण उनी १३–१४ वर्षको उमेरसम्म आमासँग सुते । अझै पनि कतै जाँदा एक्लै सुत्नुपर्दा उनलाई डर लाग्छ, बत्ती बालेर सुत्छन् । 

यद्यपि आमा बाँच्दासम्म किरणले आमाको हप्कीदप्की खाइरहे । किरणकै शब्दमा भन्दा यी आमा र छोराको राशि र ‘ठ्याक’ दुवै मिल्दैनथ्यो । ‘आमाको राशि वृश्चिक, मेरो मिथुन । मिथुनको दुश्मन राशि हो, वृश्चिक । त्यसैले आमासँग मेरो ठ्याकै मिलेन,’ किरण भन्छन्, ‘हामीबीच सानोसानो कुरा नमिल्ने । आमाले चिसो पानी खानुहुन्थ्यो, मैले तातो पानी खानुस् आमा भन्थेँ । उहाँले भन्नुहुन्थ्यो– तैँले भन्या मान्छु, तैँले पाको हो मलाई ?’

सँगै रोएको क्षण

कडा स्वभाव भएकाले घरमा किरणकी आमाकै हैकम चल्थ्यो । किरणका बुवा सेनाको कर्णेल भए पनि घरमा आमा नै प्रधानसेनापतिजस्ती थिइन् । किरणले आमाको आँखामा आँसु त्यति देखेनन् । तर, पहिलोपटक उनले आमा रोएको मात्रै होइन, मुर्छा नै परेको देख्नुपर्‍यो । 

०२८ सालमा, किरणका माइलादाइको गाडी दुर्घटनामा मृत्यु भयो । सेकेन्ड लेफ्टिनेन्टको फूली लगाएर उनी गाडीमा घर फर्कंदै थिए, केएमसी अस्पतालअगाडि गाडी दुर्घटनामा पर्‍यो । यो खबरले किरणकी आमा मात्रै होइन, बुवा पनि मूर्छा परे । भर्खर लेफ्टिनेन्टको फूली लगाएको ३२–३३ वर्षको छोरो खसेको खबर थियो त्यो । आमाबुवाका लागि पुत्रशोकजस्तो पीडा अर्को के हुन्छ र ? 

यस घटनामा उनकी आमाले जीवनभर दैवसँग गुनासो गरिन् र हजारौँपटक आँसु झारिन् । छोराको सम्झना हुनेबित्तिकै उनका आँखा भरिन्थे र मुखबाट शब्द फुस्कन्थे– दैव किन यस्तो निष्ठुरी बनेको होला ! हामीले के बिगारेका थियौँ र ? 

‘भिडियोमा खेलाउन र चारधाम घुमाउन पाइनँ’

अहिले किरण जुन घरमा बस्छन्, त्यो घर सडकभन्दा अलि भित्र पर्छ । उहिले एकपटक उनले आमालाई भनेका थिए– आमा ! मैले धेरै पढेको छैन । पछि यसो पसल गर्नका लागि बाटोको छेउमा अलिकति जग्गा भए हुने । 

आमाले भनिन्, ‘नकरा, तँ हाम्रो कान्छो छोरो होस्, तँ हामीसँग बसेपछि किन चाहियो तँलाई बाटो छेउको जग्गा ?’ 

किरणले आमाको कुरामा चित्त बुझाए । जहाँ सडकको छेउमा किरणले आफ्नो घर होस् भन्ने चाहेका थिए, त्यही सडकको नाम अहिले ‘रातामकै मार्ग’ रहेको छ । उनको घरअगाडि रातामकै चोक नै बनेको छ । बाटो र चोक नै आफूसँग सम्बन्धित हुँदा किरण औधि खुसी छन् । 

आमाले उनलाई केही वचनहरू ज्ञानको रूपमा दिएकी छन् । आमाले धेरैपटक उनलाई भनिन्– भाग्यमा छ भनेर डोकोमा दुहेर हुँदैन । मेहनत गर्नुपर्छ, कर्म गर्नुपर्छ । तैँले काउली रोपेको ठाउँमा मूला फल्दैन बाबु । अहिले जस्तो कर्म गरिस्, भोलि त्यही फल भोग्ने हो । 

अचेल रातामकै मार्गमा हिँड्दा उनलाई आमाका ज्ञानरूपी वचनको सम्झना हुन्छ ।

उनकी आमाले सप्ताह लगाइरहन्थिन् । पूजापाठ, धर्मकर्ममा उनको औधि विश्वास थियो । पछिल्लोपटक उनले आमालाई मनकामना दर्शन गराउन लगेका थिए । त्यतिबेला उनकी आमाको चार तोलाको सुनको सिक्री हरायो । सिक्री गाडीको म्याटमुनि परेको रहेछ, ६ दिनपछि भेटियो । भेटिएपछि आमाको प्रतिक्रिया थियो– ‘सत्को धन रहेछ, भेटियो ।’ 

०४८ सालमा किरणका बुवाको निधन भयो, त्यसयता आमा किरणसँगै बसिन् । किरणको भित्री चाहना थियो– आमालाई एकपटक चारधाम घुमाउने । यो पूरा गर्न नपाएकामा उनलाई खेद छ । उनले आमालाई एउटा भए पनि म्युजिक भिडियोमा खेलाउन चाहन्थे, यो इच्छा पनि अधुरै रह्यो । ‘कहिले के मिलेन, कहिले के,’ किरण भन्छन्, ‘यी दुई कुरा पूरा गर्न नपाएकामा पछुतो छ ।’ 

कहिलेकाहीँ किरण कल्पना गर्छन्– भगवान् आएर वर माग भने पनि हुने ! उनी अन्तमा भन्छन्, ‘यस्तो वर माग्न पाए मैले माग्थे– भगवान्, म फेरि यिनै आमाको कोखबाट जन्मन पाऊँ ।’ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।