शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुर–३ मा निरू पाल भर्सेस रमेश लेखक : कसको पल्ला भारी ?

शुक्रबार, २८ असोज २०७९, २२ : ३५
शुक्रबार, २८ असोज २०७९

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेकी पोलिटब्यूरो सदस्य निरूदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाको उम्मेदवारी परेको थियो । जसमा ५ स्वतन्त्र र ८ राजनीतिक दलका उम्मेदवार थिए । तर, स्वतन्त्रबाट उम्मेदवारी दिएका सुशील साउँदले उम्मेदवारी फिर्ता लिएसँगै १२ जना चुनावी मैदानमा छन् । 

यस पटक नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी परेको छ । पूर्वमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार लेखकलाई गठबन्धनमा रहेका दलहरूको साथ छ । त्यस्तै एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको छ । 

२०७४ सालको निर्वाचनमा लेखक नेकपा एमालेको उम्मेदवार डा. दिपक प्रकाश भट्टसँग पराजित भएका थिए । तत्कालिन समयमा नेकपा माओवादी केन्द्रसँग एमालेले बाम तालमेल गरेको थियो भने कांग्रेस एक्लै चुनाव लडेको थियो । 

भट्टले २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखक २५८ मतान्तरले पराजित भएका थिए । लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर ३ अन्तर्गत भिमदत्त नगरपालिका, दोधरा चाँदनी नगरपालिका र बेदकोट नगरपालिका केही भूभाग क्षेत्र नम्बर ३ मा पर्दछन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रमुखमा २२ हजार ५४ मत पाएको थियो भने एमालेले १५ हजार २८३ मत पाएको थियो । तर दुवै गठबन्धन हेर्दा एमाले अगाडि देखिएको छ । सत्तारूढ गठबन्धनको मत जोड्दा स्थानीय तह निर्वाचनमा २२ हजार ८२७ मत हुन्छ भने एमाले र राप्रपा मिलेर बनेको गठबन्धनले २३ हजार २७१ मत पाएका छन् । 

लेखक यसअघि पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन् भने पाल एक पटक पनि मन्त्री बन्न सकेकी छैनन् । उनी यस अघि कञ्चनपुर ३ मा तीन पटक चुनाव लडिसकेका छन् । तीन पटक चुनाव लड्दा २ पटक जितेका थिए भने २०६४ सालको निर्वाचनमा उनी समानुपातिक बनेका थिए । 

उनी २०५६, २०७० र २०७४ को निर्वाचन लडेका थिए । २०५६ र २०७० मा निर्वाचित भएर लेखक दुई पटक मन्त्री बनेका थिए । 

लामो समय सत्तामा बसेर पनि केही गर्न नसकेको भन्दै २०७४ को चुनावमा उनीप्रति असन्तुष्टि ठुलो थियो । अहिले उनै फेरि चुनावी मैदानमा निस्किएका छन् । यो पटकको चुनावमा उनलाई आफ्नै पार्टीबाट बागी उम्मेदवारले केही असर पार्ने देखिएको छ । 

लामो समय नेपाली कांग्रेस निकट भएर समाजसेवी रूपमा चिनिएकी अधिकारकर्मी शारदा चन्द बागी उम्मेदवार बनेकी छिन् । केही महिना अगाडि मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेकी थिइन् । 

त्यस्तै काँग्रेसका महाधिवेशन प्रतिनिधि दीपक बहादुर सिंह पनि बागी उठेका छन् । अर्का बागी उठेका सुनिल साउदले आफ्नो उम्मेदवार फिर्ता लिएका छन् । त्यस्तै कांग्रेस छाडेर कांग्रेस विपीतिर लागेका दोधारा चाँदनीका धन बहादुर शाही पनि लेखकका लागि अर्का चुनौती बनेका छन् । 

एमाले उम्मेदवार पाल २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । २०६५ मा भएको संविधान सभा सदस्य उप–निर्वाचन लडेकी थिइन् । यो उनको दोस्रो पटक हो । उप निर्वाचनमा उनी २ हजार मतको अन्तरले पराजित भएकी थिइन् । त्यसपछि २०७० र २०७४ मा पनि उनी टिकटका लागि सिफारिसमा परेकी थिइन् । तर, टिकट पाउन सकेकी थिइनन् । 

दुवै नेता पार्टी नेतृत्वभित्र बलियो सम्बन्ध भएका नेताका रूपमा चिनिन्छन् । लेखक सभापति शेरबहादुर देउवा र पाल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र नेताका रूपमा चिनिन्छन् । पाल एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएर पोलिटब्युरो भएकी हुन् । 

दुवै उम्मेदवार आफुले जित्ने दाबी गर्दै आएका छन् । दुवैले आ–आफ्ना तर्कसहित मतदाता कहाँ जान थालेका छन् । दुवै उम्मेदवारले चुनावी अभियान अगाडि बढाइसकेका छन् । 

पालले आफू चुनाव जित्ने आधारमा विगतमा जनताका लागि गरेको कामलाई जोड दिएकी छिन् । समानुपातिक सांसद भएर संसद्मा खेलेको भूमिका र जिल्लाका लागि गरेका काम नै आफ्नो जित्ने आधार भएको बताएकी छिन् । 

‘हामीले गरेका कामहरू नै हामीले जित्ने आधार हुन् । संगठन मजबुत छ । पहिला पनि हामीले जितेको क्षेत्र हो । अब पनि हामी जित्छौँ ।’ उनले भनिन् । 

उनले आफूलाई जित्ने अर्को आधार ‘महिला उम्मेदवार’ भनेकी छिन् । आफू उम्मेदवार मात्र नभएर एक महिलाको पनि प्रतिनिधित्व गर्ने भएकोले धेरै महिलाहरूको सहयोग र सहानुभूति आफूलाई मिलिरहेको बताइन् । 

‘महिला भएकाले मलाई एकदमै सहानुभूति मिलिरहेको छ । अहिलेसम्म कुनै पनि ठुलो पार्टीले महिला उम्मेदवार उठाएको थिएन भनेर मलाई हामी पार्टीभन्दा पनि महिला भएको नाताले सहयोग गर्छौँ भन्नेहरू धेरै छन् ।’ उनले भनिन् । 

कांग्रेसबाट उम्मेदवार बनेका लेखक पटक पटक एउटै व्यक्ति उम्मेदवार बनिसकेको भन्दै एमालेले फरक फरक व्यक्तिलाई जनतामाझ ल्याएको उनको भनाई छ । 

‘उहाँहरूको एउटै रमेश लेखक हाम्रो चाही चेन्ज गरिरहन्छौँ । त्यो भएकाले पनि एउटै व्यक्तिले कति अवसर पाउने भने उहाँहरूको पार्टीभित्रबाट बागी उम्मेदवारी पनि दिइयो भने असन्तुष्टि पनि छ । हाम्रोमा त्यस्तो छैन । यो हाम्रोलागि राम्रो अवसर हो ।’ उनले भनिन् । 

आफू संसद्मा रहँदा आफ्नो क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनेदेखि विकास निर्माणको काममा अहोरात्र खटिएर काम गरेको उनको दाबी छ । त्यही आधारमा चुनावी अभियान सञ्चालन गर्ने र मतदाता कहाँ गएर मत माग्ने उनको भनाई छ । 

‘महाकाली प्रादेशिक अस्पताललाई अस्पताल जस्तो मैले बनाएको हो । बोक्सर जी फिल्डमा हुनुहुन्थ्यो त्यसैले उहाँको चर्चा आयो । तर, केन्द्रमा बजेट हाल्नेदेखि डाक्टर पठाउने सम्मको काम मैले गरेको हुँ ।’ उनले भनिन् । 

अहिले एमालेले आन्तरिक कमिटीहरूलाई चलायमान बनाउने काम गरिरहेको छ । ‘अहिले कमिटीका बैठक बसाइरहेका छौँ । कार्यालय स्थापना गर्ने, वडा समितिका बैठक बस्ने काम गरिरहेका छौँ । पार्टीका कमिटीहरू चलायमान बनाएर घर दैलो अभियानमा जान्छौँ,’ पालले भनिन् । 

यता कांग्रेस उम्मेदवार लेखकले आफ्नो जित सुनिश्चित रहेको बताए । ‘देशभरी नै गठबन्धन छ । गठबन्धनकै आधारमा अगाडि बढिरहेका छौँ । भर्खरै प्रक्रिया पुरा भएको छ । जनतामा कांग्रेसप्रति अत्यन्तै सकारात्मक वातावरण छ । त्यसैले हामी जित्छौँ ।’ लेखकले भने । 

आफ्नो स्थानीय र राष्ट्रिय स्तरका गरी दुई एजेण्डा रहेको उनको भनाई छ । ‘राष्ट्रिय स्तरमा हाम्रो एजेण्डा प्रष्ट छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक पद्धति अपनाएको छौँ । त्यसको सुरक्षा, सुदृढीकरण गर्ने एउटा एजेण्डा हो । संविधानको रक्षा र सहि कार्यान्वयन अर्को एजेण्डा हो ।’ उनले भने । 

स्थानीय स्तरमा विकास निर्माण निर्माण आफ्नो अर्को एजेण्डा भएको उनको भनाई छ । ‘मैले हाम्रो क्षेत्रलाई त्रिदेशीय नाका भनेको छु । भारत–नेपाल–चीन त्रिदेशीय नाका बनाएर सबैभन्दा ठुलो औद्योगिक विकास गर्ने नाकाको रूपमा अगाडि बढाउँछौँ । यो मेरो पुरानै एजेण्डा हो त्यसमा केही कामहरू भएका छन् ।’  उनले भने । 

स्थानीय स्तरमा बाढी नियन्त्रणका क्षेत्रमा, शिक्षा, स्वास्थ्य, उद्योग वाणिज्य, कृषिको विकासको गतिलाई अगाडि बढाउने आफ्नो स्थानीय एजेण्डा भएको बताए । 

अहिले आन्तरिक बैठक गर्ने काम भइरहेको र आन्तरिक तयारी सकिएपछि जनताको घरदैलोमा जाने उनको भनाई छ । 

‘आन्तरिक बैठक सकेपछि गठबन्धनबीचका दलहरूको संयन्त्र तयार गर्छौ । अनि हामी फिल्डमा जान्छौँ । एक हप्ताजति आन्तरिक व्यवस्थापन मिलाउन लाग्छ । अनि जनतामा जान्छौँ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप