बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सबै भ्रम तोडेर समग्र झापामा शानदार परिणाम ल्याउँछौँ : विश्वप्रकाश शर्मा

बुधबार, ३० कात्तिक २०७९, १० : २२
बुधबार, ३० कात्तिक २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसअघि दुईपटक निर्वाचनमा पराजय बेहोरेका शर्मासँगको प्रतिस्पर्धामा छन्, एमालेका नेता अग्नि खरेल । प्रस्तुत छ, चुनावी माहौलबारे शर्मासँग रातोपाटीका लागी रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश:

चुनाव प्रचार कस्तो चलिरहेको छ ?

एकदम उत्साह छ । परिणाम आउने ढंगले हामी अघि बढिरहेका छौँ ।

तपाईंको जितको आधारहरू के छन् ?

राष्ट्रिय राजनीतिमा जे मुद्दा हामीले बोकेका छौँ, स्थानीय विषय र भावनालाई पनि त्यही अनुसार बोकेका छौँ । हामी एकताबद्ध रूपमा गठबन्धनबाट चुनाव लडिरहेका छौँ । माओवादी कमरेड श्यामवीर लिम्बु प्रदेशतर्फ उम्मेदवार हुनुहुन्छ । अर्कोतर्फ काँग्रेसका युवा गोपाल तामाङ उम्मेदवारको रूपमा हुनुहुन्छ । विश्वप्रकाश शर्मा अर्को उम्मेदवारको रूपमा छ । हाम्रो जुन संगठित अभियान छ, जे विषयहरू स्थानीय रूपमा र राष्ट्रिय रूपमा उठाएका छौँ । जे गणितीय स्थिति र मनोविज्ञान देखिन्छ, त्यसको जगमा हामी चुनावमा राम्रो ढंगले विजय हासिल गर्दैछौ ।

यसअघि तपाईं दुईपटक उप–विजेतामै सीमित रहनु भयो, अहिले नयाँ आधार चाहिँ के बनेको छ ?

अब, पहिलोचोटी चुनाव लडिरहँदा त्यो परिचयको निर्वाचन जस्तो थियो । दोस्रोचोटी चुनाव लड्दै गर्दा एउटा अनुभवको निर्वाचन भयो । पहिलोचोटी परिचय, दोस्रोचोटी अनुभव र तेस्रोपटक परिणाम । 

अहिले हामी माओवादीसँग गठबन्धन बनाएर लडेका छौँ । अघिल्लो पटक पनि चाबी माओवादीसँगै थियो, अहिले पनि चाबी माओवादीसँगै छ । त्यो माओवादीको हातमा रहेको चाबीले विजयको ढोका पहिले उता खुल्यो, अहिले विजयको ढोका यता खुल्छ । संगठित रूपमा लागेका छौँ, उत्साह छ ।

स्थानीय निकाय निर्वाचनको परिणाम हेर्दा त त्यो तथ्याङ्क तपाईंको विपक्षमा देखिन्छ नि ?

अघिल्लो पटक उहाँहरू (एमाले र माओवादी)  मिल्दै गर्दा १४ हजारको गणितले अगाडि हुनुहुन्थ्यो । १४ हजार गणित फरक भएकाले मलाई १८ हजारले हराउनु पर्थ्यो नि ? तर, हामीले घटाएर २८ सयमा आयौँ । त्यो बेला उहाँहरु एक ढिक्का, हामी एक्लै हुँदा । आज हामी एकढिक्का भएर चुनाव लड्दै गर्दा साढे ६ हजार फरक परेको छ । ३ हजार तान्दै गर्दा ड्र हुन्छ । ३ हजार १ सय तान्ने बित्तिकै १ सय भोटले जितिन्छ । हामी ३–४ गुणा मत तानेर आउँदैछौ । सानदार ढंगले विजय होइन, झापा–१ मा दिग्विजयको अवस्थामा हामी जान्छौँ ।

एमालेका अग्नि खरेललाई कत्तिको कडा प्रतिस्पर्धी मान्नुहुन्छ ?

बिल्कुलै प्रतिस्पर्धी मान्छु । लोकतन्त्रमा प्रतिस्पर्धा भएपछि प्रतिस्पर्धीलाई स्वीकार्नुपर्छ । कतिपयले अहङ्कार गरेर मेरो प्रतिस्पर्धी छैनन्, म एक्लै छु भन्छन् । म त्यसो भन्दिनँ ।

अघिल्लो चोटीको तथ्याङ्क गलत होइन । २४ हजार १४२ मत रुख चिन्हले समानुपातिकमा पाउँदा ९ हजार बढी मत रुखको उम्मेदवारलाई दिने मतदाता यही क्षेत्रका होइनन् र ?

तपाईंका खास एजेन्डा चाहिँ के छन् ?

हाम्रो दुईवटा खास एजेन्डा छन्, एउटा राष्ट्रिय र अर्को स्थानीय । राष्ट्रिय एजेन्डा भित्रै गाँसिने कुराहरु पर्छन् कतिपय । जस्तो, भूमिहीनको समस्याको समाधान गर्ने कुरा देशव्यापी विषय हो, राष्ट्रिय र स्थानीय दुवै हो । तर, हात्तीको समस्या समाधान गर्ने कुरा झापा, मोरङ, सुनसरी, चितवन र बारा जस्ता ठाउँ विशेषका समस्या हुन् । 

२०७० मा म उप–विजेता भएँ, प्रधानमन्त्री सुशील कोइराला हुनु भो । वनमन्त्री महेश आचार्य बन्नु भो । विश्व बैंकबाट लगानी गराएर १८ किलोमिटर लामो विद्युत्तीय तारबार हात्ती नियन्त्रणका लागि बनाएँ  । म चुनाव हारेकै थिएँ तर, बुद्धशान्तिको जमिनमा भूमिहीनहरूको जग्गा नाप्दै गएर धनीपूर्जा वितरण गर्ने प्रक्रियामा हामीले लिएर गयौँ । चुनाव हारेकै थिएँ तर, रिङरोडको परियोजना सुरु गरियो ।  

चुनाव हार्दै गर्दा त हात्तीको समस्या समाधान गर्न, रिङरोडदेखि धनीपूर्जाको काममा विश्वप्रकाश उपस्थित छ । अहिले त दह्रो टिम लिएर प्रदेश सभातर्फ ‘क’ बाट काँग्रेसकै गोपाल तामाङ र ‘ख’बाट माओवादीका श्यामबीर लिम्बूको टिम लिएर जाँदैछु । यसपटक गोल राम्रैसँग पास गरेर परिणाम पनि ल्याउँछौँ, काम पनि गर्छौँ ।

पहिले पार्टीभित्रकै आन्तरिक कारणले चुनाव हार्नुभयो भन्ने छ नि ?

बिल्कुलै होइन । नेपाली काँग्रेस पार्टीका साथीहरू सबैले त्यसबेला पनि बल पुर्‍याएर लाग्नुभयो, नत्र त्यति धेरै मत कसरी आउँथ्यो ? अहिले हामी एक ढिक्का भएर लागेका छौँ । जहिले पनि शंकै शंकाले सोच्ने चलन हुन्छ । तर, हाम्रा आदरणीय नेता कृष्ण प्रसाद सिटौलालाई विजय गराउने कुरामा मेरो र मलाई विजय गराउने कुरामा उहाँ सहभागी हुनुहुन्छ । हामी दुवैले गठबन्धनको पक्षमा मत मागेका छौँ ।

उहाँ (कृष्ण सिटौला) सँग मन पनि मिलिसक्यो ?

सवैकुरा मिल्ने भनेको त प्रेमी प्रेमिकाको माया प्रेममा मात्र मिल्छ । तर, विवाह गरेपछि उनीहरूको बिचमा पनि ठाकठुक हुन्छ । राजनीतिमा ठाकठुक चलिरहन्छ, जसरी घर घरमा चल्छ । तर, घर जसरी अँध्यारो अनुहार लगाएर पनि चलिरहेको हुन्छ, हामी उज्यालो अनुहार लिएर गठबन्धनलाई जिताउन लागि परेका छौँ । अझै शंका त, काँग्रेस र माओवादीले एक अर्कालाई भोट दिँदैनन् कि भन्ने आउँछ । तर, हामी सबै भ्रमहरू मङ्सिर ४ मा तोडेर समग्र झापामा शानदार परिणाम ल्याउँछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप