सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

खुल्लामञ्चमा बेसमेन्ट पार्किङका लागि अध्ययन सुरु : तीन महिनापछि टेन्डर

शुक्रबार, ०१ माघ २०७२, १७ : ३०
शुक्रबार, ०१ माघ २०७२

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा निर्माण गर्न लागिएको बेसमेन्ट पार्किङको सम्भाव्यताको अध्ययन सुरु गरेको छ ।

सो पार्किङको लागि अध्ययनको जिम्मा नेस्ट प्राइभेट लिमिटेडले लिएको छ । निर्माणका लागि कतिखर्च र कति समय लाग्ने भन्ने अध्ययनलेनै बताउने महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

तीन दिनदेखि अध्ययनको काम सुरु भएको छ । अहिले कम्पनीले पार्किङ बनाउन लाग्ने बजेट, राजस्व तथा पार्किङको डिजाइन निर्माणका लागि लाग्ने समयलगायत प्रारम्भिक अध्ययनको काम गरी दुई महिना १५ दिनपछि महानगरलाई अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ ।

प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि टेण्डर आह्वान गरिने जानकारी दिइएको छ ।

प्रमुख अधिकारीकाअनुसार ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो पार्किङस्थल दुई तलाको हुनेछ । काठमाडौँ उपत्यकाको पार्किङको समस्यालाई मध्यनजर गर्दै त्यस समस्यालाई कम गर्नको लागि बेसमेन्ट पार्किङ बनाउन लागेको बताइएको छ । महानगरले खुलामञ्चमा सँगै सुरुङमार्ग पनि बनाउने भएको छ ।

अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएसँगै बेसमेन्ट पार्किङ बनाउन लागिएको हो । खुलामञ्चमा पार्किङ बनेपछि बसपार्क, न्युरोड तथा जमलका सडकमा अव्यवस्थित सवारी पार्किङ गर्ने समस्या हट्ने विश्वास महानगरले लिएको छ ।

सो पार्किङ निर्माणपछि पैदलयात्रीले पनि सहजरुपमा हिँड्न पाउने छन् । बेसमेन्ट पार्किङसँगै जोडी खुल्लामञ्चदेखि न्यूरोड, बागबजार तथा पुरानो बसपार्क छुने सुरुङमार्गको समेत निर्माण हुने जनाइएको छ जसले गर्दा त्यहाँ मोटर पार्किङ गरेर न्युरोड, बागबजार तथा बसपार्क जान मिल्छ । पैदलयात्रीले पनि सुरुङमार्गको प्रयोग गरेर ओहोरदोहोर गर्नसक्ने छन् । सुरङमार्गको दायाँबायाँको भाग भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न दिइनेछ ।

सो मार्गमा हिँड्ने पैदलयात्रीका लागि भने दायाँबायाँ कफी पसल पनि खोल्न दिइनेछ । बसपार्क तथा बागबजार उपत्यकाको केन्द्र तथा बढी भिडभाड हुने ठाउँ भएकाले पनि पार्किङका लागि खुल्लामञ्च छानिएको काठमाडौँ महानगरपालिकाले बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप