आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीद्वारा पार्टी परित्याग

आइतबार, २३ असोज २०७९, ०६ : ४२
आइतबार, २३ असोज २०७९

नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । 

उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शाहीले पार्टी छाडेको एमाले स्रोतको दाबी छ । 

प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका शाहीले विज्ञप्तिमा भनेका छन्,‘ एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।’   

यस्तो छ शाहीको विज्ञप्ति
प्रेश विज्ञप्ति
सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको मेरा लागि यही आन्दोलनमार्फत् नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको छ । यही भएर नै हामी लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकीकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका थियौं । बिभिन्न बेलामा वामपन्थीहरु र प्रजातान्त्रिक शक्तिहरुमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौं इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु विर्सन्छ, यही विन्दूबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरु, विचारविहिनता र सिद्धान्तविहिनताको परकास्टा शुरु हुन्छ । 

हामीले एकिकृत नेकपाको पुनर्गठनले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र आम समानता ल्याउने अपेक्षा गरेका थियौं । अन्तरपार्टी सघर्षलाई लिएर पटक पटर गैर जिम्मेवार तवरले गरिएको संसद विगठन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौं भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरु एमालेमै उभिन पुगेका थिए । तर पनि नेकपा एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिने देखि अझ पछिल्लो अबधिमा क. भिम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।  

तरपनि नेपालमा वाम प्रजातान्त्रिक आन्दोलनलाई अझ बलियो र शसक्त बनाउन नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी लगायत सबै कम्युनिस्टका साथै नेपाली कँग्रेस लगायत प्रजातान्त्रिक पार्टीमा रहेका सहयोद्धाहरुसँग सहकार्यलाई  निरन्तरता राख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु । देश र जनताको प्रगति र अग्रगमनका लागि हाम्रो अथक प्रयास र एक्यवद्धता निरन्तर जारी रहने नै छ । 
योगेन्द्र बहादुर शाही 
सचिव 
नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभाग 
२०७९ असोज २२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप