बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चिच्याएर वर माग्ने पाल्पाको अनौठो मेला आजदेखि

शुक्रबार, १८ कात्तिक २०७९, १० : १२
शुक्रबार, १८ कात्तिक २०७९

रातीमा चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला आज शुक्रबारदेखि सुरु भएको छ । विगतका केही वर्ष कोभिड १९ को कारण रोकिएको मेला यो वर्षदेखि पुनः सुरु भएको हो ।

विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरि चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने चलन छ । प्रायः रातीमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ । 

कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाक्षा मागेको,बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयहरु बताउँछन् । परापुर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवती मन्दिरले देश भित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानीय सरकार लागिपर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिएको जानकारी दिए । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत गरी पालिकाले एकतर्फी बाटो खोलेको छ ।

यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रूपैयाँ भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाहाले बताए । मन्दिरमा करिब १ सय ५०  स्टलहरु राखिने तिनाउ वडा नं ४ का वडाअध्यक्ष तुल बहादुर आलेले बताए । धार्मिक र ऐतिहासिक महत्व बोकेको जिल्लाकै एकमात्र स्थापित सत्यवती मन्दिर र तालको समग्र विकासमा सबैको सहकार्य आवश्यक रहेको समितिका सचिव लालबहादुर दर्लामीले बताए ।

झुम्सादेखि ९ किलोमिटरको दुरीमा रहेको यो सत्यवती बजैको मन्दीर पुग्न पैदल हिँडेर दुई घण्टा लाग्ने गर्दछ । धेरै भिड हुने र सवारी चापले बाटो अवरुद्ध हुने भएकाले विगतका मेलामा झुम्सामै गाडीहरु रोकेर तीर्थालुहरुलाई पैदल हिडाइन्थ्यो भने यो वर्ष एकातर्फ गाडी चलाएर यातायातको सुविधा मिलाइएको आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप