शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होस्टेल नियमन गर्न विद्यार्थी संगठनहरुको माग

बुधबार, ०३ चैत २०७२, १३ : ०५
बुधबार, ०३ चैत २०७२

म्याग्दी – म्याग्दीका विद्यार्थी संगठनहरुले कानुनी प्रक्रिया पुरा नगरी सञ्चालन भएका होस्टेललाई नियमन गर्न माग गरेका छन् ।

अबैध तरिकाले सञ्चालन भैरहेका होस्टेलहरुका कारण शैक्षिक क्षेत्रमा विकृती मौलाएको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीले बुधबार प्रशासनमा ज्ञापनपत्र बुझाएर नियमन गर्न माग गरेका हुन् ।

नेविसंघका सभापति भरत रकाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी केशव आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।

जिल्ला शिक्षा कार्यालयमा दर्ता नगरी र अनुमती नलिईकन होस्टेल सञ्चालन भएको, आधारभुत सेवा, सुबिधा नभएको, कमजोर ब्यवस्थापनका साथै चर्को शूल्क लिने गरिएकाले नियमनका लागि माग गरेको अनेरास्ववीयुका अध्यक्ष प्रकाश पौडेलले बताए ।

बेनीमा मावि, उच्च मावि र क्याम्पस तहका विद्यार्थीलाई ट्युसन कोचीङ पढाउन सञ्चालन भएका चार वटा होस्टेल जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छैनन् । ति होस्टेलहरु घरेलु तथा साना उद्योग विकास समितिमा होटलको रुपमा दर्ता भएका छन् ।

ट्युसन, कोचीङ सञ्चालन गर्न र विद्यार्थीहरुलाई आवासीय सुबिधा दिन होस्टेल सञ्चालन गर्न शिक्षा कार्यालयमा ५० हजार रुपैया घरौटी राखेर अनुमती लिनुपर्ने कानुनी ब्यवस्था छ । ब्यवस्थापकको लापरबाहीका कारण बेनीको एशियन होस्टेलमा ट्युसन पढ्न बसेका पुलाचौरका अनील पाईजाको मंगलबार म्याग्दी नदीमा डुबेर मृत्यु भएको थियो ।

पुलाचौरको जनकल्याण माविबाट एसएलसी परिक्षामा सहभागी हुदै गरेका १७ वर्षिय पाईजाको पौडी खेल्ने क्रममा नदीमा डुवेर मृत्यु भएको थियो । ब्यवस्थापकले आफ्नो होस्टेलमा बस्ने विद्यार्थीको निगरानी नगर्दा उक्त दुर्घटना भएको विद्यार्थी संगठनका नेताहरुको आरोप छ ।

विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको प्रतिक्रिया दिँदै कानुन कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप