सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लाप्राकको Reality : भूकम्पले गाउँ सार्यो, हिमपातले गाउँ फर्कायो

शनिबार, ०२ माघ २०७२, १५ : ०७
शनिबार, ०२ माघ २०७२

गोरखा— भारी हिमपातपछि गोरखाको लाप्राक गाविस यतिबेला चर्चामा छ । हामी पुस २८ गते लाप्राक पुग्यौं ।बारपाकसँगै जोडिएको लाप्राकमा हिउँ अझै हटेको छैन । भूकम्पपछि लाप्राकका स्थानीय लेकमा रहेको गुप्सीपाखा बसाइ सरेका थिए । ०५६ सालमा गएको पहिरोपछि पनि स्थानीय यसरी नै गुप्सीपाखा आएका थिए । केही समयमै उनीहरू पुरानो बस्ती फर्किए ।

पहिरोको उच्च खतरामा रहेको लाप्राक बस्ती जोखिमयुक्त रहेको भूगर्भविद्को भनाइ छ । त्यसैले सरकारले यस बस्तीलाई गुप्सीपाखा सारेको हो । तर, गुप्सीपाखामा कुनै सुविधा उपलब्ध नहुँदा अधिकांश स्थानीय जिउज्यान धरापमा राखेर फेरि पुरानै बस्ती फर्किएका छन् ।

लाप्राकमा आक्कलझुक्कल मात्रै फोन टिप्छ । हिउँले बस्ती पुरिएपछि राम्ररी घाम लागेको छैन । त्यसैले सोलारले काम नगर्दा बिजुलीको अभाव छ । पानीको समस्या यस क्षेत्रको मुख्य समस्या हो । स्थानीयवासीका अनुसार गुप्सीपाखामा पानीको सहज पहुँच पुर्याउन १३ किलोमिटर परबाट पाइप जडान गर्नुपर्ने हुन्छ । तत्कालका लागि भने गैरसरकारी संस्थाको सहयोगमा केही परबाट पानी ल्याइएको छ ।

तर, त्यति पानीले सबैलाई नपुग्ने हुँदा स्थानीयवासी हिउँ पगालेर त्यसैलाई पानीका रूपमा प्रयोग गर्न बाध्य छन् । जस्ताको समस्याका कारण थुप्रै परिवार एउटै टेन्टमुनि रात काट्न बाध्य छन् । स्थानीय गणेश गुरुङ जस्ताको ठूलो समस्या रहेको बताउँछन् । भन्छन्, ‘हिउँ परेको समयमा जस्ताको समेत अभाव छ । सरकारले गुप्सीपाखामा बस्ती सार्ने निर्णय त गर्यो । तर, सुविधा केही दिएन । त्यसैले सर्वसाधारण अहिले जोखिम मोलेर पुरानै बस्तीमा फर्किएका छन् ।’

अहिले गुप्सीपाखामा बसिरहेकालाई फेरि हिउँ पर्ने त्रास छ । मौसम राम्ररी खुल्न नसकेका कारण त्रास बढ्दो छ । सरिता गुरुङ राति हिउँ परेपछि निकै रोएकी थिइन् । भन्छिन्, ‘पति सुरक्षागार्डको काम गर्न विदेशमा छन् । ठूलो छोरो पाँच वर्षको भयो । कान्छो जम्मा एक वर्षको छ । रातभर हिउँ परेपछि रुँदैरुँदै हटाए ।’

उनलाई ठूलो छोराले हिउँ खेल्न थालेपछि धेरै चिन्ता थपिएको छ । रातभर उनका छोरा चिसोले प्रभावित भए । स्थानीय स्वास्थ्यचौकीमा औषधिको समेत अभाव छ । निमोनियाबाट बालबच्चा प्रभावित छन् ।

 

 बारपाकवासीलाई भ्वाङको त्रास बारपाकका स्थानीयलाई भने भ्वाङको त्रास छ । सडकको मध्यभागमा ठूलो भ्वाङ भेटिएपछि लाप्राक जाने गाडीका चालक त्रसित छन् । सडकमा नौ फिट गहिरो भ्याङ छ । त्रासका बाबजुद केही ट्र्याक्टर र ट्रकहरू सामान बोकेर लाप्राक जान्छन् । स्थानीय सानबहादुर घले भन्छन्, ‘यस्ता भ्वाङहरू घरमुनि तथा सडककै अन्य भागमा समेत हुन सक्ने त्रास छ । त्यसैले कुनै पनि समय दुर्घटना हुन सक्छ ।’ भूकम्प गएको नौ महिना बितिसक्दा पनि कस्ता मोडलको घर बनाउने भन्ने सम्बन्धमा सरकारले कुनै निर्णय गरिसकेको छैन । बारपाक बस्नका लागि योग्य छ वा जोखिमयुक्त छ भन्ने सम्बन्धमा समेत कुनै निर्णय नहुँदा स्थानीयवासी अन्योलमा छन् । अन्योलताकै बीच केही स्थानीय पुरानै घरलाई पुनर्निर्माण गरेर बसेका छन् । यता, अधिकांश व्यक्तिहरू भने ढुंगामाटोको घरमा नबस्ने भन्दै टिन वा जस्ताको अस्थायी टहरा बनाएर बसेका छन् ।

बारपाकको भ्वाङ्गको फोटो : पुष्पा घले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप