शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पौडेल र सिटौलासहित चुनाव हार्ने ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा कृष्ण कार्कीलाई बिर्सिए देउवाले

बुधबार, ०३ चैत २०७२, २३ : ००
बुधबार, ०३ चैत २०७२
काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा चुनाव हार्ने रामचन्द्र पौडेल र कृष्ण सिटौलासहित ६ नेताहरुलाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । तर, देउवाले पदाधिकारीमा चुनाव लड्ने अर्का उम्मेद्वार कृष्ण केसीलाई भने मनोनयन गरेका छैनन् । देउवाले आज पौडेल र सिटौलासहित पदाधिकारीमा चुनाव हार्ने अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । देउवाले पौडेल, सिटौला, के.सी., र थापालाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम मनोनयन गरेको कांग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । सोहि धाराबमोजिम दिवंगत पूर्वप्रधनमन्त्री सुशील कोइरालाको निधन भएको दिन हृदयघात भएका कांग्रेस नेता नरहरी आचार्यलाई पनि केन्द्रिय सदस्यमा मनोनयन गरिएको तिवारीले जानकारी दिए । यस्तै सोहि विधानको धारा २१ (छ) बमोजिम यादव र धारा २१ (ञ) बमोजिम चौधरीलाई केन्द्रीय सदस्यमा देउवाले मनोनयन गरेको पनि तिवारीले बताए । १३ औं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा कांग्रेसमा नेतृत्वका लागि तीन प्यानलबीच प्रतिश्पर्धा भएको थियो । सभापतिको लागि भएको पहिलो चरणको निर्वाचनमा देउवा सिटौला र पौडेलबीच त्रिपक्षीय भीडन्त हुँदा कसैले पनि बहुमत ल्याउन नसकेपछि फेरि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा दुई शीर्ष उम्मेद्वारहरु देउवा र पौडेलबीच प्रतिश्पर्धा हुँदा नतिजा देउवाको पक्षमा परेको थियो । यस्तै महामन्त्रीमा पनि तीन जनाबीच प्रतिपश्पर्धा हुँदा शशांक कोइराला विजयी भएका थिए भने थापा र केसी बाहिरिएका थिए । सशांक पौडेल निकट मानिन्छन् भने पराजित भएका केसी देउवा पक्षका हुन् । यस्तै थापा सिटौला प्यानलबाट चुनाव लडेका थिए । यस्तै कोषाध्यक्षमा सितादेबी यादव विजयी हुँदा उमाकान्त चौधरी, चित्रलेखा यादव र कृष्ण कार्की पराजित भएका थिए । विजयी यादव पौडेल निकटकी हुन् भने चित्रलेखा देउवा निकटकी हुन् । यस्तै चौधरी सिटौला प्यानलबाट चुनाव लडेका थिए भने कार्की स्वतन्त्र रुपमा चुनाव लडेका थिए । यसरी चुनाव हारेका ६ सहित ७ जनालाई देउवाले मनोनयन गर्दा कार्कीलाई भने वेवास्ता गरिएको हो । कतिपयले गुटका शक्तिशाली मानिएका पौडेलदेखि चौधरीसम्मलाई मनोनित गरिँदा कार्कीलाई भने छुटाउनुले कांग्रेसमा शक्तिशालीहरुको मात्रै हालीमुहाली हुने गरेको प्रष्टिएको भनेर टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप