शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा

सडक बन्द भए कुन बाटो हिँड्ने ?
शनिबार, १३ असार २०८३, १३ : ०१
शनिबार, १३ असार २०८३

सारांश

  • मनसुन सक्रिय भएसँगै नागढुंगा–मुग्लिन सडक खण्डमा सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ ।
  • आयोजना कार्यालयले गरेको भौगर्भिक अध्ययन अनुसार नौवटा स्थान पहिरोको अति उच्च जोखिममा रहेकाले उच्च सतर्कता अपनाइएको छ ।
  • भारी वर्षाका कारण सडक अवरुद्ध भएमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ ।

काठमाडौँ । मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ ।  ‘२०८३ मनसुन पूर्व तयारी कार्ययोजना’ नाम दिइएको यस योजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ ।

हाल स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–नौबिसे (१२.२ किलोमिटर) र नौबिसे–मलेखु (४३.५ किलोमिटर) खण्डमा करिब ६४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर, सडक विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसुनमा यात्रुले सास्ती खेप्न नपरोस् भनी उपकरण र जनशक्तिसहितको टोली तयारी अवस्थामा राखिएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।

आयोजना कार्यालयले गरेको भौगर्भिक अध्ययन अनुसार यस सडक खण्डका नौवटा स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ । जसमा नागढुंगा–नौबिसे खण्डको झ्याप्ले खोला, खत्रीपौवा र सिक्रे खोला रहेका छन् । त्यसैगरी नौबिसे–मलेखु खण्डअन्तर्गत ४ किलो, ७ किलो, ९ किलो, १३ किलो (कोइरालेभिर), मछेडी खोला र घाटबेशी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

सडक बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अपनाएको छ । विगतमा ठुलो क्षति व्यहोरेको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एन्करिङ, माइक्रो पाइलिङ र वाल निर्माणजस्ता कामहरू सम्पन्न भइसकेका छन् । यसका साथै ठाउँ ठाउँमा घाँस रोप्ने र जुट नेटिङलगायतका ‘बायो–इन्जिनियरिङ’ प्रविधिको प्रयोग गरिएको छ ।

विपद्को समयमा तत्काल सडक खुलाउन नौबिसे, महादेववेशी, चिराउदी र घाटबेशी लगायतका क्याम्पहरूमा एक्स्काभेटर, लोडर र टिपरसहित प्राविधिक टोलीलाई चौबीसै घण्टा तैनाथ राखिएको छ । सडक अवरुद्ध भएको खण्डमा यात्रुलाई सडकको अवस्थाबारे रियल टाइम जानकारी दिन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरिने कार्य योजनामा उल्लेख छ ।

भारी वर्षाका कारण मुख्य राजमार्ग लामो समयसम्म अवरुद्ध हुने अवस्था आएमा यात्रुलाई अलपत्र पर्न नदिन साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको समेत स्पष्ट खाका तयार पारिएको छ । यदि नागढुंगा–नौबिसे खण्ड बन्द भएमा काठमाडौँबाट बाहिरिने सवारी साधनले सीतापाइला–रामकोट–धार्के हुँदै गल्छी निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । त्यस्तै,टोखा–त्रिशूली हुँदै गल्छी वा मलेखु निस्कने मार्ग पनि अर्को राम्रो विकल्प हुनसक्छ ।

नौबिसे–गल्छी खण्ड बन्द भएको अवस्थामा भने काठमाडौँ–नागढुंगा–नौबिसे हुँदै पालुङ–दामन निस्किएर हेटौँडा जान सकिनेछ । पूर्व तथा दक्षिणतर्फ जाने यात्रुहरूका लागि काठमाडौँबाट दक्षिणकाली–छैमले–सिस्नेरी वा फाखेल हुँदै कुलेखानी निस्किएर हेटौँडा जाने बाटो पनि खुला रहनेछ । यसबाहेक काठमाडौँबाट धुलिखेल हुँदै बिपी राजमार्गलाई पनि वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

यदि गल्छी–मलेखु खण्ड बन्द भएमा त्रिशूली नदी पारि रहेका ग्रामीण कच्ची सडक तथा झोलुङ्गे र पक्की पुलहरूको प्रयोग गरेर छोटो दूरी पार गर्दै मुख्य सडकमा जोडिन सकिने व्यवस्था मिलाइएको छ । 

कुनै पनि असहज परिस्थिति सिर्जना हुनुअघि नै आधिकारिक निकायबाट पूर्वसूचना जारी गरिने भएकाले सोहीअनुसार आफ्नो यात्रा तय गर्न सडक विभागले सबै यात्रु तथा चालकहरूलाई अनुरोध गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप