सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पल्लो घरको झ्याल’ बाट अझै चिहाउँदै छन् साहित्यकार ‘गोठाले’

बिहीबार, २९ मङ्सिर २०७९, १० : ४०
बिहीबार, २९ मङ्सिर २०७९

गोविन्दबहादुर मल्ल ‘गोठाले’ काठमाडौँको ओम बहालमा सम्भ्रान्त परिवारमा जन्मिएका थिए । पछि उनी साहित्य सिर्जनामा पनि ‘सम्भ्रान्त’ नै बने । उनी नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक उपन्यासको प्रारम्भकर्ता हुन् । ‘पल्लो घरको झ्याल’ (२०१६) मार्फत उनले नेपाली उपन्यास परम्परामा मनोवैज्ञानिक लेखन प्रवेश गराएका थिए । 

मनोवैज्ञानिक प्रवृत्ति उनका उपन्यासमा मात्र होइन, कथा र नाटकमा पनि प्रशस्त पाइन्छ । सिर्जनामा मानिसको मनको चिरफार गर्ने काम नै मनोवैज्ञानिक लेखन हो, यसै दृष्टिबाट उनलाई चिनाउने प्रयास प्रस्तुत आलेखमा गरिएको छ । 

शिक्षादीक्षा

विसं १९७९ असार २९ गते ओमबहाल काठमाडौँमा जन्मिएका गोविन्दबहादुर मल्ल गोठालेको परिवार शिक्षित थियो । पिता ऋद्धिबहादुर मल्लको दरबारसँग नजिकको सम्बन्ध भएकाले जीवनमा उनले गरिबीको अनुभव गर्नु परेन । पाँच वर्षकै उमेरमा एनिबेसेन्ट थियोसोफिकल स्कुल बनारसमा भर्ना भई शिक्षा आरम्भ गरेका गोठालेले दरबार हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । यसपछि उनले त्रिचन्द्र कलेजबाट आईएस्सी गरे । 

पिताको सम्पर्क दरबारसँग भएको हुँदा सम्पन्न वर्गीय वातावरणमा भिज्ने मौका पाएका उनी आफ्नो नेवार समुदायको मध्यम र निम्न वर्गीय परिवेश पनि राम्रो गरी बुझेका थिए । साथै काठमाडौँको त्यतिबेलाको राजनीतिक परिवेशलाईनजिकबाट नियालेका थिए । 

उनका पिता ऋद्धिबहादुर मल्लको आफ्नै जोर गणेश प्रेस हुनाले विसं १९९१ देखि ‘शारदा’ साहित्यिक पत्रिका प्रकाशनको सुरुवात गरेका थिए । शारदा पत्रिकाको त्यतिबेला आफैँमा शान थियो, त्यसमाथि यसका सम्पादक उनका पिता । यो निकै ठूलो गौरवको विषय थियो गोठालेलाई । 

शारदा पत्रिकाले नेपाली साहित्यका धेरै विधाहरूमा आधुनिकताको छाप छोड्न महत्त्वपूर्ण योगदान दिएको छ । साहित्यिक पत्रिकाका सम्पादक आफ्नै पिता भएकाले घरमा साहित्यिक जमघट हुने नै भयो । यो वातावरणले गोठालेको सम्पर्क लेखक तथा साहित्यकारसँग प्रशस्त भयो । 

साहित्यिक सिर्जना

त्यसबेलाका विशिष्ट साहित्यकारहरू गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, भवानी भिक्षु आदि उनै घरमा आउजाउ गर्थे । गोठाले उनीहरूको साहित्य सिर्जनाबाट निकै प्रभावित र प्रेरित भए । यही वातावरणमा उनले १९९७ सालमा ‘त्यसको भाले’ शीर्षकको कथा शारदा पत्रिकामा छपाएर साहित्यिक यात्राको श्रीगणेश गरे । दाजु विजय मल्लको सल्लाह, सुझावले पनि उनको लेखनी अगाडि बढ्न मद्दत गर्‍यो । 

आईएस्सी अध्ययनपछि उनी पूर्णकालीन स्वअध्ययन र लेखनतर्फ लागे । यस क्रममा उनले विश्वसाहित्यका शेक्सपियर, टाल्स्टाय, एमिल जोला, इब्सेन, बनार्ड शा, अल्बर्ट कामु, प्रेमचन्द, रवीन्द्रनाथ लगायतका कृतिको गहन अध्ययन गरे । ती कृतिबाट पनि उनी साहित्य क्षेत्रमा अझ बढी उत्प्रेरित हुन पुगे । 

साहित्य सिर्जनामा निरन्तरको साधनाले उनी गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला र भवानी भिक्षुकै लहरमा उभिन पुगे । अनि नेपालका उत्कृष्ट साहित्यकारका रूपमा दरिए । 

गोठालेका प्रकाशित कृतिहरूमा ‘पल्लो घरको झ्याल’ र ‘अपर्णा’ गरी दुईवटा उपन्यास छन् भने ‘भुसको आगो’, ‘च्यातिएको पर्दा’, ‘दोष कसैको छैन’ गरी तीनवटा नाटक छन् । ‘भोको घर’ उनको एकाङ्की सङ्ग्रह हो । यसै गरी ‘कथा सङ्ग्रह’, ‘कथैकथा’, ‘प्रेम र मृत्यु’, ‘बाह्र कथा’ र ‘जङ्गबहादुर र हिरण्यकुमारी’ गरी उनका पाँचवटा कथासङ्ग्रह प्रकाशित छन् । 

लेखनको मूल प्रवृत्ति 

गोठालेको मूल प्रवृत्ति भनेको मनोविज्ञान हो, पात्रहरूमार्फत् मनको विश्लेषण हो । प्राडा कृष्णहरि बराल गोठालेलाई समाज मनोविज्ञानलाई प्रयोग गर्न सिपालु साहित्यकार भन्छन् । मनोवैज्ञानिक कथाको सुरुवात बीपी कोइरालाले गरे भने उपन्यास विधामा सुरुवात गर्ने साहित्यकार गोठाले हुन् भन्छन् बराल । यसरी मनोवैज्ञानिक उपन्यासको सुरुवातै ‘पल्लो घरको झ्याल’बाट भएको हो । मनोविज्ञानलाई मात्र नभएर समाजको मनोविज्ञानलाई समेत लिएर लेखिएको उपन्यास हो यो । 

उपन्यासको जीवन्त पात्र मिश्री 

गोठालेका दुईवटा उपन्यास छन्– ‘पल्लो घरको झ्याल’ र ‘अपर्णा’ । ‘पल्लो घरको झ्याल’ यौन मनोविज्ञानले भरिएको उपन्यास हो । “त्यसमा चेतन र अचेत मन (इद र सुपर इगो)को द्वन्द्व छ,” बराल भन्छन्, “इदले आनन्द खोज्छ, सुपर इगोले समाजको आदर्श खोज्छ । यी दुई मनको द्वन्द्वमा हरिभक्तकी श्रीमती मिश्री फसेकी छे ।” 

‘पल्लो घरको झ्याल’ उपन्यासमा एउटा जुल्फीवाल केटोले मिश्री भन्ने विवाहित महिलालाई अगाडिको  झ्यालबाट दिनहुँ हेरिरहन्छ । यो चाल पाएर बिहे भएकी आइमाईलाई यसरी हेर्ने भन्दै मिश्री मनमनै त्यो केटोसँग रिसाउँछे । 

यसरी रिसाउनु चाहिँ उसको मनभित्रको सुपर इगोले गर्दा, सामाजिक आदर्शका लागि हो भन्छन् बराल ।  “तर फेरि बेला बेलामा त्यही जुल्फीवाल केटोलाई आफैँ बाहिर हेर्न जान्छे,” उनी भन्छन्, “यो क्रम चल्दाचल्दै अन्तिममा सोझो लोग्ने हरिभक्तलाई छोडेर त्यही जुल्फीवालसँग पोइल जान्छे ।” 

पल्लो घरको झ्यालमा सुपर इगोमाथि इदको विजय भएको छ अर्थात् चेतन मनले अचेतनलाई जितेको ठम्याइ बरालको छ । उपन्यासमा मिश्रीले सुरुमा समाजको आदर्शलाई पालना गरे पनि अन्तिमा पोइल हिँड्छे । अचेतनमा भएका उसका कुराहरूले, उसको यौन चाहनाका कारणले, उसको पतिबाट पूरा हुन सकेन या बच्चा हुन सकेन, उसले छोडेर हिँड्छे भन्छन् बराल । इदले आनन्द खोज्छ, सुपर इगोले आदर्श खोज्छ । 

कथामा यौन मनोविज्ञान

उपन्यासमा मात्र होइन, उनका कथाहरूमा पनि बालमनोविज्ञान, वयस्क मनोविज्ञानको चित्रण पाइन्छ । वयस्क मनोविज्ञानमा यौनसम्बिन्ध विभिन्न प्रयोग पाइन्छ । “मनोविश्लेषणभित्र पनि हीनता ग्रन्थिको प्रयोग निकै पाइन्छ, इन्फरेटिभ कम्प्लेक्स पनि कथाहरूमा प्रशस्त गरेका छन्,” बराल भन्छन्, “म जुजुमान भन्ने कथामा हीनता ग्रन्थिको प्रयोग अत्यधिक भएको छ ।” 

गोठालेका कथाहरूमा अर्कालाई दुःख दिँदा मन खुसी हुने परपीडन ग्रन्थिको प्रयोग पनि भेटिन्छ । ‘मैले सरिताको हत्या गरेँ’ कथा परपीडन ग्रन्थिले भरिएको ज्वलन्त उदाहरण हो भन्छन् बराल । 

‘गोविन्द गोठालेको बाह्र कथा कथासङ्ग्रहको कृतिपरक अध्ययन’ गर्ने शोधकर्ता इन्द्रप्रसाद सापकोटाले गोठालेका कथा प्रवृत्तिलाई चार चरणमा वर्गीकरण गरी अध्ययन गरेका छन् । पहिलो चरणमा बालमनोविज्ञान र अपराध मनोविज्ञान जस्ता प्रवृत्ति उनले देखाएका छन् । 

पहिलो चरणका कथामा सुर हराएका, लत बिग्रिएका, सामन्ती वर्ग र विपन्न वर्गका पात्रहरूको मानसिकताको विश्लेषण गरेका छन् । यस्ता कथाहरूमा त्यसको भाले, परमेश्वर छन्, भय, औँठी, एउटा घटना, महापाप, निद्रा आएन, एउटा पुरानो कथा, लक्ष्मीपूजा, एउटा मृत्यु र कृष्णे र खुकुरीमा यसखाले प्रवृत्ति रहेको सापकोटाले उल्लेख गरेका छन् । 

यसै गरी दोस्रो चरणका कथा प्रवृत्तिमा उनी यौन मानोविज्ञानतर्फ प्रवेश गरेका छन् । ‘भाँडो’ कथामा यौन मनोवैज्ञानिक प्रवृत्ति तीव्र रूपमा आएको छ । यस कथामा परिवारकी ठूली दुलही अथवा भीमेकी मालिक्नीले भीमेकै अगाडि पातलो लुगा लगाएर नुहाउँछे । त्यसरी नुहाउँदा लुगा भिजेर आङमा च्याप्प टाँसिएको हुन्छ । त्यो देखेर भीमेजस्तो पात्रमा पनि कामवासना उत्पन्न हुन्छ । यो कथामा भीमेमा लुप्त रहेको यौनको उजागर भएको छ । 

यस्ता प्रवृत्ति भएका कथाहरूमा भाँडो, बेसुर, कृष्ण मैयाँ, मालिकको कुकुर, मेरा बाबा, विचरी ऊ, त्यो क्रान्तिको प्रतीक, के गरेकी शोभा, चुनाव, म जुजुमान, युवती र जरसाहेब, चिन्हा, बिहे, मैले सरिताको हत्या गरेँ, आधार, खेल, साठी रुपैयाँ, मोड, अज्ञात, हवाइजहाजको गर्भमा, विस्तृतितिर लम्केको स्मृति, प्रेम र मृत्यु आदि रहेको सापकोटाले उल्लेख गरेका छन् । 

युवती र जरसाहेब कथामा रम्भाले जरसाहेबको यौन तिर्खा मेटाउनका निम्ति आफ्नो जिउ सुम्पनु परेको कारुणिक स्थितिको चित्रण छ भने बिहे कथामा सोह्र वर्षकी युवतीले चालीस वर्षको व्यक्तिसँग बिहे गरेको र उसले यौन सन्तुष्टि नदिएका कारण वीरेसँग यौन प्यास मेटाएको कुरा उल्लेख छ । यसकारण यस चरणका कथाहरूमा यौन मनोविज्ञान मात्र नभएर अपराधजन्य प्रवृत्तिहरू पनि हावी भएका देखिन्छन् । 

प्रयोगधर्मी नाटककार

गोठाले नाटक विधामा पनि उत्तिकै अब्बल प्रयोग देखिन्छन् । ‘भुसको आगो’, ‘च्यातिएको पर्दा’, ‘दोष कसैको छैन’ र ‘भोको घर’ जस्ता नाटकमा अनेक किसिमको प्रयोग छ । त्यसैले उनी प्रयोगधर्मी नाटककार पनि हुन् । 

नाटकमा काठमाडौँका विभिन्न गल्ली गल्छेडाहरूको चित्रण गर्दै विविध समस्याका कारण उत्पन्न मनोविज्ञानलाई उतारेका छन् । ‘म कसरी हार्छु’ एकाङ्कीमा गोठालेले सङ्क्रमणकालीन नेपाली समाजको चित्रण गरी नयाँ पुस्ता र पुराना पुस्ताका बीचको द्वन्द्वलाई देखाएका छन् । यसमा प्रजातन्त्रको आगमनपछि पनि राणाकालीन सम्भ्रान्त परिवारका व्यक्तिहरूको धाक, रवाफ, पैसा र कुल इज्जतलाई प्रस्तुत गरेर चुनाव जित्ने र प्रतिष्ठा कमाउने चाहना देखाइएको छ ।

‘म कसरी हार्छु’ एकाङ्कीको प्रमुख पात्र मेजर होमप्रसादको केन्द्रीयतामा कथावस्तु अगाडि बढेको छ । मेजर राणाकालीन प्रतिनिधि पात्रका रूपमा देखिएका छन् । उनको चुनाव जित्ने विश्वास उच्चता ग्रन्थिको मनोवैज्ञानिक चिरफार यस एकाङ्कीमा गोठालेले गरेका छन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तन भए पनि सामन्त वर्गको मानसिक सोचमा परिवर्तन आउन नसकेको यथार्थलाई यसमा चित्रण गरिएको छ । 

राणाको भारदारी बैठकमा भूतपूर्व मेजर श्रीमतीले खाना खान बोलाउँदा पनि बेवास्ता गर्दै चुनाव जितेर शासन गर्ने कुरामा निश्चिन्त भएको हुन्छ । नेपाली जनतालाई सोझा भेडाका रूपमा देखाएर आफू चुनाव जित्ने कुरामा मेजर  विश्वस्त देखिन्छ । 

विसङ्गतिवादी नाटकको सुरुवात गर्ने कार्य पनि गोठालेले गरेको बताउँछन् बराल । समाज मनोविज्ञानमा जुन किसिमको व्याप्ति छ, त्यो विशेष किसिमको छ । यसर्थ नेपाली साहित्यमा गोठालेको योगदान विशिष्ट र महत्त्वपूर्ण छ ।  

सम्मान, पुरस्कार

गोठालेको साहित्यिक योगदानलाई सम्मान गर्दै २०३३ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य प्रदान गरियो । साहित्य सिर्जनाबाटै उनले जगदम्बाश्री पुरस्कार, गोरखा दक्षिण बाहु, त्रिभुवन प्रज्ञा पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार, वेदनिधि पुरस्कार, सर्वश्रेष्ठ रचना पुरस्कार, पहलमानसिंह स्वाँर पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदिबाट उनी सम्मानित भएका छन् । 

२०६७ मंसिर २७ गते  ८९ वर्षको उमेरमा गोठालेको निधन भयो । उनी वितेको १२ वर्ष भैसकेको छ । तर यस्तो लाग्छ, ‘पल्लो घरको झ्याल’ बाट अझै चिहाउँदै छन् साहित्यकार ‘गोठाले’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप