सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमाओवादीले ल्यायो ६ नम्वर प्रदेशको विकास योजना

शनिबार, ०२ माघ २०७२, १४ : ३६
शनिबार, ०२ माघ २०७२

काठमाडौं – एकीकृत माओवादको ६ नम्वर प्रदेशले स्थानीय विकास योजनासहितका कार्यक्रम तय गरेको छ । हालै सम्पन्न वैठकले जनसेवा तथा जनपरिचालन, पूर्वाधार विकासका लागि रणनैतिक महत्वका योजना र जिल्लागत रणनैनीतिक योजना तय गरेको हो । वैठक पछि प्रदेश इन्चार्ज जनार्दन शर्मा र सचिव कालीबहादुर मल्लले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर कार्यक्रम सार्वजनिक गरेका हुन् ।

यस्तो छ विज्ञप्तीको पूर्ण पाठ

हाम्रो पार्टी एकीकृत नेकपा माओवादी कर्णाली (६नं) प्रदेश समितिको विस्तारित बैठक इञ्चार्ज क. जनार्दन शर्मा प्रभाकरको अध्यक्षतामा यही पुस २७ गतेदेखि २९ गतेसम्म बस्यो । बैठककै बीचमा पुस २८ गते सुर्खेतमा यस प्रदेशका १० वटै जिल्लाका अगुवा कार्यकर्ताहरुको सहभागितामा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष क. प्रचण्ड, उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठ र महासचिव क. कृष्णबहादुर महराले प्रशिक्षण दिनुभयो । त्यसपछि पुस २९ गते पुनः बसेको विस्तारित बैठकमा अध्यक्ष क. प्रचण्डले पार्टी सुदृढीकरण र कर्णाली प्रदेशको समृद्धिको विषयमा निर्देशनात्मक मन्तव्य प्रस्तुत गर्नुभयो । बैठकले पार्टी केन्द्रीय समितिद्धारा विकसित नयाँ कार्यदिशाअनुरुप यस प्रदेशको पार्टी निर्माण, विकास निर्माण र उत्पादन तथा अनुसन्धानको विस्तृत कार्ययोजना निर्माण गरेको छ । उक्त कार्ययोजना तथा बैठकका निर्णय वारे जनसमुदायलाई जानकारी गराउने उद्देश्यले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलन तथा प्रदेश प्राप्तिको लागि भएका आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२. बैठकमा प्रदेश इञ्चार्ज क. जनार्दन शर्मा प्रभाकरले ‘जनवादको जगमा सुदृढ संगठन र जनाधार । विकास, उत्पादन र निर्यातको बलमा नयाँ कर्णाली समाजवादको आधार’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसपछि व्यापक छलफलको क्रममा प्राप्त भएका सुझावका आधारमा परिमार्जनसहित सर्वसम्मतिले पारित उक्त प्रतिवेदनको मुख्य अंश यस प्रकार रहेको छ ।

३. संविधान निर्माणमा पार्टी तथा नेतृत्वले खेलेको भूमिका र संविधानका उपलब्धिहरुलाई जनताका बीचमा पुर्याउनुका साथै संगठनलाई व्यवस्थित गर्ने ।

४. जनसेवा तथा जनपरिचालनको काम :

- सरकारी काम कार्वाहीहरुमा हुने ढिलासुस्ती, लापरवाही, विकास निर्माणमा हुने चुहावट र अनियमितता रोक्न एक संयन्त्र बनाई परिचालन गर्ने । कर्मचारीको अनुपस्थिति एवं सेवा प्रवाहमा जनतालाई परेको समस्याको समाधान गर्ने र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने ।

- यस क्षेत्रमा खडेरी परिरहेको र उत्पादनका दृष्टिले समेत न्यून उत्पादन भएको सन्दर्भसमेतलाई ध्यान दिँदै कर्णाली प्रदेशभित्रका जिल्लाहरुमा खाद्य अभाव हुन नदिन वर्षातको पूर्व नै आवश्यक खाद्यान्नको संकलन गरी आपूर्ति गर्न सरकारलाई दवाव दिने ।

- कर्णाली प्रदेशभित्र रहेको स्वास्थ्य संकट योजनावद्ध रुपले समाधान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुदृढ गर्दै बजेट, प्रविधि र जनशक्ति व्यवस्था गर्नुको साथै विभिन्न जिल्लाहरुमा भिन्न भिन्न स्वास्थ्य सेवा एवं अनुसन्धान केन्द्रहरु स्थापना गर्न सरकारसँग माग गर्ने ।

- मध्यपश्चिम विश्वविद्यालयको क्षेत्र र परिभाषालाई थप स्पष्ट गर्दै मुख्य रुपले प्राविधिक शिक्षाको केन्द्र बनाउने । यस प्रदेशमा आवश्यक दक्ष जनशक्ति पैदा गर्न हाइड्रो पावर, जल व्यवस्थापन, पर्यटन, जडिबुटी, वन, कृषि, इन्जिनीयरिङ, स्वास्थ्य, योगा, संस्कृति–साहित्य, पर्यावरणलगायतका विषयहरुको अध्ययन अध्यापन गर्न विभिन्न जिल्लाहरुमा केन्द्र बनाई कलेजहरु स्थापना गर्न लागिपर्ने र आवश्यक बजेटको व्यवस्थाको लागि सरकार र अन्य क्षेत्रहरुमा समेत माग गर्ने । उपर्युक्त कामहरु संचालन गर्न पार्टीले जनचेतना, जनपरिचालन संयन्त्रहरु निर्माण गरी विभिन्न गोष्ठी, कार्यशाला गर्ने । सवै जनप्रतिनिधिरुलाई साथमा लिई सदनमा समेत आवाज उठाउने, जनदवाव दिने लगायतका संघर्षका कार्यक्रमहरु गरिनेछ ।

- एनजिओ आइएनजीओहरुले प्राप्त गर्ने बजेट, सम्पन्न गर्ने योजना र उपलब्धिहरु वारे जनस्तरबाट अनुगमन गरी एनजीओ आइएनजीओहरुको कामलाई पारदर्शी र प्रभावकारी बनाउन मद्दत गर्ने । उपयुक्त कार्यहरुलाई व्यवस्थित गराई कार्यन्वयनमा भूमिका खेल्न बुद्धिजीवी, व्यवसायी, यूवा, जनप्रतिनिधिहरुका विभिन्न स्तरका अन्तरक्रिया र गोष्ठीहरु संचालन गर्ने जसमा पार्टीका केन्द्रीय प्रमुखहरुलाई समेत सहभागी गराउने ।

-  सूचना संचार एवं प्रचार प्रसारलाई व्यवस्थित गर्न र सरकारी प्रसारण गाँउ गाँउसम्म पुग्ने पूर्वाधार निर्माण गर्न सरकारसँग माग गर्ने ।

५.पूर्वाधार विकासका लागि रणनैतिक महत्वका योजनाहरु :

-  भेरी करिडोर र कर्णाली करिडोरलाई मुल आधार मानी जलश्रोत, कृषि तथा पर्यटन क्षेत्रको विकास गर्ने । सोही करिडोरहरुमा विद्युत प्रसारण लाईनको निर्माण कार्य प्रारम्भ गर्ने ।

-  मरिन–डोल्पा–सुर्खेत, नाग्मा–मुगु–सुर्खेत, हिल्सा–हुम्ला–सुर्खेत सडकहरु निर्माण गर्न केन्द्र सरकारसँग बजेटको माग गर्ने र अन्तराष्ट्रिय सहयोगको पहलको लागि सरकारलाई अनुरोध गर्ने

-  मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने कार्य तत्काल सुरु गर्नको लागि पहल गर्ने ।

-  दाङ–सुर्खेत–दिपायल उपत्यका लिङ्क रोड लगायतका सडकको निर्माण कार्य सम्पन्न तथा स्तरोन्नती गर्न सरकारसँग बजेट माग गर्ने ।

-  सामान्य काम प्रारम्भ भएका नलसिंङगाड, उत्तरगंगा जस्ता जलविद्युत उत्पादन योजनाहरुलाई संचालन गर्न सरकार, नीजि क्षेत्र, जिल्ला विकास समिति र जनतासमेतको स्वामित्व र शेयरसहितको कम्पनी निर्माण गरी कार्य सुरु गर्नुका साथै अन्य ठूला जलविद्युत आयोजनाहरुको सर्वे लगायतका कामहरु प्रारम्भ गर्ने ।

-  कर्णाली (६नं) प्रादेशिक स्तरीय विद्युत विकास प्राधिकरण स्थापना गर्न माग गर्ने ।

-  सुर्खेतमा एक प्रादेशिक स्तरको सभागृह निर्माण गर्न केन्द्र सरकारसँग बजेटको माग गर्ने ।

-  सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको कार्य यथाशिघ्र अगाडि बढाउने ।

- सुर्खेतमा नेपाल आयल निगमको प्रादेशिक भण्डार स्थापना गर्न सरकारसँग माग गर्ने ।

- सुर्खेत र सल्यानमा रहेका चुनढुङ्गाको उपयोग प्रदेशभित्रै गर्ने गरी सिमेन्ट उद्योग संचालन गर्न पहल गर्ने ।

६. पर्यटन पूर्वाधार वारे :

ट्ट स्थानीय व्यवसायी एवं अन्य लगानीकर्तासमेतको ध्यानाकर्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने । रारा, सेफोक्सुन्डो, कैलाश–मानसरोवर यात्रा, कमलदह, स्यार्पू, काँडादह, सिस्ने, चुली हिमाल, रमका, कान्जिरोवा, सिंजा, छायानाथ, काँक्रेविहार, कुसेपाटन नदाई दहलगायतका प्राकृतिक मनोरम दृश्य, कृषि पर्यटन, जडिबुटी, र्याफ्टििङ आदि पर्यटन क्षेत्रको योजनावद्ध विकास गर्न कर्णाली पर्यटन बोर्ड गठन गर्न सरकारसँग माग गर्ने ।

७. जिल्लागत रणनैनीतिक योजना वारे ः

- जुम्लालाई उत्पादन प्रशिक्षण केन्द्रसहित एक सुन्दर शहरका रुपमा विकास गर्ने । सिंजा लगायत ऐतिहासिक स्थानहरुको महत्व बढाउने खालको परियोजना संचालन गर्ने ।

-  हुम्लामा भोटे–लामाहरुको साँस्कृतिक परम्पराको रक्षा गर्दै पर्यटकीय क्षेत्र कैलाश पर्वतलाई ट्रान्जिटको रुपमा विकास गर्ने ।

-  मुगुलाई विश्वकै सुन्दर प्राकृतिक आनन्दानुभूतिको केन्द्रका रुपमा रारालाई अगाडि बढाउने । छायानाथ जस्ता धार्मिक स्थानहरुलाई पर्यटन क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने ।

-  कालीकोटलाई वीरता र वलिदानी बोकेका ऐतिहासिक मोर्चाहरुको केन्द्र र वर्तमानमा वृहत जलविद्युत उत्पादनको धरोहरको रुपमा विकास गर्ने ।

-  डोल्पालाई कर्णाली प्रदेशको महत्वपूर्ण किल्लाका रुपमा उत्तरी समथर भूभागलाई सुख्खा वन्दरगाहका रुपमा विकास गर्ने ।

-  रुकुमलाई ऐतिहासिक जनयुद्धको आधार क्षेत्रको प्रतीकको रुपमा र वेरोजगारमुक्त जिल्लाको रुपमा विकास गर्ने ।

-  सल्यानलाई कृषि उत्पादनको वैज्ञानिकरण र आधुनिकीकरण तथा व्यावसायिक केन्द्रका रुपमा विकास गर्ने ।

-  जाजरकोटलाई जलश्रोतको पहिलो उत्पादन केन्द्रका रुपमा विकास गर्ने ।

-  दैलेखलाई रुपान्तरणसहित जनसंवन्धलाई नयाँ उदाहरणका रुपमा विकास गर्दै प्राकृतिक ग्याँसको खोजी र उत्खनन्को लागि पहल गर्ने ।

-  सुर्खेतलाई प्रदेशहरुको केन्द्रका रुपमा स्थापित गर्दै, पर्यावरण्ीय पक्षमा ध्यान दिने र रोजगारको केन्द्रका रुपमा विकास गर्ने ।

२ माघ २०७२ क्रान्तिकारी अभिवादनसहित

................... ......................

कालीबहादुर मल्ल जनार्दन शर्मा प्रभाकर

सचिव इञ्चार्ज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप