नेपाली भर्सनको 'बुलफाइट' : भुकम्पले ध्वस्त बस्तीमा यसरी जुधे गोरुहरु (फोटोफिचर)
शुक्रबार, ०१ माघ २०७२, १७ : ३४
काठमाडौं– माधेसक्रान्तिको अवसरमा हरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। तारुका ५चन्दनीस्थित कटरबोट पाटोमा यसवर्ष १५ हल गोरु जुधाइएको माघेसक्रान्ति मेला व्यवस्थापना समितिका अध्यक्ष जनकराज ढुंगानाले जानकारी दिए ।
आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत उल्लेख्य ‘कभरेज’ पाइरहेको गोरु जुधाई प्रतियोगिता गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पनि उही जोशका साथ आयोजना भएको छ ।
तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानविय क्षति भएपनि भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गरिएको छ । भुकम्पको पीडामा रहेका स्थानीयले गोरु जुधाई प्रतिगोगिताबाट थोरै भएपनि पीडा भूलाउने माध्यम बताए प्रतिक्रिया दिए । तारुका ८ बाट गुरु जात्रा हेर्न आएकी शान्ति रिमालले मनमा पीडा भएपनि गोरु जुधाईबाट केहि राहत महसुश भएको बताइन् ।
बैशाख १२ गतेको विनाशकारी भुकम्पले अरु ठाउँजस्तै पनि तारुका प्रभावित बनेपनि पीडालाई भुल्दै आफ्नो संस्कृतिलाई बचाउनको लागि प्रतियोगितालाई निरन्तरता दिएको अध्यक्ष ढुंगानाले बताए ।
१४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सहसचिव विष्णु अधिकारीले जानकारी दिए ।
यसैगरि मेलाको दिन भीडलाई व्यवस्थित बनाउन गाविसमा रहेको श्रीकृष्ण उच्चमावि, पीमलटार मावि र पीपलडाँडा माविका विद्यार्थीलाई आवश्यकता अनुसार स्वयम्सेवकको रुपमा परिचालन गर्ने गरिएको थियो ।
युरोपीयन मुलुक स्पेनमा हुने चर्चित साँढे जुधाई प्रतियोगिताले विश्वकै ध्यान खिच्ने गरेको छ । जुन प्रतियोगिता हेर्न विश्वभरीकै मानिसहरु लाखौं खर्च गर्न तयार हुन्छन्,। स्पेनमा मात्रै होइन फ्रान्स, पोर्तुगल, मेक्सिको, इक्वेडरलगायत देशमा पनि बुलफाइटबाट मनोरन्जन लिने चलन छ। तर त्यहाँ गोरु–गोरुबीच नभई मान्छे र गोरुबीच भिडन्त हुन्छ ।
स्वरुप त्यस्तै नभएपनि त्यहाँकै साँढे जुधाइको झल्को दिने गरी तारुकामा गोरु जुधाई प्रतियोगिताको आयोजना हुने गरेको छ । सो गोरु जुधाई प्रतियोगिताले विस्तारै लोकप्रिय त बन्दैछ नै यसले समग्र नुवाकोटको पहिचान पनि दिएको छ । पहिले अव्यवस्थित र प्रचारप्रसारको अभावमा स्थानीयस्तरमा यो प्रतियोगिता सीमित भएपनि पछिल्लो वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ ।
परापूर्वकालदेखि गोरु जुधाइँदै आइएकोमा यसलाई निरन्तरता दिँदै जानेक्रममा पछिल्लो समय त तारुका गोरु जुधाइने स्थानका रुपमा प्रसिद्ध बनेको र यसकै कारण आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको स्थानीय तथा एमाओवादी तारुका गाउँ पार्टी अध्यक्ष खिललाथ अधिकारीले जानकारी दिए । यद्यपी यसको उचित मार्केटिङ गर्न नसकिँदा पर्यात्य पर्यटकीय सम्भावना भएर पनि माघेसक्रान्ती बाहेक अन्य अवसरमा तारुका र यसआसपासका क्षेत्रमा पर्यटककलाई आकर्षित गर्न नसकिएको उनको बुझाई छ ।
प्रतियोगितका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । यसवर्ष झण्डै दश हजार दर्शकको उपस्थिति रहेको समितिका कोशाध्यक्ष होमनाथ सिग्देलले जानकारी दिए ।
यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिङ हुन नसकेपनि स्थानीय झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विस्वास गर्छन् । तारुका बझाङी राजा जयपृथ्बीबहादुर सिंहको मामली रहेको उनी मामली आउँदा उनलाई मनोरञ्जन दिनका लागि गोरु जुधाएर देखाइएको स्थानीयको विस्वास छ । त्यही बेलादेखि गोरु जुधाउने प्रचलन बसेको बुढापाकाले बताएपनि पुष्टि गर्ने आधार भने अहिलेसम्म पाउन सकिएको छैन ।
पहिले तारुका आसपासका क्षेत्रहरु बुधसिङ, रातमाटे, दुईपिपल लगायत गाविसमा पनि गोरु जुधाउने चलन थियो । तर, अहिले त्यता जुधाइँदैन । बरु नुवाकोटको बेत्रावतीमा भने गोरु जुधाइने गरिन्छ । जहाँ यसवर्ष ९ हल गोरु जुधाइएको बताइएको छ ।
यसो त गोरु जुधाउनका लागि गोरु तयार गर्नु कम्ती मेहनत गर्दैनन् किसानहरु । आफूले जे जस्तो खाएर भएपनि किसानहरुले वर्षभरी नै गोरुलाई मास, चामल, पिठो, अण्डालगायतका पोषिलो खानेकुरा खुवाएर पाल्छन् । गोरु जुधाएर केहि पाइनु भन्दा पनि आत्मसन्तुष्टि मिल्ने स्थानीय शिक्षक विपीन लामिछाने बताउँछन् । आफूले पनि केहि वर्षयता जुधाउनको लागि गोरु पाल्ने गरेको जानकारी दिँदै सो क्रमलाई यसवर्ष पनि निरन्तरता दिएको जानकारी दिए ।
तारुकाको मौलिक संस्कृतिको रुपमा स्थापीत गोरु जुधाई प्रतियोगितालाई निरन्तरता दिनकै लागि लागिरहेको बताउँदै पछिल्लो समय तारुकमा देशी विदेशीहरुको लर्को लागेका देख्दा आफूहरु थप हौसिएको उनी बताउँछन् ।
यसको व्यापक विकास र विस्तार गर्दै तारुकाको गोरुजात्रालाई अन्तराष्ट्रियकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि सरकारी स्तरबाटै पहलकदमी भइदिए प्रतियोगिताको विकासमा महत्वपूर्ण फड्को मिल्ने स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण