शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि

‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’
शुक्रबार, १२ असार २०८३, २१ : १५
शुक्रबार, १२ असार २०८३

सुर्खेत। बिहीबार प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले बजेटमा असन्तुष्टि जनाउँदै संसद् अवरूद्ध गरेपछि मन्त्रालयगत छलफल केही समय प्रभावित बन्यो ।

पछि मुख्यमन्त्री यामलाल कँडेलले सुधार गर्ने बाचा पश्चात् संसद् सुचारु भयो ।बिहीबार बेलुका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल भयो । अबेर बैठक बसेको होला धेरैजसोले छलफलमा भाग लिएनन् ।

केहीले उठाएका विषयको जवाफ शुक्रबार सम्बन्धित मन्त्रीले जवाफ दिए । त्यस पश्चात् भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयको बजेटमाथि छलफल सुरु भयो ।

छलफलमा भाग लिएका अधिकांशले गीत र उखान–टुक्कामार्फत असन्तुष्टि जनाए ।सुरुमै बोलेका विपक्षी दल नेकपाका नेता मंगलबहादुर शाहीले सुरज पण्डितले हुम्ला, मुगु जस्ता पछाडि परेका हिमाली जिल्लालाई लक्षित गरी बनाएको गीत सुनाए ।

‘रेलको बाटो आउँदै छ रे तेरा बस्ने गाउँमा, हुम्ला कहिले मोटर बाटो पुग्ला, बस्याको छु रहरैमा ।’

उनले उक्त गीत भन्दै भने, ‘आज त्यस्तै भाछ हाम्रो जिल्लामा, हामी मुगुका मान्छेहरूले त्यही भन्नुपर्ने भएको छ ।’ उनले बजेटमा आफ्नो गृह जिल्ला मुगुलाई गरिएको उपेक्षालाई विभेदका रुपमा व्याख्या गरेर अर्को पुरानो टुक्का भने ।

‘हिजो सङ्घीयताको प्रक्रियाका क्रममा काठमाडौँलाई हेरेर हामीले भन्थ्यौँ–आज घर भात पाक्याको नाइँ, घरीना छैन कि, भाबिनी दुई छन् कि, आधा दुखी आधा सुखी ।’

काठमाडौँले कर्णालीलाई उपेक्षा गरिएपछि यो गीत टुक्का भन्ने गरेको उदाहरण दिँदै उनले अहिले प्रदेश सरकार बन्दा सुर्खेतबाट मुगुलाई त्यही उपेक्षा गरिएको स्मरण गराए ।

भने, ‘आज फेरि भन्नुपर्‍यो, आधा सुखी आधा दुखी, भाबिनी दुई छन् कि कर्णाली प्रदेशभित्र ।’

साथै उनले आफ्नो मनमा वेदना भरिएको पनि बताए । र, फेरि अर्को गीत टुक्का थपे–सुनाउँ भने कति सुनाउँ वेदना मनभरि,  मलाई पनि उडाइ लैजा–लैजा चरी लैजा ।’

अहिले आफ्नो मनको वेदना सुनाउने ठाउँ नभएको उनले गीतमार्फत बताए ।

उनले अगाडि थपे, ‘वेदना मनभरि राखेर शब्द कति तीतो बोल्ने, कति निर्दयी छ है माननीयको मन रु कर्णाली प्रदेशको सँगैको एउटा जिल्लालाई हेर्ने दृष्टिकोण कति निर्दयी ! त्यहाँ पनि मानिसहरू बस्छन् भन्ने दया लागेन होला त रु’

पाँच वटा पालिकालाई बजेटको ३० प्रतिशत जाँदै गर्दा बाँकी ७४ वटा पालिकालाई बजेटको जम्मा ७० प्रतिशत मात्रै बजेट दिइएको शाहीले बताए ।

बजेटको २० प्रतिशत एउटै जिल्ला (सुर्खेत)लाई जाँदा आफ्नो  जिल्लालाई ६ प्रतिशत मात्रै दिइएको शाहीको भनाइ छ । 

उनी पछि बोलेका कांग्रेसका सांसद तथा पूर्व सामाजिक विकासमन्त्री खड्ग पोखरेलले पनि उखान टुक्काबाटै बजेटमा असन्तुष्ट जनाए ।

‘भनौँ गाउँका मुख्या, नभनौँ चल्ला सकिया’ जस्तै भएको बताउँदै उनले भने, ‘भनियो भने आफ्नै मान्छे, अब भन्न पनि नहुने उही जुँगाको भाग लाग्या जस्तो कुरा भयो । नभनौँ भने उही चल्ला सकिया भनेजस्तै भयो बजेट ।’

उनले आफ्नै दलका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट ल्याएको र त्यसमा केही भनौँ भने आफ्नै मान्छे, नभनौँ भने कमजोरी नै कमजोरी रहेको उल्लेख गरे ।

यस्तै, पुरानै दलका कारण जेनजी आन्दोलन भएको भन्दै आक्रोश पोखे । 

‘मनलाग्दी योजना हाल्ने, मुटुमाथि ढुङ्गा राखी हास्नुपर्‍या छ,’ उनले आफ्नै दलका अर्थमन्त्रीमाथि सङ्केत गर्दै भने, ‘अब भनेर पनि साध्यै छैन, नभनेर पनि साध्यै छैन ।’

अन्तिममा मुखियाको चल्ला खाने बानी अलि हटाउँदै जानुपर्‍यो भन्दै मन्तव्य सके ।

एमालेकी सांसद एमाले दक्षिणा शाहीले सुरुमै गीतबाट बजेटमाथि विरोध जनाइन् । ‘हामी नभई बाई जान्या छौँ मन्त्रीको मेसो, आधा काखा आधा पाखा किन हुन्छ यसो रु’ । उनले अहिले आफू मन्त्री भएका बेला मन्त्रीहरूले मनलाग्दी बजेट हालेको बताइन् । साथै, आफ्नो पनि मन्त्री हुने चाहना भए पनि मन्त्री हुने मेसो नदेखिएको कुरा गीतमा व्यक्त गरिन् ।

उनले बजेटमा गरिएको विभेदले आफूलाई निकै पीडा भएको बताइन् ।‘हामी प्रदेशमा सदस्य भएर आउँदा कतिसम्म पीडित छौँ,’ उनले भनिन्, ‘यो कुरा कुरा मलाई मात्रै थाहा होला ।’

सांसद भीम प्रकाश शर्माले भौतिक मन्त्रालयमा पनि रुपान्तरणकारी योजना नभएको बताए । 

‘यहाँबाट हुम्ला हिल्सा जाने योजना भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘कर्णाली सिंहदरबार भवनलाई गौरवको योजना राखियो ।’ 

बहुवर्षीय योजनालाई आगामी वर्षमा निषेध गरिएको बताए । ५० लाख भन्दा बढी कुनै पनि योजना अघि नबढाएको र यदि सीमा नतोकिएको भए १० लाखका सडक पनि आउनेमा आशङ्का गरे, उनले ।

सडक गुरुयोजना विपरीत योजना हालिएको शर्माले बताए । सांसद कलबहादुर हमालले पनि उखान टुक्काबाट नै बजेटमा असन्तुष्ट जनाए ।सांसद जानकी सिंह, पूर्णबहादुर खत्री र कल्याणी खड्काले पनि बजेटमाथि असन्तुष्ट व्यक्त गरे ।

सांसदहरूले बजेटभित्रको विभेदलाई गीत र उखान–टुक्कामा भनिरहँदा मुख्यमन्त्री, मन्त्री भने हाँसिरहेका थिए । शुक्रबार उठाएका सवालको विषयमा सम्बन्धित मन्त्रीले शनिबार बस्ने बैठकमा जवाफ दिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप