शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : ४८
शनिबार, ०३ मङ्सिर २०७९

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ  । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए । सो ठाउँमा शुक्रबार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए । 

क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए । उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए । उनले सबै ठाउँमा आवश्यकतानुसार कर्मचारी खटाइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप